ad ad

कारोबार


५१ अर्ब लागतको बूढीगण्डकी: मल्होत्राको कम्पनीलाई मंसिरभित्रै लाइसेन्स

५१ अर्ब लागतको बूढीगण्डकी: मल्होत्राको कम्पनीलाई मंसिरभित्रै लाइसेन्स

दीपक भट्ट
मंसिर १७, २०८० आइतबार १४:४७, काठमाडौँ

तीन सय ४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको लाइसेन्स प्रक्रिया यही महिनाभित्र टुंगिने भएको छ। 

विद्युत् विकास विभागले टाइम्स इनर्जी प्राइभेट लिमिटेडलाई चाँडै लाइसेन्स प्रदान गर्ने गरी प्रक्रिया अघि बढाएको हो। 

निजी क्षेत्रतर्फ यो स्वदेशी लगानीअन्तर्गतको ठूलो आयोजना हो। विभागका अनुसार यसको लाइसेन्स प्रक्रिया अन्तिम चरणमा छ।

यसअनुसार वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन स्वीकृतिको चरणमा छ। त्योसँगै कम्पनीले लाइसेन्स पाउनेछ। 

विभागका महानिर्देशक चिरञ्जीवी चटौतले प्रक्रिया चाँडै टुंग्याउने तयारी भएको जानकारी दिए। 

‘वातावरणको प्रतिवेदन स्वीकृत नभए पनि समय तोकेर लाइसेन्स दिन त मिल्छ’, उनले नेपालखबरसँग भने, ‘तर पनि उक्त प्रक्रिया सकिएपछि नै लाइसेन्सको प्रक्रिया पनि टुङ्ग्याउने तयारी छ।’

उनका अनुसार मंसिरभित्रै लाइसेन्सको काम सकिने अनुमान छ। आयोजनाको लागत अनुमान ५१ अर्ब रुपैयाँबराबरको छ। 

टाइम्स इनर्जी प्राइभेट लिमिटेड निर्माणको प्रस्तावक कम्पनी हो। कम्पनीको अध्यक्ष व्यवसायी दीपक मलहोत्रा छन्। 

यो आयोजना गण्डकी प्रदेशस्थित गोरखा जिल्लाको धार्चे गाउँपालिका १ र ३ तथा चुमनुव्री गाउँपालिका ३ मा निर्माणका लागि प्रस्ताव गरिएको छ।

पिकिंग रन अफ रिभर प्रकारको आयोजनाको बाँधस्थल र जलाशय गोरखाको चुमनुब्री गाउँपालिकामा पर्छ। जुन मनास्लु संरक्षण क्षेत्रको दक्षिणी सुरुवाती भागमा पर्दछ। आयोजनाका बाकी सबै संरचनाहरू मनास्लु संरक्षण क्षेत्रको बाहिर पर्छ। यसले १८३७ दशमलव १६ गिगावाट प्रतिघण्टाको दरले ऊर्जा उत्पादन गर्नेछ। आयोजनाको डिजाइन डिस्चार्ज १०० दशमलव २७ घनमिटर प्रतिसेकेन्ड छ भने यसको जलाधारको क्षेत्रफल ३६२८ वर्ग किमि छ। 

बाँधको कारणले करिब १ दशमलव ५ किमि लामो जलाशय बन्नेछ। बाँधले पानीको सतहलाई करिब १३२५ मिटरको उच्चतम नियमित तहसम्म ल्याउँदा करिब १९ हेक्टरको जलाशय आयोजना रहने प्रतिवेदनमा उल्लेख छ।  

नदीको दायाँ किनारामा ६ वटा इनटेकहरु बनाउन प्रस्ताव गरिएको छ। प्रस्तावित आयोजनाका मुख्य संरचनाहरूमा बाँध, स्पिलवे, इन्टेक, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप, विद्युत् गृह, टेलरेस पर्नेछ। 

यस आयोजना लगभग लाइसेन्सको प्रक्रिया अन्तिम चरणमा गएपछि विद्युत् खरिद सम्झौता (पीपीए) को समेत प्रक्रियामा गइसकेको टाइम्स इनर्जी प्राइभेट लिमिटेडका अध्यक्ष मलहोत्राले बताए। 

उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणमा विद्युत् खरिद सम्बन्धको लागि निवेदन दिइसकेको छ। अब त्यो पनि एक खालको प्रक्रियामा छ भन्न मिल्छ।’

त्यस्तै वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम ६ बमोजिम यस प्रतिवेदनमा राय÷सुझाव दिन वन तथा वातावरण मन्त्रालयले सार्वजनिक सूचना जारी गरिसकेको छ। यही मंसिर ७ गते ७ दिनको लागि जारी गरेको सूचनाको म्याद बिहीबार नै समाप्त भइसकेको छ। 

मन्त्रालयको सूचनाअनुसार सर्वसाधारणले प्रतिवेदन पढ्न वा उतार गरी लैजान पाउने व्यवस्था रहेकोले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरिएको मन्त्रालयले बताएको छ। 

मन्त्रालयले उक्त प्रस्ताव कार्यान्वयनका लागि स्वीकृति दिने क्रममा प्राप्त राय सुझावहरुलाई समेत ध्यान दिने जनाएको छ।  

सूचनामा भनिएको छ, ‘उक्त प्रतिवेदन सम्बन्धमा सर्वसाधारण व्यक्ति वा संस्थाको कुनै राय सुझाव भए मन्त्रालयमा पठाउन सकिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .