दुई वर्षदेखि ठप्प तराई मधेशको लाइफलाइन मानिने राष्ट्रिय गौरवको आयोजा हुलाकी सडकको काम फेरि सुरु भएको छ।
सरकारले भुक्तानी नदिएपछि अगाडि नबढेको काम निर्माण पक्षको लापरवाहीले पनि रोकिन पुगेको थियो।
तर पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद विनोद चौधरीको पहलपछि पुन: सुरु भएको हो।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३, नारायणचोकबाट त्रिवेणीसम्मको १४ किलोमिटर हुलाकी सडकको काम चार वर्षमा सम्पन्न गर्ने गरी २०७६ मंसिरमा करिब ५८ करोड ९६ लाख रुपैयाँमा ठेक्का लागेको थियो।
सांसद चौधरीले हुलाकी सडकको कामलाई सुचारु गराउन पहल सुरु गरिरहेका थिए। निर्माण पक्षलाई काम अगाडि बढाउन दबाब र भुक्तानीको समस्या समाधान गर्न सरकारसँग पनि उनले ताकेता गरेसँगै काम पुन: सुरु भएको हो।

चौधरीले निर्वाचनका बेला नै हुलाकी सडकको कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए। योसँगै दुई वर्षदेखि ठप्प रहेको हुलाकी सडकको काम सुचारु भएको हो।
सांसद चौधरीले भने, ‘नयाँ ठेकेदार रामु अधिकारीजीले जे समस्या देखाउनुभएको छ, त्यसको निकास निकाल्न हामी सफल भएका छौं । उहाँले ८ महिनामा काम सक्ने प्रतिबद्धता जनाउनुभएको छ। यो ठूलो उपलब्धि हो।’
सांसद चौधरीको पहलपछि निर्माण व्यवसायीले हुलाकी सडकको काम सुरु गरेका छन्।

एक निर्माण व्यवसायीले भने, ‘माननीयज्यूकै निरन्तरको पहलपछि हामीले काम सुरु गरेका छौं । मुख्य समस्या भुक्तानीको हो। यसमा माननीयज्यूले व्यक्तिगत रुपमै केहि पहल गर्नुभएको छ। उहाँले मन्त्रीदेखि सरोकारवाला सबै पक्षसँग समन्वय र सहजीकरण गरेर हुलाकी सडकखण्डको काम अगाडि बढेको हो।’
योसँगै नारायण चोकदेखि बेलाटारीसम्मको करिब ६ किलोमिटर सडक निर्माणलाई सुरुमा प्राथमिकतामा राखिएको छ।
तत्काल तीन/चार किलोमिटर सडकमा कालोपत्रे गरिने बताइएको छ।
केही ठाउँमा रोलिङ गरेर बाटो सम्याउने काम हुने निर्माण व्यवसायीको भनाइ छ।
Shares

प्रतिक्रिया