ad ad

कारोबार


तलबमान विवाद : बजेटमै चुकेका थिए जनार्दन, यस्तो छ तलबवृद्धिको वास्तविकता

के हो मर्यादा क्रमअनुसारको तलबमान?
तलबमान विवाद : बजेटमै चुकेका थिए जनार्दन, यस्तो छ तलबवृद्धिको वास्तविकता

फाइल तस्बिर


दीपक भट्ट
साउन २३, २०७९ सोमबार १८:५१, काठमाडौँ

सरकारले बजेटमा उल्लेख भएभन्दा फरक तलबमान ल्याएपछि कर्मचारीहरुले अर्थ मन्त्रालयमै धर्नालगायतका विरोध कार्यक्रम सुरु गरेका छन्। 

गत जेठ १५ मा सार्वजनिक चालू आवको बजेटमा उल्लेख भएको तलब वृद्धिदरभन्दा बढीको तलबमान सार्वजनिक भएपछि कर्मचारी आन्दोलित बनेका हुन्। नेपाल निजामती कर्मचारी संघले वक्तव्य नै निकालेर यसको विरोध गरेको छ। 

अधिकृतस्तरभन्दा तल्लो तहका कर्मचारीलाई नयाँ तलबमानले आक्रोशित बनाएको हो। तर यसमा अर्थमन्त्री जनार्दन शर्मा नै चुकेको भेटिएको छ।

अर्थमन्त्री शर्माले जेठ १५ गते बजेट सार्वजनिक गर्दा ‘१५ प्रतिशतले कर्मचारीहरुको तलव वृद्धि गरिनेछ’ भन्ने मात्रै उल्लेख गरे। उनले ‘मर्यादा क्रम मिलाएर तलब वृद्धि गरिने’ भन्ने विषय उल्लेख नै गरेनन्।

अर्थ मन्त्रालयमा धर्नामा बसेका कर्मचारी।

बजेट ल्याएपछि मन्त्रीबाट उनी एक पटक बाहिरिएर पुनः मन्त्रालयमा आएका छन्। उनले बजेट कार्यक्रममा समावेश भएका विषय साउन १ देखि कार्यान्वयनको चरणमा आएका छन्। 

राजस्वको केही नीति बजेट सार्वजनिक भएदेखि नै लागू भए पनि अधिकांश कार्यक्रम साउन १ देखि कार्यान्वयनमा आएका छन्। 

यसै क्रममा कर्मचारीको तलबमान वृद्धिको विषय अहिले चर्चामा आएको हो। लामो समयदेखि सरकारले निर्धारण गरेको मर्यादाक्रमअनुसार तलबमान निर्धारण हुनुपर्ने माग उठिरहेको थियो। 

गत वर्ष पनि तलब वृद्धि गर्ने कि मर्यादा क्रमअनुसारको तलबमान मिलान गर्ने भन्ने विषय उठेको थियो। तर निर्णय हुनसकेको थिएन। 

यसैबीच, प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादा क्रमअनुसार तलब निर्धारण गर्न सरकारलाई निर्देशन नै जारी गरिसकेको छ। 

लामो समयदेखि माग भइरहेको र संसदीय समितिको समेत निर्देशन आएकोले अर्थ मन्त्रालयले मर्यादा क्रमअनुसार तलबमान गर्ने प्रस्ताव गर्दा अहिले विवाद देखिएको हो। 

तलबमान र कर्मचारीको विरोध वक्तव्य

के हो मर्यादा क्रमअनुसारको तलबमान?
सरकारले तलब दिने कर्मचारीदेखि नियुक्त भएका विभिन्न अधिकारीहरुलाई मर्यादा क्रम तोकिएको छ। 

जस्तो प्रहरीको डीआईजी र सहसचिवलाई समान मर्यादामा राखिएको छ। त्यस्तै नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट र निजामती अधिकृतलाई समान मर्यादा क्रममा राखिएको छ। हाल प्रहरीतर्फको तलबमान धेरै र निजामतीतर्फको केही कम छ। त्यसलाई अर्थ मन्त्रालयको प्रस्तावले समान बनाउन चाहेको हो। 

मर्यादा क्रमअनुसार तलब बढाउँदा २४ प्रतिशत पुग्यो
अर्थ मन्त्रालयले मर्यादा क्रमअनुसार तलबमान वृद्धि गर्न खोज्दा २४ प्रतिशतसम्म तलब वृद्धि भएको छ। अधिकृतभन्दा तलको मर्यादा क्रममा तलबमा करिब–करिब समानता रहे पनि त्योभन्दा माथि असमान रहेकोले अहिले २४ प्रतिशतसम्म तलब वृद्धि हुन पुगेको हो।  

निजामतीतर्फको शाखा अधिकृतभन्दा माथिको तलब २४ प्रतिशत बढ्ने देखिएको हो। उपसचिवहरूले २३ दशमलव ३ प्रतिशत, सहसचिवहरूले २३ दशमलव ३ प्रतिशत र सचिवहरूले १८ दशमलव ४ प्रतिशत बढी तलब पाउने देखिएको हो।  

बजेटमा चुकेको स्वीकार
लामो समयदेखि माग भएको मर्यादाक्रमलाई समान तलबमान बनाउने विषय नटुंग्याई तलब वृद्धि निर्णय गर्नै नहुने थियो। अर्थ मन्त्रालय बजेट महाशाखाका एक अधिकारीले तलब वृद्धि हुँदा यसै पनि भार थपिएकै थियो, बजेटमै मर्यादा क्रम सल्ट्याएर तलब वृद्धिको विषय निर्णय भएको भए राम्रो हुने बताए। 

उनले भने, ‘तर बजेटमा स्पष्ट नपार्दा चुकेको नै भन्न मिल्छ।’ 

तर मन्त्रालयका प्रवक्ता ढुण्डी निरौला भने अहिलेको स्थिति बुझ्नुपर्ने बताउँछन्। 

संसदीय समितिले दिएको निर्देशनअनुसार मर्यादा क्रमलाई मिलाएर जान खोजिए पनि यसको निर्णय नभइसकेको उनले बताए। 

‘अहिले खालि प्रस्ताव मात्रै भएको हो। बाहिर बुझाइ गलत गइरहेको छ’, उनले भने। 

अर्थमन्त्री शर्मालाई दोहोरो मार
कर्मचारीहरु आन्दोलित भएपछि सोमबार अर्थमन्त्री शर्माले १५ प्रतिशतकै अनुपातमा तलब वृद्धि गर्ने बताएका छन्। 

संसदीय समितिको निर्देशनको पालना गर्दै तलबमान बढाउने निर्णय गरेका उनले अब पुनः निर्णय उल्ट्याउने प्रतिबद्धता गरेका हुन्। 

मर्यादा क्रमअनुसार तलब बढाउन सिफारिस गरेका उनले निर्णय उल्ट्याउँदा दुईतर्फी मार पर्ने भएको छ। १५ प्रतिशतभन्दा बढी अर्थात् मर्यादा क्रमअनुसार तलबवृद्धि गर्दा अधिकृतभन्दा तल्ला कर्मचारीको विरोध कायमै हुनेछ। 

समान मर्यादालाई समान तलब नबनाउने गरी अर्थात् सबैलाई १५ प्रतिशत मात्रै वृद्धि गर्ने हो भने संसदीय समितिको निर्देशनबेगर हुने देखिएको छ। त्यसकारण पनि मन्त्री शर्मा दोहोरो मारमा पर्ने देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .