ad ad

कारोबार


भैरहवामा आकर्षित भएनन् विमान कम्पनी, पोखरा पनि सेतो हात्ती हुने डर

प्राधिकरण भन्छ : पहिला भाँडो बनाएमात्रै खान मिल्छ
भैरहवामा आकर्षित भएनन् विमान कम्पनी, पोखरा पनि सेतो हात्ती हुने डर

वसन्त अर्याल
साउन ३०, २०७९ सोमबार ८:४७, काठमाडौँ

सरकारले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सेवा सञ्चालनका लागि तयार भए पनि विमान सेवा प्रदायकलाई आकर्षित गर्न नसकेको देखिएको छ। 

गौतमबुद्ध विमानस्थल सेवा सञ्चालनका लागि तयार भइसके पनि जजिरा एयरबाहेक नेपालकै अन्तर्राष्ट्रिय सेवा प्रदायक आकर्षित भएका छैनन्। 

अर्कातिर पर्यटकीय नगरी पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जनवरी १ (पुस १७) बाट उडान गर्ने घोषणा भइसकेको छ। 

तर कम्पनीहरूलाई आकर्षित गर्न नसकेको अवस्थामा यो विमानस्थलबारे सरकारी निर्णय चुनौतीरहित नहुने देखिएको हो। 

उडान सुरु भएको ३ महिनामा भैरहवामा १ कम्पनीको मात्रै अन्तर्राष्ट्रिय उडान भइरहँदा पोखरा विमानस्थल कसरी सञ्चालन हुने भन्ने प्रश्न उठेको हो। 

गौतमबुद्ध विमानस्थलमा जेठ ३ गतेबाट नियमित उडान भइरहेको छ। जजिरा एयरले कुवेत–भैरहवा गन्तव्यमा हप्ताको ३ उडान गरिरहेको छ। फ्लाई दुबई र एयर अरेबियाले भैरहवाबाट उडान भर्ने चासो राखे पनि सरकारले तिनीहरूलाई नै आश्वस्त पार्न सकिरहेको छैन। 

हाल उडान गरिरहेको जजिराले दैनिक उडान गर्ने तयारीमा छ भने विज एयरले हप्ताको ३ उडान गर्ने तालिका लिएको छ। 

गौतमबुद्ध विमानस्थल प्रमुख गोविन्द दाहालले हाल जजिरा एयरवेजले मात्रै उडान भरिरहेको बताए। उनका अनुसार जजिराले हप्तामा ३ उडान गरिरहेको छ। आगामी सेप्टेम्बर १५ बाट उसले दैनिक उडान गर्ने तयारीमा रहेको उनी बताउँछन्। 

यसबाहेक युरोपियन एयरलायन्स विज एयरले अक्टुबर ३० बाट हप्तामा ३ उडान भर्ने तालिका लिएको उनको भनाइ छ। 

भैरहवा विमानस्थलको खर्च धान्न पनि दैनिक ५ उडान आवश्यक छ। तर नयाँ विमानस्थलमा पार्किङलगायतका सुविधा दिँदा सञ्चालन खर्च उठ्न गाह्रो हुने दाहाल बताउँछन्। 

फ्लाई दुबई, एयर अरेबियाले उडान गर्ने योजना बनाए पनि तालिका लिएका छैनन्। भैरहवामा २ वटा एयरलाइन्सको उडान सुनिश्चित हुँदा पोखरामा २०२३ जनवरीबाट उडान गर्ने सरकारी घोषणा छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा साउन २२ मा बसेको प्राधिकरण सञ्चालक समितिको ४०४औँ बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो।  

राजनीतिक आग्रहमा पूर्वाधार बनाउँदा समस्या : विज्ञ 
पूर्वाधारविद् सूर्यराज आचार्य पोखरा र भैरहवा विमानस्थल आवश्यकताको आधारभन्दा पनि राजनीतिक आग्रहमा बनेकाले सञ्चालनको स्पष्टता नभएको बताए। 

‘विमानस्थल योजनाका आधारमा बनेका होइनन्। राजनीतिक दबाबले पोखरा र भैरहवा विमानस्थल बनेका हुन्’, आचार्यले नेपालखबरसँग भने, ‘लुम्बिनीमा ध्यान र शान्तिको लागि आउने पर्यटक र पोखरामा प्रकृतिमा रमाउने पर्यटकलाई ध्वनि प्रदूषणले असर गर्छ।’

उनले पूर्वाधार बनाउँदा डीपीआर मात्रै नभई निर्माणपछि कसरी सञ्चालन हुने मोडालिटी तयार गर्नुपर्ने बताए। नेपालमा पूर्वाधार निर्माण हुँदा डीपीआरमा काम भए पनि निर्माणपछि सञ्चालनको मोडालिटी नबनाउँदा लगानीको लागत उठाउन अप्ठ्यारो रहेको आचार्यको भनाइ छ। 

‘भैरहवा विमानस्थल भारतले रुट नदिँदै प्राधिकरणले धमाधम बनायो। अहिले दिल्लीबाट सिमरा हुँदै भैरहवा जानुपर्छ’, आचार्यले थपे, ‘पूर्वतयारी नगरी पूर्वाधार बनाए सेतो हात्तीमात्रै हुनसक्छन्।’

पहिला भाँडो भएमात्रै खान मिल्छ : प्राधिकरण
विमानस्थल बनाउने नेपाल नागरिक उड्डयन प्राधिकरणले भने पहिला ‘भाँडो भएपछि मात्रै खान मिल्ने’ बताएको छ। 

‘हामीले विमानस्थल नबनाई कसले उडान गर्छ थाहा हुँदैन’, प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले भने, ‘अब विमानस्थल बने एयरलाइन्स कम्पनीसँग बल्ल कुरा गर्छौँ नि!’

निरौलाले विमानस्थल सेवाको लागि निर्माण गरिने भएकाले नाफामै हुनुपर्छ भन्ने नभएको बताए। 

‘जुम्लामा हाम्रो विमानस्थल छ त्यहाँ विमानस्थल लागत उठेन, खर्च धानेन भनेर हुँदैन’, निरौलाको तर्क थियो, ‘सर्वसाधारणको सेवाको लागि ठाउँ ठाउँमा राज्यले विमानस्थल बनाउनुपर्छ।’

पोखरा विमानस्थलको भविष्य
पोखरा विमानस्थलको भौतिक निर्माण करिब सम्पन्न भएको छ। विमानस्थल सञ्चालनको लागि रिठ्ठेपानी डाँडा र डम्पिङ साइट खाली गराउनुपर्ने चुनौती छ। सरकारले चालू आर्थिक वर्षभित्रै सबै काम सकिने जनाएको छ। 

पोखरा विमानस्थलमा रिठेपानी र डम्पिङसाइटको काम सकिए पनि कसले उडान गर्छ निश्चित छैन। प्राधिकरणले अब वायुसेवा कम्पनीसँग पोखरामा उडानको लागि छलफल गर्ने जनाएको छ। 

प्राधिकरणले भैरहवामा विमानस्थल वैदेशिक रोजगारीमा गएका नेपालीको कारण चल्दा पोखरा पर्यटक आवागमनको कारण चल्ने दाबी गरेको छ। भैरहवा विमानस्थलमा अहिले ९९ प्रतिशत वैदेशिक रोजगारीमा जाने यात्रु रहेको प्राधिकरणको भनाइ छ। 

हालसम्म पोखरा विमानस्थललाई हब बनाएर अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरले घोषणा गरेको छ। काठमाडौंबाट बनारस उडान गरिरहेको बुद्ध एयरले पोखरा विमानस्थलबाट भारतका विभिन्न ठाउँमा उडान गर्ने बताइरहेको छ। बुद्धसँग हाल एटीआर ७२ जहाज मात्रै छन्। 

नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले काठमाडौं बाहिर जाने योजना नै बनाएका छैनन्। दुवै एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट विभिन्न गन्तव्यमा उडान गर्दै आएका छन्। 

सरकारी स्वामित्व रहेको नेपाल एयरलाइन्सले वैशाख १५ गते त्रिभुवन विमानस्थलबाट गौतमबुद्ध विमानस्थलमा वाइडबडीमार्फत परीक्षण उडान गरेको थियो। तर नियमित उडानको योजना भने कम्पनीले अहिलेसम्म बनाएको छैन।
नेपाल वायुसेवा निगमकी कर्पोरेट निर्देशक अर्चना खड्काले भैरहवाबाट अन्य गन्तव्यमा उडान गर्ने विषयमा कुनै तयारी नभएको बताइन्। 

‘अहिले नयाँ विमानस्थलबाट अन्य गन्तव्यमा उडान गर्ने विषयमा निगमले कुनै छलफल गरेको छैन। योजना पनि बनेको छैन्’, खड्काले भनिन्, ‘४ वटा जहाजले १० वटा गन्तव्यमा उडान गरिरहेका छौँ। भैरहवाबाट थप उडान गर्न सक्ने अवस्था छैन।’

तिब्बत एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी र यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालिको संयुक्त लगानीमा रहेको हिमालयले तत्काल नयाँ विमानस्थलबाट उडान गर्ने कुनै योजना नभएको जानकारी दिएको छ। 

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्छन्, ‘नयाँ विमानस्थलबाट तत्काल कुनै गन्तव्यमा उडान गर्ने योजना छैन।’

प्राधिकरणले भने पोखरा विमानस्थलमा चीन, भारत, थाइल्याण्डलगायत देशबाट नियमित उडान गर्ने आशा गरेको छ। 

‘चीनको ऋणमा पोखरा विमानस्थल बनेको छ। चिनियाँ वायुसेवा कम्पनीले प्राथमिकता दिन्छन्’, निरौलाले भने, ‘भारत, बैंकक लगायतका देशबाट उडान हुन सक्छ।’

भैरहवा विमानस्थलका महाप्रबन्धक दाहालले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले भैरहवा आउन चासो नदिएको बताए। 

दाहालले भने, ‘नेपाली कम्पनीलाई १–१ उडान गर्न आग्रह गरिरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .