कारोबार


कर्जा असुल्न नसकेपछि विकास बैंक र वित्त कम्पनीले दिन छाडे नयाँ ऋण

माघमा घट्यो निजी क्षेत्रमा जाने कर्जा
कर्जा असुल्न नसकेपछि विकास बैंक र वित्त कम्पनीले दिन छाडे नयाँ ऋण

सम्झना घिमिरे
फागुन २६, २०८१ सोमबार १९:८, काठमाडौँ

कर्जा असुली हुन नसक्दा वासलात बिग्रिन थालेपछि विकास बैंक र वित्तीय कम्पनीहरूको नयाँ कर्जा प्रवाह घटेको छ। उनीहरुले निजी क्षेत्रमा जाने कर्जामा कडाइ गरेका हुन्।

जानकी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार शर्माले कर्जा असुलीमा चरम समस्या देखिएपछि नयाँ कर्जा दिन रोकिएको बताए। 

‘फाइनान्स कम्पनीहरू एनपीएलको चपेटामा परे, दिएकै कर्जा उठाउन सकेनन्’, उनले नेपालखबरसँग भने, ‘नयाँ दिएर समस्या बढाउनुभन्दा अहिले कर्जा उठाउन केन्द्रित हुनुपर्छ भन्ने ठानेरै फाइनान्स कम्पनीहरूले नयाँ कर्जा दिन बन्द गरेका छन्।’ 

केन्द्रीय बैंकको तथ्यांकअनुसार पुस महिनासम्म ४ खर्ब ९३ अर्ब रुपैयाँ निजी क्षेत्रलाई ऋण दिएका विकास बैंकहरूले माघ महिनामा यसलाई ४ खर्ब ९० अर्बमा झारेका छन्। 

अर्थात्, एक महिनामा निजी क्षेत्रमा जाने विकास बैंकहरुको कर्जा ०.६२ प्रतिशतले घटेको छ। 

बढ्दो खराब कर्जाले पुँजी कोष दबाबमा पर्दा विकास बैंकसँगै वित्त कम्पनीहरूले समेत निजी क्षेत्रमा जाने कर्जा माघमा घटाएका छन्। 

उनीहरूले पुससम्म निजी क्षेत्रमा ९८ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। तर माघमा यस्तो कर्जा बढाउनुको साटो घटाएर ९८ अर्ब ११ करोडमा झारेका छन्। 

माघमा वित्त कम्पनीहरूको निजी क्षेत्रमा जाने कर्जा समेत ०.०९ प्रतिशतले घटेको छ। 

राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डा. डिल्ली राम पोख्रेलले पुसमा खराब कर्जा बढेर आएपछि बैंक तथा वित्तीय संस्थाहरुले नयाँ कर्जा घटाएर पुराना कर्जा असुली गर्नथालेको बताए। 

उनले भने, ‘कर्जाको माग त्यसै पनि धेरै छैन। त्यसैले माघमा खराब कर्जा उच्च हुने भएकाले बैंकहरुले नयाँ कर्जा रोकेका हुनसक्छन्।’

एक महिनाको मात्रै नहेरेर समग्र सात महिनाको कर्जा वृद्धिदर हेर्ने हो भने बढेको उनको भनाइ छ। 

विकास बैंक र वित्तीय संस्थाले कर्जा घटाए पनि चालू आवको सात महिनाको कर्जा प्रवाहको स्थिति वृद्धिकै लयमा छ। 

सात महिनामा विकास बैंक र वित्त कम्पनीहरूको निजी क्षेत्रमा जाने कर्जा क्रमशः ३.१ प्रतिशत र ५.२ प्रतिशतले बढेको छ। 

तर पुसको तुलनामा माघमा भने विकास बैंकको ०.६२ प्रतिशत र वित्त कम्पनीको ०.०९ प्रतिशतले घटेको छ।

बढ्दो खराब कर्जाले पुँजी कोषको दबाब 
खराब कर्जा उच्च दरले बढ्न थालेपछि वाणिज्य बैंकहरूसँगै विकास बैंक र वित्त कम्पनीहरू पुँजी कोषको दबाबमा पर्न थालेका हुन्। यो बीचमा पनि वाणिज्य बैंकहरूले निजी क्षेत्रमा जाने कर्जालाई बढाएका छन्। 

असुलीमा सुधार नआएपछि कर्जा प्रवाहलाई सुस्त बनाएका विकास बैंकहरूले माघ महिनामा मात्रै कर्जा नोक्सानी व्यवस्थापनमा छुट्याउने रकम १२.४७ प्रतिशतले र वित्त कम्पनीहरूले १.८८ प्रतिशतले बढाएका छन्। 

गत पुस मसान्तसम्म विकास बैंकहरूले ६ अर्ब ३८ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापनमा छुट्याएकोमा माघ महिनामा बढाएर ७ अर्ब १८ करोड रुपैयाँ छुट्याएका छन्। यस्तै वित्त कम्पनीहरूले पुस महिनामा २ अर्ब ५० करोड रुपैयाँ छुट्याएकामा माघ महिनामा २ अर्ब ५५ करोड रुपैयाँ छुट्याएका हुन्। 

राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्थापनमा छुट्याउने रकममा लचिलो नीति लिएको छ तर विकास बैंक र वित्त कम्पनीहरूले प्रोभिजनिङ गर्नुपर्ने रकम घटाउन नै सकेका छैनन्।

कर्जा प्रवाह घटाए पनि पुराना कर्जा असुली गर्न नसक्दा कर्जा नोक्सानी व्यवस्थापनमा राख्नुपर्ने रकम बढ्दै गएको हो। यसले उनीहरूका नाफामा समेत प्रभाव पारेको छ । 

आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार विकास बैंकहरूको खराब कर्जा अधिकतम ४३.६९ प्रतिशतसम्म पुगेको छ भने ४ विकास बैंक पुँजी कोष दबाबमा छन्। 

यता, वित्त कम्पनीहरूको अवस्था पनि उस्तै छ। ४१ प्रतिशतसम्म खराब कर्जा पुगेका फाइनान्स कम्पनीहरू पुँजी कोषमा पनि कमजोर देखिँदा त्यसको असर वासलातमा देखिएको छ। 

खराब कर्जा र पुँजी कोषको दबामा परेका विकास बैंक र वित्त कम्पनीहरूले कर्जा नोक्सानी व्यवस्थापनमा रकम बढाउँदै थप प्रवाह हुने कर्जामा कडाइ गर्न थालेका हुन्। जसको असर माघ महिनामा निजी क्षेत्रमा जाने कर्जा प्रवाहमा देखिएको हो। 

विकास बैंकहरूले पनि कर्जा असुलीमा ध्यान दिँदा नयाँ कर्जा प्रवाहलाई प्राथमिकतामा राखेका छैनन्। कर्जा असुलीलाई बढाएर बैंकको खराब कर्जा रेसियो घटाएपछि कर्जा प्रवाहलाई बढाउने ध्याउन्नमा उनीहरू देखिएका छन्। 

पछिल्लो दुई वर्षयता घरजग्गा कारोबार सुस्त हुँदा बैंकहरूले धितो सकार गरे पनि लिलाम गर्न सकेका छैनन्। यसले उनीहरूको कर्जा असुली कमजोर बन्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad