रौतहटमा सात घण्टादेखि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। गाडीको ठक्करबाट ३५ वर्षीय स्थानीय एक युवकको मृत्यु भएपछि स्थानीयवासीले बिहीबार बिहान ६ बजेदेखि नै पूर्वपश्चिम राजमार्ग बन्द गरेका हुन्।
पूर्व–पश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–१ मङ्गलपुर पौराइमा पहिचान नखुलेको गाडीले ठक्कर दिँदा आज बिहान ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको थियो। बिहान पाँच बजेतिर सडकमा उनकाे शव फेला परेकाे हाे।
तर, उनलाई ठक्कर दिने गाडीको पहिचान अझै हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए।
‘स्थानीयले बिहीबार बिहान ६ बजेदेखि नै राजमार्ग अवरुद्ध पारिरहेका छन्,’ डीएसपी रायले नेपालखबरसँग भने, ‘हामी लिम्बूलाई ठक्कर दिने गाडीको पहिचानको प्रयासमा लागेका छौँ। तर, अझै गाडी पत्ता लाग्न सकेको छैन।’
उनले ठक्कर दिने गाडीको पहिचान नहुँदा समस्या भएको बताए।
मृतकका परिवार र स्थानीयले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेर सडक अवरुद्ध गरेका हुन्।
सात घण्टादेखि यातायात बन्द हुँदा त्यस क्षेत्रमा सयौँ सवारी साधनको लाम लागेको छ। हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
साना सवारी साधन रेल्वेको पुलबाट बागमती पार गरेर गन्तव्यतिर लागिरहेका भए पनि ठूला बस र मालबाहक ट्रक घटनास्थलमै रोकिएका छन्।
घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर गाडी खुलाउने प्रयास भइरहेको डीएसपी रायले बताए।
Shares

प्रतिक्रिया