कारोबार


पूर्वपश्चिम राजमार्ग ५ खण्डमा विस्तार हुँदै, यस्तो छ प्रगति

पूर्वपश्चिम राजमार्ग ५ खण्डमा विस्तार हुँदै, यस्तो छ प्रगति

निर्दोष घोरसाइने
कात्तिक ३, २०८२ सोमबार १८:६, काठमाडौँ

मुलुककै सबैभन्दा लामो पूर्वी–पश्चिम राजमार्ग विगत ७ वर्षदेखि फराकिलो बनाउने काम भइरहेको छ।

१ हजार २८ किलोमिटरको राजमार्गलाई विभिन्न खण्डमा विभाजन गरेर सडक विभागले विस्तार गरिरहेको छ। 

तत्कालीन राजा महेन्द्र शाहले २०१८ सालमा शिलान्यास गरेको यस राजमार्गलाई महेन्द्र राजमार्ग पनि भनिन्छ। सवारी चापसँगै सडक साँघुरो भइसकेको छ। 

दुई लेनको सडकलाई सहरी क्षेत्रमा ६ लोन (सर्भिस लेनसहित) र वन परेको तथा चाप कम हुने क्षेत्रमा चार लेनमा विस्तार गर्न २०७५ सालदेखि ठेक्का लगाई स्तरोन्नतिको कार्य भइरहेको छ। 

पाँच वर्षभित्र अधिकांश खण्ड फराकिलो पारिसक्ने भन्दै स्तरोन्नति थालिएकोमा हालसम्म कुनै पनि खण्डको काम पूरा भएको छैन। 

यसमा विभिन्न पाँच मुख्य खण्ड छुट्याएर काम भइरहेको छ। जसअन्तर्गत काकडभिट्टा–लौकही, कञ्चनपुर–कमला, कमला–ढल्केवर–पथलैया, नारायणघाट–बुटवल, बुटवल–गोरुसिंगे–चनौटा खण्ड रहेको छ। 

विश्व बैंक र एसियाली विकास बैंकको ऋण सहयोगमा यी खण्ड विस्तार भइरहेका छन्। 

काँकरभिट्टा–लौकही
काँकरभिट्टा पूर्व–पश्चिम राजमार्गको पूर्वी नेपालको प्रस्थान विन्दु हो। 

झापा, मोरङ र सुनसरीमा पर्ने काँकरभिट्टा–लौकही ९५ किलोमिटर सडक खण्ड एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा विस्तार भइरहेको छ।  

२०८० असोज २३ गते सुरु भएको आयोजना २०८३ माघ १८ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ। यस खण्डमा ६ वटा ३०० मिटरभन्दा लामा र ५६ वटा ठूला तथा साना पुल पनि निर्माण गरिनेछ।  

आयोजनाको कुल लागत ३४ अर्ब ९१ करोड रुपैयाँ छ। हालसम्म वित्तीय प्रगति ६ अर्ब ६८ करोड रुपैयाँ १९.१० प्रतिशत र भौतिक प्रगति २१ प्रतिशत छ। 

कन्चनपुर–कमला
एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा कञ्चनपुर–कमला सडक खण्ड विस्तार भइरहेको छ। यो खण्ड सप्तरीको कन्चनपुर र सिरहाको कमला पुलबीच ८६.८३ किलोमिटर छ।

२०७७ असोज ११ गते सुरु भएको यस आयोजना २०८१ असोज ११ गते सम्पन्न हुनु पर्नेमा हाल म्याद थप गरेर  २०८३ पुस १६ गतेसम्म पुर्याइएको छ।  

गत आवसम्म ५० किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ। यस खण्डमा रहेका ५४ वटा पुलमध्ये ७ वटा निर्माण भइसकेका छन्। 

आयोजनाको लागत १५ अर्ब ६६ करोड रुपैयाँ छ। गत आवसम्म आयोजनाको वित्तीय प्रगति ८ अर्ब ४५ करोड ६४ लाख रुपैयाँ अर्थात् ५४.६४ प्रतिशत छ भने भौतिक प्रगति ६३.१६ प्रतिशत छ। 

कमला–ढल्केबर–पथलैया
सडक विभागले विश्व बैंकको सहुलियत पूर्ण कर्जामा कमला–ढल्केबर–पथलैया १३० किलोमिटर सडक विस्तार गर्ने योजना अघि बढाएको छ। हाल कमला–ढल्केबर खण्ड ७५ किलोमिटर निर्माण सुरु भइसकेको छ। बाँकी बागमती–पथलैया ५३ किलोमिटर दोस्रो चरणमा निर्माण सुरु गर्ने सडक विभागको योजना छ। यो खण्ड मधेश प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा पर्छ।

कमला–ढल्केबर खण्ड २०८४ पुस १६ गतेसम्म सम्पन्न गर्ने गरी २०८१ पुस १७ गते ठेक्का सम्झौता गरिएको हो। 

कमला–बागमतीको कुल लागत ३२ अर्ब ३० करोड रुपैयाँ छ। कुल १३० किलोमिटर सडकको कुल अनुमानित लगत ४८ अर्ब रुपैयाँ छ। 

यस खण्डको वित्तीय प्रगति ३ अर्ब ६ करोड रुपैयाँ अर्थात १०.२६ प्रतिशत र भौतिक प्रगति १०.९१ प्रतिशत छ। 

नारायणघाट–बुटवल सडक
एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सासेक सडक सुधार आयोजना (एसआआईपी) अन्तर्गत ११३ किलोमिटर नारायणघाट–बुटवल सडक स्तरोन्नति भइरहेको छ। यस खण्ड गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र लम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) तथा रुपन्देहीलाई छोएको छ। 

नारायणघाट–बुटवल सडक योजनलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरी विस्तार कार्य अघि बढाइएको छ। पूर्वी खण्डको सुरु बिन्दु गैडाकोट र अन्तिम बिन्दु दाउन्ने ६४.४२५ किलोमिटर छ। पश्चिम खण्डको सुरु बिन्दु दाउन्ने र अन्तिम बिन्दु बुटवल ४८.५३५ किलोमिटर छ। 

नारायणघाट–बुटवल सडक खण्ड २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी २०७५ पुस ४ गते सुरु गरिएको थियो। हाल सडक विस्तारको अवधि  २०८३ साउन ७ गतेसम्म थप्पिएको छ। 

आयोजनाको सुरुवाती लागत १६ अर्ब ९९ करोड रुपैयाँ थियो।  भेरियसनसहित आयोजनाको लागत १७ अर्ब २७ करोड रुपैयाँ पुर्याइएको छ।

यस खण्डमा ६१.६ किलोमिटर किलोमिटर कालोपत्रे, १६ मुख्य र ४० साना पूल निर्माण भइसकेका छन्। ५ मुख्य र ३ साना पुल निर्माण भइरहेका छन्। 

गत आवसम्म आयोजनाको वित्तीय प्रगति  १२ अर्ब ८५ करोड रुपैयाँ अर्थात ६२.४० प्रतिशत छ भने भौतिक ६९.१८ प्रतिशत छ। 

बुटवल–गोरुसिंगे–चनौटा सडक
विश्व बैंकको पूर्व दक्षिण एसियाको यातायात तथा व्यापार अबद्धता अभिवृद्धि कार्यक्रम अन्तर्गत बुटवल–गोरुसिंगे–चनौटा सडक रहेको छ।

६९ किलोमिटर सडक खण्ड रुपन्देही र कपिलवस्तु जिल्लामा पर्छ। हालसम्म बुटवल–गोरुसिंग ५० किलोमिटर खण्डको ठेक्का लागेको छ भने गोरुसिंगे–चनौटा १९ किलोमिटर खण्डको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको सडक विभागले जानकारी दिएको छ। 

आर्थिक वर्ष २०८०/८१ मा ठेक्का लागेको सडक आव २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको लागत १८ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

गत आवसम्म १ अर्ब ८४ करोड ९३ लाख अर्थात ८.७५ प्रतिशत प्रगति हासिल गरिएको छ। भौतिक प्रगति १२.३३ प्रतिशत रहेको सडक विभागले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad