साहित्य


लघुकथा : विभेद

लघुकथा : विभेद

ईश्वर पोखरेल
कात्तिक ४, २०८२ मंगलबार १५:१६, काठमाडौँ

कृष्ण दाइका जुम्ल्याहा सन्तान : शरद र सर्मिला।

हो; कृष्ण दाइको आर्थिक अवस्था राम्रो थिएन। तर एक लिटर दूध सधैं लिनुभयो। दूध तताएपछि सधैं शरद एक गिलास खान्थ्यो। परिवारका बाँकी सदस्यका लागि रातो चिया हुन्थ्यो; सर्मिला त्यही खान्थी ।

शरदका रहर पूरा गर्न कृष्ण दाइ पैसाको जोहो गर्न सक्नु हुन्थ्यो; शरदका लागि बन्दुक किनिदिनु भयो, साइकिल किनिदिनु भयो । शरदले जेजे रहर गर्‍यो; सबै किनिदिनु भयो।

सर्मिलाले ती खेलौनासँग कि शरद कतै गएको समयमा आफ्नो रहर मेटी; कि शरदले डाकेपछि खेली। लुगा किन्दा शरद पहिलो प्राथमिकतामा पर्थ्यो; मिठो पाक्दा पहिले शरदको भाग छुट्ट्याइन्थ्यो। दुई जनाको झगडा पर्दा पहिलो पिटाइ सर्मिलाले भेट्थी। 

शरदले सधैं बोर्डिङ स्कुलमा पढ्यो; सर्मिलाले सरकारी स्कुलमा। शरदले कहिल्यै स्कुलमा गयल हुनु परेन; घरमा कामको चाप परेका दिन सर्मिला स्कुल गइन। सर्मिला क्लासमा फस्ट र शरद क्लासमा थर्ड भएको वर्ष कृष्णदाइ त्यति खुसी देखिनु भएन; जति शरद फस्ट र शर्मिला थर्ड हुँदा देखिनु भएको थियो।

एउटै परिवारभित्र कोही धनी र कोही गरीब हुन्छ? त्यस्तो हुन पनि सक्छ?

कृष्णदाइका जुम्ल्याहा सन्तान : शरद र सर्मिला। शरदले गरिबी भोग्नै परेन; सर्मिला गरिबीबाट कहिल्यै बाहिर आइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad