कारोबार


विलासी वस्तुको आयातमा रोकः बैंकले दिनथाले एलसी जारी नहुने सूचना

विलासी वस्तुको आयातमा रोकः बैंकले दिनथाले एलसी जारी नहुने सूचना

इन्सेटमा एलसी जारी नहुने सन्देश र पृष्ठभूमिमा राष्ट्र बैंक।


दीपक भट्ट
चैत २२, २०७८ मंगलबार १८:५७, काठमाडौँ

चालू आर्थिक वर्षमा वस्तु आयात वृद्धि भइरहँदा र वैदेशिक मुद्रा सञ्चितिमा गिरावट आइरहँदा सरकार वस्तु आयातमा कडाइ गर्न लागिपरेको छ। 

गत महिना केही वस्तुमा नगद मार्जिनको व्यवस्था गरेको राष्ट्र बैंकले सोमबार भने बैंकहरुलाई मौखिक रुपमा विलासी वस्तुहरुको आयातमा कडाइ गर्न भनेको थियो। 

एलसी नै केही समयको लागि नखोल्न सोमबार २७ वटा वाणिज्य बैंकका सीईओहरुलाई केन्द्रीय बैंकमा बोलाएरै भनिएको हो। 

उक्त छलफलमा विलासी वस्तु सबैको अयात बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई एलसी बन्द गर्न भनेको थियो।

चालू आर्थिक वर्ष सुरु हुनुअघि अर्थात् २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कमी आई २०७८ माघ मसान्तमा ११ खर्ब ७३ अर्ब २ करोड कायम भएको छ। 

यो मुद्रा सञ्चितिले विदेशी विनिमय सञ्चिति ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। त्यस्तै चालू आर्थिक वर्षमा फागुनसम्मको तथ्याङ्कमा वस्तु आयात १३ अर्ब ८ अर्ब रुपैयाँबराबरको भएको छ। तर निर्यात जम्मा १ खर्ब १६ अर्ब रुपैयाँबराबरको भएको छ। 

यसले नेपालको ८ महिनाको व्यापार घाटा नै ११ खर्ब ६० अर्ब रुपैयाँ रहेको देखाउँछ। निरन्तर विदेशी मुद्रा घटिरहेको र वस्तु आयात समेत वृद्धि भइरहेको अवस्थामा सरकारले कुनै वस्तु आयात नहुँदा पनि नेपालीहरुको जीवनशैलीमा परिवर्तन नहुने खालको छ भने सो प्रकारका वस्तुलाई कडाइ गर्न चाहेको छ। 

राष्ट्र बैंकका एक अधिकारीले भने, ‘हामीले वस्तु आयात बन्देज नै गर्नु भनेका छैनौँ। तर विलासी वस्तुको आयात बढिरहँदा त्यसले धेरै विदेशी मुद्रा समेत बाहिर गइरहेकोले त्यसलाई सन्तुलन बनाउन खोजेका हौँ।’ 

उनले यस्तो रोकावट गर्नुपर्ने स्थिति धेरै समय नआउनसक्ने पनि बताए। 

पछिल्लो समय नेपालको अर्थतन्त्र केही सक्रिय बनिरहेको र विदेशी पर्यटकको समेत आगमनमा वृद्धि भएकाले अहिले कडाइ गर्दा विदेशी मुद्राको अवस्था राम्रो देखाउन सक्ने ती अधिकारीको भनाइ छ। 

त्यसपछि पुनः ती वस्तुको आयात खुल्ला हुने उनले बताए। नेपाल बैंकर संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिल उपाध्याय पनि यस्तो बन्देज सकारात्मक नै रहेको बताउँछन्।  

‘श्रीलंकाको अवस्था हामीले देखिरहेका छौँ। भोलि गएर औषधि किन्ने पैसा समेत नहोलाजस्तो देखिन्छ’, उनले भने, ‘त्यसबाट पाठ सिकेर सरकारले आयातमा केही नियन्त्रण गर्न खोजेजस्तो देखिएको छ। यसलाई हामीले नकारात्मकभन्दा सकरात्मक रुपमा नै लिनुपर्छ।’ 

यद्यपि नेपालको वस्तु निर्यातमा यसले उल्लेख्य उपलब्धि नहुने उनको भनाइ छ। नेपालको पनि विदेशी मुद्रा सञ्चिति घटिरहने नै देखिएको उनले बताए। 

संघले नेपाल राष्ट्र बैंक तथा सरकारले विदेशी मुद्रा सञ्चितिलाई कन्ट्रोल गरेर अघि बढ्नखोजेको बताएको छ। अध्यक्ष उपाध्यायले केही समयको लागि यसमा साथ दिनुपर्ने बताए। 

अझ नेपाल बैंकर्स संघले त यसअघि नै सरकारलाई दुई दिन विदा दिने व्यवस्था मिलाउन आग्रह गरिरहेको उनले बताए। 

उनले थपे, ‘सरकारले लिने सेवा सुविधादेखि केही वस्तुको खपतमा समेत यसले केही राहत दिन्छ। यसै पनि अहिले शुक्रबारलाई आधा छुट्टी दिइएको छ। तर शुक्रबारको काम त्यति उपलब्धिपूर्ण छैन।’

के–के वस्तुको आयात रोकिँदै छ?
राष्ट्र बैंकका ती अधिकारीका अनुसार ठूलो परिमाणमा आयात हुने र ती वस्तु आयातबाट धेरै पैसा बाहिरिने गरेको छ। 

उनले भने, ‘अहिले त्यसलाई नियन्त्रण गर्न बैंकहरुलाई भनेका हौँ। त्यस्ता वस्तुहरुमा गाडी, मदिरा, सुनचाँदी मुख्य हुनसक्छन्। जुन वस्तु आयात नभए पनि हाम्रो जीवनशैलीमा फरक पर्दैन।’

यस्ता अन्य वस्तुमा नेपालमा कच्चापदार्थ आयात भएर विदेश निर्यात हुने गरेका मरिच, केराउ, छोकडा, सुपारी, तेलहन पनि पर्ने ती अधिकारीको भनाइ छ। 

यसबाहेक सौन्दर्यका सामग्री, चकलेटहरु र सजावट सामग्रीमा पनि राष्ट्र बैंकले आयात नियन्त्रण गर्न खोजेको देखिएको छ। 

बैंकले रोक्न थाले एलसी 
राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर मौखिक निर्देशन दिएको भोलिपल्टै बैंकहरुले यसको कार्यान्वयन सुरु गरेका छन्। 

बैंकका शाखाहरुले उद्योगी व्यापारीहरुलाई थप एलसी (प्रतीतपत्र) प्रयोजनको लागि बैंक नआउन मोबाइलबाट म्यासेज पठाउनथालेका हुन्। एक बैंकले एक व्यवसायीलाई पठाएको एलसी जारी नहुने सन्देश नेपालखबरले प्राप्त गरेको छ। 

त्यसमा भनिएको छ, ‘देशको प्रतिकूल अवस्थाअनुसार र बैंकको व्यवस्थापनको निर्देशनअनुसार हामी थप एलसी जारी गर्न सक्दैनौँ। अर्को सूचना नभएसम्मको लागि यो प्रक्रिया स्थगित गरिएको छ। यसका लागि क्षमाप्रार्थी छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .