साहित्य


कथा : सुर्ती

कथा : सुर्ती

प्रयास दुमी राई
असार २५, २०८३ बिहिबार १०:३६, काठमाडौँ

१.
बर्खाको याम। उत्तिस र बाँसका पातबाट झरीको सर्‍याक–सर्‍याक एकोहोरो प्रवाह भइरहेको हुन्थ्यो। हिउँदमा कमिला कुद्ने खोल्सा पनि छङछङ बग्ने झरना वेगमा जीवनको ओरालो झर्दै गरेका हुन्थे। त्यही पानी पिएर वनमारा, तीतेपातीहरू अलिअलि बढेका हुन्थे। यस्तो मौकामा रुद्रे त्यस्तो ठाउँ पुगिरहन्थ्यो।

उमेर सैँतीस। नाम रुद्र। तर म उसलाई रुद्रे नै भन्छु। म यसमा मिठास पाउँछु। रुद्रेलाई जब सम्झिन्छु, मेरा आँखामा रुद्राक्षको माला, चुस्स दारी–जुँघा, खरको मुठोजत्रो गाँठो परेको कपाल, कानमा मुन्द्रा र एक मुर्धुङ ज्यानको प्रतिबिम्ब आउँछ।

जब रुद्रे पात्लेको सबभन्दा राम्रो पातमा सुर्ती बेरेर फुङ्ग धुवाँ उडाउँदै डोको र कचिया बोकेर जङ्गल निस्कन्थ्यो, टाढासम्मका गाउँका मान्छेहरू ऊ घाँसपातका लागि जङ्गल पसेको चाल पाइहाल्थे।

खोल्साको छङ्छङ र बर्खे झरीको झर्र–झर्रलाई जितेर रुद्रे गीत गाउँथ्यो। ज्यानअनुसारको आवाज भएर होला, जब ऊ गीत गाउँथ्यो, भीर पाखा, जङ्गल र पहराहरू थर्किन्थे।

एकपटकको घटना हो। रुद्रे भीरमा खर काट्न गएको थियो। खरबारीमा बसेर भीरको थुम्काबाट तल बग्ने रावा खोला हेरेर धेरैबेर टोलायो। यतिञ्जेल त्यहाँ सुर्तीको धुवाँको फुसफुसबाहेक अरू कुनै हलचल थिएन।

कहिलेकाहीँ रुद्रे निकै भावुक हुने गर्थ्यो। यसरी भीरमा घाँस काट्न जाँदा कहिले उडिरहेका चराचुरुङ्गी हेरेर मौन बन्थ्यो त कहिले पहराको लहरामा चचहुई खेल्दै उफ्रिरहेका बाँदर हेरेर खिस्स हाँस्थ्यो- एक्लै।

त्यसदिनको कुरा जब उसले थुम्कामा बसेर सुर्तीको धुवाँ उडाइसक्यो, त्यसपछि एक्कासि उसलाई जोस चल्यो। ठूलो आवाजलाई पनि अझ ठूलो बनाएर ऊ होहोई गर्दै चिच्याउन थाल्यो। उसको यस चिच्याहटले तल्लो थुम्कामा चर्दै गरेका मृग तर्सिएर भीरबाट तलतिर दुगुरे।

त्यसपछि गाउँमा सुर्तीको शक्तिले मृग ढाल्ने मान्छे भनेर रुद्रे चर्चित भयो।

गाउँलेहरूको लागि रुद्रे एकदुई अन्य कारणले पनि चर्चित थियो। ऊ अविवाहित थियो। तराईबाट पहाड आएर दिदी–भिनाजुका साथमा बसेको। रुद्रे अरूजस्तो साधारण पनि थिएन। जन्मजात नै सुस्त मनस्थिति भएको। यति भएपछि गाउँलेहरूका लागि हँसीमजाक बन्न अरू के चाहिन्थ्यो र?

रुद्रे जहाँजहाँ पुग्थ्यो अर्कै किसिमको माहोल बनिहाल्थ्यो, मानौँ ऊ जोकर हो वा सर्कसको एक कलाकार। त्यसैले हुनसक्छ, ऊ केटाकेटीदेखि बुढाबुढी उमेरका सबैसँग घुलमिल हुन्थ्यो। ऊ गाउँमा सबैभन्दा ठूलो भारी बोक्ने मान्छेमा पनि गनिन्थ्यो। बिहे, पास्नीजस्ता विभिन्न कार्जेहरूमा रुद्रेलाई सबैले सम्झन्थे।

वनपाखा, घाँस–स्याउला, गाईबस्तु, गोठ र भकारो रुद्रेको दैनिकी थियो। तराईमा जन्मिएको भए पनि पहाडसँग खेल्न थालेको बीस–पच्चीस वर्ष भइसकेको थियो। उसलाई गाईबस्तु र गोठसँग खुब मोह थियो। गोठमा एउटा कुकुर पनि पालेको थियो जसलाई ऊ खुब माया गर्थ्यो।

एकपटक गोठमा उसको कुकुर बिरामी पर्‍यो। त्यसदिन हावाहुरीसहित ठूलो झरी परेर घरसम्म जान पाएन। गोठमा ऊ खाना बनाउँदैनथ्यो। जान्दा पनि जान्दैनथ्यो। घरमा खाना खाएर गोठमा सुत्न मात्र जान्थ्यो। तर त्यसदिन गोठमा नै रोकियो।

ऊ आफू त भोकै बस्न सक्थ्यो। तर कुकुरलाई भोकभोकै राख्न उसको मनले मानेन। निकै प्रयासपछि डालीमा गाईलाई खुवाउन भनेर राखेको मकैको पिठोको सानो पोको फेला पार्‍यो। अब त्यसलाई पकाउन गोठमा कराई वा अन्य कुनै समान थिएन। पानी बोक्न लगेको सानो ग्यालेन रहेछ। उसले त्यही ग्यालेनमा खोले पकाउने विचार गर्‍यो।

आगो बलेकै थियो। ग्यालेनमा पानी हाल्यो। त्यसपछि पिठो। अनि त्यसलाई हल्लाएर घोल्यो र आगोमा बसाल्यो। सुर्ती बेरेर के सल्काउन लागेको थियो ग्यालेन त आगोले डल्लो पर्दै गयो। डल्लो परेको ग्यालेन झिक्न खोज्दा उसको हात नमज्जाले पोल्यो। त्यसदिन उसले थाहा पायो- ग्यालेनमा खोले पाक्दो रहेनछ।

रुद्रे सुर्ती खाइरहने र गफ गर्न मजा हुने भएकोले गाउँका एक हुल ठिटाहरू राति–राति उसको गोठमा पुगिरहन्थे। सुर्ती तान्दै ठिटाहरू अनेक गफहरू छाँट्थे। रुद्रेको प्रशंसा गरे जस्तो गर्दै उसको मजाक उडाउँथे। रुद्रे पनि खुसी हुँदै हुटिङ लगाउँथ्यो। रुद्रेले आफूलाई मजाक बनाएको थाहा नपाएको बुझेर ठिटाहरू झन् डल्लो परिपरि हाँस्थे। यसरी रुद्रेको गोठ रातभर होहल्लामय बन्थ्यो।

कति पटक चाहिँ, ठिटाहरू रुद्रेको गोठमा भूत बनेर तर्साउन पनि जान्थे। पहिले–पहिले त रुद्रे डराउँथ्यो, तर पछि उसले चाल पायो। एक दिन केटाहरू तर्साउन पुगेको बेला रुद्रेले अगुल्टो झिकेर झटारो हानेको थियो। त्यसपछि केटाहरूबाट भूत बन्ने काम बन्द भयो।

रुद्रेको गोठ ठिटाहरूका लागि भेला भएर हाँस्ने–रमाउने नाटकघर जस्तै हुन थाल्यो। त्यहाँ, राम्रा नराम्रा कुराहरू चल्थे। रुद्रे अविवाहित थियो। त्यसै कारण पनि ठिटाहरू उसलाई बिहे गर्न उक्साउँथे। गाउँका राम्राराम्रा ठिटीहरूसँग बिहे गरेको सपना देखाउँथे। बिचरा रुद्रे! केही समय बेहुलो भएको कल्पना गर्थ्यो। मंसिरमा फलानोसँग मेरो बिहे। जन्ती जानुपर्छ है! यस्तो भन्न पनि भ्याउथ्यो कहिलेकाहीँ।

निम्तो पाउनेहरू भन्थे, 'बिहे चैँ मंसिरको कति गते गर्ने हो, रुद्रे?'

रुद्रे गन्ती गरे जस्तो सोचेर भन्थ्यो, 'पैँतीस गते।'

वरिपरिका सुन्नेहरू सबै एकसाथ गललल हाँस्थे। रुद्रे पनि त्यो हाँसोमा आफूलाई मिसाउँथ्यो।

रुद्रेको जीवनमा हाँसो र खुसीहरू यसैगरी जम्मा हुन्थे। उसलाई के थाहा, आफ्नो जीवन नै एउटा हाँसोको पात्र बनेर बितिरहेछ।

एकदिन रुद्रेको गोठमा केटाहरू रक्सीको बोतल लिएर पुगे। रुद्रेलाई पनि खुवाइयो। हँसी–मजाक भयो।

त्यसबीचमा चन्द्रेले रुद्रेलाई एउटा चुरोट दिँदै भन्यो, 'रुद्रे सोल्टी, यो सल्काऊ! दसवटा सुर्तीको तिर्सना एउटैले मेट्छ।'

नभन्दै पातको बेरुवा सुर्ती तान्ने रुद्रेले चुरोट पाएपछि खुसी हुँदै सल्कायो। बेस्सरी तान्न लगाए। उसले त्यसै गर्‍यो। सबै केटाहरू रुद्रेलाई हेर्दै हाँस्न लागे। रुद्रे पनि भित्रैबाट हाँस्न थाल्यो। सबभन्दा बढी खुसी त्यसदिन रुद्रे नै थियो। ऊ हाँसिरहेको थियो।

रुद्रेलाई थाहा थिएन ऊ किन यति धेरै हाँसिरहेको छ। सायद उसले सोचेन पनि। हरेक कोही रोएको बखत रुनुको अर्थ र कारण खोज्छ। तर हाँस्नुको उत्ति खोजिँदैन।

थाहा छैन खुसीबाट सुरु भएको जिन्दगीको मोड कुन चिजमा कसरी टुङ्गिन्छ।

त्यसरी रुद्रे हाँस्नुको कारण खासै केही थिएन। चुरोटको भ्रम दिएर उसलाई गाँजा खुवाइएको थियो। थाहा हुनु पर्ने मान्छेलाई थाहा भएन। जसलाई थाहा हुनुको अर्थ थिएन, उनीहरूलाई सत्य थाहा थियो।

यो भ्रम रुद्रेको लागि के भ्रम? उसको त जिन्दगी नै एउटा भ्रम सरह थियो। एउटा भ्रमित जिन्दगी बाँचिरहेको मान्छेलाई थप एउटा भ्रम हुनु कुन नौलो कुरा भयो र? सायद केटाहरूले यस्तै बुझेका थिए।

सुरूमा रुद्रेले गाँजा भन्ने थाहा नपाएर तान्यो। पछि, गाँजा सुर्तीभन्दा बढी निको भन्ने जान्यो र तान्यो।

दिन प्रतिदिन ऊ सुर्तीभन्दा बढी गाँजामा झुम्न थाल्यो। उसको जीवनमा छुट्टै दुनियाँ त छँदै थियो। थप अर्को दुनियाँ पनि खडा भयो।

एकदिन रुद्रे घाँसपात गरिभ्याएपछि गाँजाको खोजीमा गाउँ छिर्‍यो।

उसलाई केटाहरूले भनेका थिए- नन्दा भाउजूको घरको घुरेनमा गाँजाका धेरै बोट छन्।

'कहाँबाट आज मेरो याद आयो मेरो देवर बाबूलाई?' साँझमा पुगेको रुद्रेलाई नन्दा भाउजूले जिस्क्याउने पारामा भनिन्।

नन्दा घरको एक्लो मान्छे थिइन्। उनको परिवार भन्नु नै उनी आफूमात्रै थिइन्। उनका बालबच्चा केही भएनन्। हुनसक्थे कि भन्ने एउटा आशा पनि दस बर्ष पहिले मेटिइसकेको थियो। घाँस काट्ने क्रममा भीरबाट झरेर उनको लोग्नेको मृत्यु भएदेखि आजसम्म उनी एक्लै थिइन्। उसले अर्को बिहे गर्न चाहिनन् या उनलाई लाने कोही भएन। त्यो नन्दा आफैँ जान्दथिन्।

'सुर्ती पाइन्छ भन्ने सुनेर पो आको हौ,' रुद्रेले केराको बोटतिर हेर्दै भन्यो।

'ए, सुर्ती? ल, भित्रै आऊ। अलिकति होला, दिऊँला।' यसो भनेर नन्दा भित्र छिरिन्। उनको पछिपछि रुद्रे पनि भित्र पस्यो।

साँझ धेरै परिसकेको हुनाले नन्दाले टुकी बालिन्। टुकीको उज्यालो घरभित्र फैलिएपछि देखियो–सरङमा सुकेको केही त्यान्द्रो सुकुटी, अगेनामा बासी ढिँडोको कराई, खोपामा ओथारो बसेको पोथी, जाँडका घ्याम्पाहरू, इत्यादि।

'ल यही हो पोको। मलाई पनि बनाऊ, आफूलाई पनि।' नन्दा भाउजूले सुर्तीको पोका रुद्रेलाई दिँदै भनिन्, 'म जाँड बनाउँछु।'

रुद्रे एकछिन् अल्मलियो। तर धेरैबेर नसोचेर सरासर पातमा सुर्ती हालेर बेर्न थाल्यो। नन्दा भाउजू जाँड छान्न थालिन्। उनको हातमा बजेका चुराको आवाजले त्यस बेलाको शून्यतालाई चिर्ने प्रयास गरिरहेको थियो।

रुद्रेलाई एक डबका जाँड टक्र्याइन्। रुद्रेले तयार पारेको सुर्ती नन्दालाई दियो। नन्दाले आफूलाई पनि डबकामा जाँड ठिक पारिसकेकी थिइन्। दुवैले एकैसाथ डबका उठाए।

सुर्ती सल्काइसकेपछि एक सर्को तानेर धुवाँ फालेपछि रुद्रेले असहज मान्दै भन्यो, 'यो सुर्ती त हैन हौ, भाउजू! अर्कै पो माग्न आको।'

'उसोभए त मलाई माग्न आयौ कि क्या हौ?'  नन्दाले फेरि जिस्क्याउने पारामा हाँस्दै भनिन्। उनको बानी यस्तै थियो। जे पनि बोलिदिन्थिन्। बढी नै हाँस्थिन्। मान्छेहरूको अगाडि गाल पार्थिन्।

रुद्रे जिस्कन जान्दैनथ्यो।

'सुर्ती भन्दा कडा हुँदो रैछ नि त्यो। याँ भाउजूकोमा पाउँछ रे हौ। त्यही भएर लिन आको,' सकेसम्म बुझाउने कोसिस गरेर भन्यो रुद्रेले।

नन्दाले बुझिन्। गाउँका केटाहरू सधैँ माग्न आउँथे।

'ए! कहिलेबाट सिक्यौ?' नन्दाले मुखबाट धुवाँ उडाउँदै बोलिन्।

रुद्रेले केही नबोलेर जाँडको डबका उठायो।

डबकाको जाँड तुनुक्क पारिसकेपछि नन्दाले पाती जस्तो एउटा झ्याङ नै दिइन्।

रुद्रेले कच्याककुचुक पारेर इस्टकोटको गोजीमा हाल्यो र बाहिर निस्कियो।

'सक्किएपछि फेरि लिन आउनू। जति पनि छ यहाँ।'

खुट्टामा चप्पल घुसार्दै गर्दा भित्रबाट नन्दा भाउजू बोलेको आवाज रुद्रेले प्रस्टैसँग सुन्यो।

२.
जे खाए पनि जहिले खाए पनि रुद्रे आफ्नो काम ठिक समयमा गर्थ्यो। रुद्रेको काम देखेर गाउँका कोहीकोही डाहा पनि गर्थे। रुद्रेको भरमा मालतीको घर चलेको छ। यस्तो धेरैले भन्थे। मालती रुद्रेकी एकमात्र चेली। मालतीपछि रुद्रे जेठो छोरा भएर जन्मेको थियो। रुद्रेको एउटा भाइ थियो मधेसको तरहरामा।

गाँजाको पात सक्किनेबित्तिकै रुद्रे नन्दा भाउजूकहाँ पुगिहाल्थ्यो। नन्दा भाउजूको घरमा अरू छोरो मान्छे नभएकोले, उचाल्ने, बोक्ने र गह्रौँ काममा नन्दालाई सहयोग चाहिन्थ्यो। त्यस्तो सहयोग रुद्रेले गर्थ्यो। नन्दालाई बेस नै भएको थियो। गाँजा दियो, काम लियो।

नन्दा भाउजूलाई काम गरेर सघाएबापत गाँजाको पात र जाँड पनि पाउने भएपछि रुद्रे मख्खै भैहाल्थ्यो। कुनैबेला दुवैले गाँजा पिउँथे र लठ्ठ परेर जाँड खान्थे। दुई जिन्दगी यसरी चलिरहेका थिए। नन्दा भाउजूलाई पनि लोग्नेको न्यास्रो लाग्दो हो। र नै दुनियाँ बिर्सेर आफैँमा रमाउन चाहन्थिन्, सायद।

चालीस काटेकी नन्दा उमेर भन्दा कमकी देखिन्थिन्। हातपाउ बलिया, ज्यान हृष्टपुष्ट नै थियो। जब अलि बढी जाँड लाग्थ्यो उनको गाला रातो भएर तप्प रगत चुहिएला जस्ता देखिन्थिन्। न लोग्ने थियो, न छोराछोरी। न परिवार नै। ढुक्कै थियो नन्दालाई।

आफ्नो जिन्दगी र घर–व्यवहार सम्झेर झन्झट मान्दै गाउँका अरू महिलाहरू कुरा गर्थे। कोही नन्दालाई होच्याउनका लागि थरिथरिका कुराहरू ओकल्थे। नन्दा यी सब कुरालाई बेवास्ता गरेर बाँच्थिन्। साँच्चै अरूलाई डाहा लाग्ने भएर बाँच्थिन्।

एकदिन रुद्रेसँग जाँड पिउँदैगर्दा नन्दा खूब रोइन्। गाँजा खाएर सधैँ हाँस्ने मान्छे त्यसदिन रोएको देखेर रुद्रेको पुरुष मन पनि पग्लियो। नन्दा भन्दै थिइन्, 'सबैले खुसी र सुखी देख्छन्। मान्छेभित्रको पहाड जस्तो पीडा कसैले देख्दैन। भिडमा एक्लो हुनु र जिन्दगीमा एक्लो हुनुमा आकाश–पातलको फरक पो हुन्छ त।'

रुद्रे धुवाँ उडाउँदै नन्दा भाउजूलाई हेरिरहेको थियो, धुवाँ जस्तै चुपचाप भएर।

त्यसदिन नन्दा भाउजूले कर गरेपछि रुद्रेले त्यहीँ भात खायो। भात के भन्नु, किनिमाको तरकारीसँग ढिँडो बजायो।

रुद्रे र नन्दा भाउजूको कुनै न कुनै बहानामा भेट भैरह्यो। रुद्रे पनि नन्दा भाउजूसँग अलि खुलेरै बोल्न थालेको थियो।

एकदिन गाँजा लिन जाने सिलसिलामा रुद्रे नन्दा भाउजूको घरमा पुगेको थियो। ढोका खुलै भएको हुनाले ऊ भित्रै पस्यो। भित्र नन्दा भाउजू ओछ्यानमा अर्धनग्न थिइन्। न निस्किनु न बस्नु भएर रुद्रे अन्कनायो।

नन्दा भाउजूले हतारहतार गुन्यूँ मिलाउँदै खाटबाट खुट्टा झारेर बसिन्। बस्ने अनुरोध पाएपछि छेउको पिरा तानेर भुइँमा बस्यो रुद्रे।

'हेर न! मेरो याँ कत्रो पिलो निस्क्यो। दुखेर मर्ने बेला भो!' नन्दा भाउजूले  गुन्यूँ उठाएर गुनासो पोख्दै घुँडाभन्दा अलि माथि निस्केको पिलो  देखाइन्।

रुद्रे लजाएर खिस्स हाँस्यो।

'पिलो पाकेजस्तो छ। पिल्स्याइदिनपर्‍यो,' नन्दा भाउजूको अनुरोधले रुद्रेलाई पर्नुसम्मको पिर पर्‍यो।

'लौ न! यति गर्देऊ, कान्छा।'

पहिलो पटक हो रुद्रेलाई कसैले यति माया गरेर कान्छा भनेको। ऊ एकछिन अवाक बन्यो।

नन्दा भाउजूले थपिन्, 'लाज मान्नु पर्दैन। मर्ने बेला केको लाज?'

रुद्रेलाई कुरा ठिक लाग्यो। पिलोको दुखाइ उसले जस्तो अरूले के भोगे होलान् र? रुद्रेको ढाड र कम्मरमा पिलो निस्किँदा घाँस र स्याउला बोकेको डोकोले त्यस्ता पिला कति पिल्स्याए, कति।

रुद्रे पिलो निचोर्न तयार भयो।

नन्दा भाउजूले गुन्यूँ चाहिनेभन्दा बढी माथि लगिन्। रुद्रेलाई पिलोको चिन्ता थियो।

'एकछिन।' पिलो निचोर्न लाग्दा नन्दा भाउजू बोलिन्।

'तँ पात भर्। म जाँड छान्छु।' यस्तो भनेर नन्दा बिस्ताराबाट उठिन्। रुद्रेको बुद्धिले के भ्याउथ्यो? भ्याएन।

नन्दाले गाँजा र जाँड बेस्सरी पिइन्। पिलोको अप्रेसन जो सहनु थियो।

दुवैजना टिल्ल भएपछि पिलो तह लगाउन तयार भए।

नन्दाले यसपटक दुवै गोडा देखिने गरी माथिसम्म गुन्यूँ उठाएकी थिइन्। रुद्रेले एकै चोटमा पिलो पिल्स्यायो।

'ऐया, मरेँ नि आम्मा! ' नन्दा भाउजू हुरुक्कै परिन्।

एकछिन पछि थर्रर काँप्दै नन्दा बोलिन्, 'बज्यालाई यसै काँ मूर्ख भन्या रैछन् र? झण्डै मरेँ नि, आमा!'

मंसिरको महिना, चिसो निकै बढेको थियो। त्यो चिसो साँझमा नन्दा र रुद्रे गाँजा तानेर ताता भएका थिए। जाँड त तातो चिसो जुन याममा पनि चल्थ्यो। आज नचल्ने कुरै थिएन। चल्यो केही डबका।

केही दिनपछिको कुरा हो। भैंसीलाई घाँस झार्न भनेर बारीतर्फ निस्किए दुवै। त्यो कोदोबारी थियो र त्यहाँ खन्युको रूखमा चढेर घाँस काट्नु रुद्रेको काम थियो अनि जम्मा पारेर भारी कस्नु नन्दाको।

सरासर रुखमा चढेर घाँसको डालो छिनाउन थाल्यो रुद्रे। लगभग घाँस पुग्ने बेलामा रुद्रेको जीउभरि कमिलो घुसेर जतासुकै टोक्न र चिल्न थाल्यो। रुद्रे आत्तिँदै रुखबाट तल ओर्लियो। ऊ आत्तियो, चिच्यायो।

रुद्रेले ज्यानबाट टिसर्ट फुकालेर भित्तातिर फाल्यो। जताततै टोक्ने र चिल्ने भएपछि ऊ त लडिबुडी नै खेल्न थाल्यो। कोदो ढलेर सोत्तर।

नन्दा पनि आत्तिइन् र रुद्रेको जीउको कमिलो टक्टक्याउन थालिन्। यही क्रममा रुद्रेको ज्यानमा नन्दाको हात पर्‍यो। यही बेला नन्दाको हात त्यहाँ पुग्यो जहाँ आजसम्म कसैको हात पुगेको थिएन। रुद्रेको हलचल एक्कासि रोकियो।

केही बेरको शून्यतालाई चिर्दै त्यो धमिलो साँझझैँ रुद्रेको ज्यानमाथि नन्दा ढलिन्, एक पहाड ढले जसरी। नन्दाको कुरा सुन्ने र उसको भलो चाहने सायद रुद्रे एकमात्र मान्छे थियो। ऊ नन्दाको दुःख–सुखको साथी भएको थियो।

अब मीठो मसिनो पाक्दा रुद्रेलाई पनि राखिदिन्थिन्। कुनै दिन त रुद्रे आइपुग्दैन थियो र त्यो त्यसै सुँगुरको चारोमा हाल्नु पर्थ्यो।

उनीहरूको कतै भेट भएन भने घाँसमा जाने बहानामा नन्दा भाउजू रुद्रेको गोठमा पुग्थिन्।

माया निकै चुलिएको थियो। दुनियाँमा उचाइ हुन्छ भने सबैभन्दा अग्लो उचाइ प्रेमको हुन्छ। सबैभन्दा गहिरो पनि प्रेम नै हुन्छ। तर त्यो उचाइ या गहिराइ देखाउनुको अर्थ थिएन। यसो भनौँ, देखाउनुमा भन्दा लुकाउनुमा बढी जाती हुन्थ्यो र उनीहरू त्यसै गर्थे पनि।

यसरी एउटा प्रेम मौलाइरह्यो। फुलिरह्यो पहरामा फुलेको फूल जस्तै भएर। न कसैले देख्थ्यो, न टिप्न सक्थ्यो। जहाँ फुले पनि फूलले वास्ना त छर्दो नै हो, चाहे त्यो प्रेमको होस् वा डालीको।

धुवाँको छहारीभित्र लुटपुटिँदै कयौँ रातहरू एक साथ बित्थे।  जुनको उज्यालो वा मधुरो प्रकाशमा शीत झर्थ्यो। उनीहरू एउटै बर्को ओढेर खुसीको उत्सव मनाउँथे। यसरी सहजै बित्यो एउटा ठण्डी याम।

छकालै उठेर रुद्रे सधैँझैँ डोको बोकेर जङ्गल पस्यो।

आजकाल उसलाई जङ्गलमा बसिरहन रहर लाग्दैन। ऊ घाँस, स्याउला वा दाउराको भारी लिएर हतारैमा फर्किन चाहन्छ। किन कि घरको काम र गोठको टन्टा सकेर नन्दाकहाँ पुग्नुपर्ने हुन्छ।

रुद्रेले त्यसदिन एउटा सुकेको रुख पायो। केही घण्टामा त्यसलाई काटेर टन्न भारी लगायो र घर फर्कियो।  फर्किदा तीनतले छाँगो बाटोमा पर्थ्यो। त्यहाँबाट केही अगाडि पुगेपछि साँघुरो बाटो आउँथ्यो। हो, त्यहाँनिर आएपछि बाटोबाट रुद्रे भारीसँगै तल खस्यो।

गाउँमा रुद्रे फेरि चर्चित भयो।

'सबैभन्दा ठूलो भारी बोकेर बाटै भत्काउने मान्छे,' मानिसहरू भन्थे।

हुन पनि यस्तै भएको थियो। बर्खामास बगिरहने ठाउँ थियो त्यो। केही ढुङ्गाको आडमा निकालेको बाटो थियो, धेरै बोझ भएपछि भत्किन्थ्यो।

बाटै भत्किएपछि कसको के चल्छ र? रुद्रेले धन्न अँगेरीको झ्याङमा अल्झिन पायो। 

'रुद्रे घाइते छ।' यो कुरा थाहा पाउँदा नन्दाको मनमा चिसो पसेको थियो। एकाबिहानै गुन्द्री बुन्ने पराल माग्ने निहुँमा उनी मालतीकहाँ पुगिन्।

घर फिर्ने बेलामा नन्दाले हेरिन्। घरपछाडिको छाप्रोमा दुखेको ज्यान लिएर रुद्रे पल्टिरहेको थियो। नन्दालाई देखेपछि रुद्रे बिस्तारै उठेर सिरानीको आड लिएर बस्यो। दुवै जना चुपचाप भए। आँखा जुधिरहे केहीबेर।

रुद्रेको घोरिएको ज्यानलाई बिस्तारै सुम्सुमाऊँ, निधारको ज्वरो हातले मापन गरूँ र बिस्तारै कस्तो छ कान्छा भनेर सोधूँजस्तो लागेको थियो नन्दालाई। तर यो मनभित्रको रहर मात्र थियो। साँच्चै मनभित्रको दुनियाँ भन्दा जिन्दगीको दुनियाँ निकै फरक हुन्छ।

आँखाले बोलेका बातहरू सायद दुवैले केही बुझे। केही बुझेनन् पनि होला। नबुझेरै पनि माया त मीठो हुन्छ। उनीहरूलाई यस्तै लागेको थियो।

नन्दाले रुद्रेको हातमा एउटा पोको पारेको केही चिज सुटुक्क राखिदिइन्। सायद त्यो गाँजा र अरू केही खाने कुराहरू थियो। नन्दाको आँखा काटेको रुखबाट चोप निस्केजस्तै भएर रसायो। यत्तिकैमा मजेत्रोको एक छेउले आँखा पुछ्दै नन्दा घरतर्फ फर्किइन्।

मह, काँचो अण्डा, तेल, चिनी, रक्सी— यी चिजहरू मिसाएर बनाएको औषधिले निकै काम गर्‍यो। एक साता जतिमै रुद्रे तङ्ग्रियो। गोठ, गाईबस्तु र घाँस–दाउरा— रुद्रे पुरानै दैनिकीमा फर्कियो।

नन्दासँग नभेटेको समयले रुद्रेलाई पिरोलेको थियो। त्यसदिन गोठको सबै काम चाँडै भ्याएर साँझ पर्नुभन्दा अगाडि नै ऊ नन्दाको घरतर्फ सोझियो।

दिउँसो गाईबस्तुलाई खोलातिर चरनमा लगाएर रुद्रेले घण्टौँसम्म झरनामा नुहाएको थियो। त्यसदिन ऊ अरूबेला भन्दा केही बढी चिटिक्क देखिको थियो।

नन्दाको घरमा पुग्दा उनी सुँगुरलाई चारो हाल्दै रहिछिन्। रुद्रेलाई देखेर झण्डै चिच्याइनन्।

हतार–हतार एक अँगालो दाउरा लिएर दुवै भित्र गए। टुकी अघि नै सल्काएकी रहिछिन्। सलेदोमा आगो पिलपिल नाचिरहेको थियो।

दुवैजना एकाअर्कालाई त्यसरी हेरिरहेका थिए मानौँ रुद्रे दूरदेशको पल्टनबाट बर्षौँपछि आजै घर फर्किएको लाहुरे हो ऊ।

नन्दाले भर्खर बास्न थालेको भाले समातिन्। रुद्रेले काट्यो, बनायो। नन्दाले सम्पूर्ण मरमसला हालेर मासु पकाइन्। रुद्रेले ढिँडो ओडल्यो। नन्दाले जाँड छानिन्। सबै तयार हुँदा रातको नौ बजिसकेको थियो। खाँदावर्दा दस पनि बज्यो।

कसै कसैलाई सुर्ती भनेको भोक भन्दा पनि ठूलो हुँदोरहेछ। खाना खाइसकेपछि पनि सुर्ती दुवैलाई चाहिने।

निकैबेरसम्म सुर्तीको धुवाँभित्र दुवै रुमलिरहे। मसिनो आवाजमा गफ भयो। केही हाँसो पनि।

बाह्र बजिसकेको थियो। रुद्रेले बाँस चिरेर सिटा तयार गर्न लाग्यो, ऊ सिटा बालेर गोठसम्म पुग्नुछ।

'छकालै जानू। रातिराति कता हिँड्छौ?' नन्दाले चुलाको पारिपट्टि गुन्द्री ओछ्याइन् र रुद्रेको लागि सुत्ने ठाउँ मिलाइन्।

रुद्रे आफ्नो बिस्तारामा घुस्रियो।

टुकीको धिपधिपमा एकअर्कालाई हेर्ने धोको मेटिएन। नन्दा रुद्रेको छेउमा गएर बसिन्। रुद्रेले नन्दालाई आफूतिर तानेर च्याप्प हातले बेर्‍यो। संयोग हुनसक्छ हावाले टुकी झ्याप्प निभायो। अब अँगालो झन् कसिलो भएर एकै गाँठो पर्‍यो।

राति एक बजेको हुँदो हो। ढोकामा ढक्ढक भएर आवाज आयो। रुद्रे र नन्दाको मुटु चिसो भयो। हत्तपत्त दुवै सम्हालिए।

'नन्दा भाउजू! ए नन्दा भाउजू!' बाहिरबाट ढक्ढकसँगै आवाज पनि आयो।

के गर्ने के नगर्ने, नन्दा आत्तिइन्। यत्तिकैमा ढोका ह्वाङ्गै खुल्यो। आग्लो राम्रोसँग लागेको थिएन क्यारे!

दुईतीन जना ठिटाहरू हुरुरु भित्र बसे। उनीहरूसँग टर्च रहेछ, झलल सबैतिर देखाए। रुद्रेलाई देखेपछि केटाहरू एक–अर्कालाई हेराहेर गर्दै के भन्ने के भएर उभिइरहे।

उनीहरू मध्येमा राजेन्द्र बोल्यो, 'ए, रुद्रे सोल्टी पो?'

रुद्रे केही बोलेन।

केटाहरू गाँजा माग्न आएका रहेछन्। नन्दाले झिकेर दिइन्। केटाहरू चुपचाप निस्के।

एकाबिहानै आँगनमा मान्छेहरूको हल्लाखल्लाले नन्दाका आँखा खुले। उठिन्। मजेत्रोले टाउको बाँधिन् र ढोका खोलिन्।

'एई नकच्चरी! तेरा जगटा छर्छु आज।' नन्दा ढोकैमा उभिएकी थिइन्। कसैले उनलाई केशबाट तानेर आँगनमा हुत्यायो।

आँगनभरि मान्छेहरू भेला भैसकेका थिए। नन्दाको ज्यान थर्रर काँप्यो। सबैजना नन्दालाई खाऊँला झैँ गरेर चिच्याइरहेका थिए।

'मेरो के गल्ती भयो? मलाई यसरी के गर्दै हुनुहुन्छ?' नन्दाले हात जोडिन्।

'के गल्ती गरेँ भनेर अझै हामीलाई मूर्ख बनाउन खोज्छेस्?' मालतीले नन्दाको गालामा एक चड्कन हानिन् र भनिन्, 'मेरो सोझो भाइलाई फकाएर फसाउदैछेस्? यसको के ज्ञान छ? अन्जान मूर्ख छ। तेरो बैँस फुल्यो?  मेरै भाइ देखिस् हैन?'

नन्दाको होसहवास उड्यो। शिर उठाएर कसैलाई हेर्न सकिनन्। कपाल अनुहारभरि फुकेको परालझैं छरिएको थियो।

रुद्रेले यो सब देखिरहेको थियो तर ऊ केही बोल्न सकिरहेको थिएन।

त्यहाँ धेरैखाले कुराहरू सुनिँदै गए—

'यसले गाउँ बिगार्ने भई।'

'पोइ छैन। दुनियाँलाई ओछ्यानमा बोलाएर गाउँकै इज्जत फ्याँक्ने भई।'

'यसले त हाम्रै लोग्नेहरूलाई नबिगार्ली भन्ने भर छैन।'

'राँडीको न इज्जत छ न अरूको इज्जतको नै ख्याल गर्छे।'

यी कुराहरू सुन्न नसकेर नन्दा आफ्ना दुवै कान थुन्ने कोसिस गरिरहेकी थिइन्।

'यसलाई त गाउँबाट लखेट्नुपर्छ।' कसैले यस्तो पनि भनिरहेको थियो।

यहाँ धेरैबेरसम्म नन्दालाई विभिन्न शब्दहरूले अचानो जस्तै छियाछिया पारिरहे। उनी अनुत्तरित थिइन्। उनीमाथि सुन्नै नसकिने आरोपहरू खनिए। अनेकौँ प्रश्नहरूले उनी घेरिइन्। तर रुद्रेलाई कसैले एक शब्द सोधेन।

यदि सोधिएको भए रुद्रे भन्दो हो, 'म नन्दा भाउजूलाई साह्रै माया गर्छु।'

दिनभरि नन्दाको मुटु भत्भत भएर पोल्यो, मानौँ त्यहाँ घाम खसेको छ।

साँझ सुँगुरलाई चारो हालेपछि त्यही खोरनिर बसेर नन्दा साह्रै चित्त दुकाएर रोइन्। उनका आँसु पुछ्ने त यहाँ कोही थिएन तर सुन्ने सुँगुर थियो। नन्दाको लागि यो दुनियाँमा को थियो र? यही कुखुरा, सुँगुर, गाई, भैँसी यिनै त थिए जसले उनलाई आफू हुनुको आभास दिलाउँथे।

बिहान नन्दामाथि गाउँले मिलेर जे गरे त्यस कुरामा उनलाई त्यति धेरै पीर थिएन। पीर त उनलाई उनको पेटमा हुर्कँदैगरेको बच्चाको थियो।

उनी रुद्रेलाई भन्ने वाला थिइन्, 'रुद्रे, मेरो पेटमा बच्चा बसेको छ। त्यो तिमीले राखेका हौ। अब हामी गाउँ छोडेर मधेस जानुपर्छ। दुःख गरेरै भए पनि यसलाई हुर्काउनुपर्छ, बढाउनुपर्छ।' 

तर उसले भन्ने मौका नै पाइनन्। समयले हजारौँ मौका दिए पनि एउटा मौका दिने बेला चुक्दो रहेछ। छिनभरमा टुक्राटुक्रा भएर टुटिजाने समय त ऐना पो हो क्यारे!

नन्दाको मनमा यस्तै कुरा खेलिरहे। सायद उनी रातभर निदाउने छैनन्।

चिलिमढुङ्गाको शिरमा चुमेर फैलिएको घामको किरण सबैको घरको दैलोमा पाइला राख्दै थियो। मालती घरधन्दामा व्यस्त जस्तै थिई।

बखते हस्याँङ्फस्याङ गर्दै आइपुग्यो। उसले दैलोमा चप्पल पनि नफुकाली पसेको देखेर मालतीलाई लाग्यो— ऊ केही हतारमा छ।

'मालती छिचिम! नन्दा भाउजू...' उसको घाँटीमा सास अट्कियो। बखतेको आधा कुराले मालतीको मुटुमा चिसो सिरेटो एक मुस्लो भएर छिरे जस्तो भयो।

'नन्दा भाउजू के त?' मालतीको आवाज निकै आत्तिएको थियो।

'नन्दा भाउजू झुन्डिराखेको छ रे!' यति भनिसकेर बखतेले लामो सास तान्यो।

नन्दाको मुटुमा झड्का लाग्यो। हातको कुचो फ्यात्त फ्याँकेर उनी नन्दाको घरतर्फ दौडिइन्।

सँगुरको खोरपछाडि डोरीको सहाराले हावाको चालसँगै हल्लिरहेको नन्दाको लास देखेर सबै निःशब्द थिए।

एक, दुई गर्दै त्यहाँ गाउँलेहरूको भिड खडा भइरहेको थियो।

हिजो नन्दाको मुख ताकेर थुक्नेहरू जिब्रो टोकिरहेका थिए। हिजो नन्दाका कान छेड्नेगरी वचन बोल्नेहरू च्वच्व गर्दैथिए। मालतीका आँखामा आँसु भरिएर आए। कसैलाई थाहा थिएन त्यो आँसु कसको लागि र के कारणले झरेको थियो।

प्रायः सबै चुप थिए। सायद सबै आफूलाई दोषी ठानेर आत्माग्लानि गरिरहेका हुँदाहुन्।

सायद हावालाई थाहा छ— आज एउटा सच्चा प्रेमको लास बोकेर उड्नु परेको छ। डोरी सायद जान्दो हो ऊ दुईवटा मुटु बोकेर झुन्डिएको छ। तर मान्छे हौँ भनेर बौद्धिकताको अहम् बोकेर उभिएका ती सबैलाई थाहा छैन यहाँ के बितेको छ। उनीहरूको लागि त मात्र एउटा शरीर बितेको छ।

एउटा ज्यान त्यसरी झुन्डिएको छ। न धरतीको हो, न ऊ आकाशको। हिजो पनि त ऊ कसको हुन सक्यो र? जसको हुनसक्थ्यो उसको हुन पनि त दिएनन्।

सुख्खा खडेरीले आकाश फुस्रो भएको थियो। चैत–वैशाखको टन्टलापुर घाममा गोठका बस्तुहरू कराइरहेका थिए।

देख्नेहरूले यो कुरा मालतीलाई सुनाए। मालती गोठमा पुगिन्। गोठ सधैँजस्तो थिएन। बस्तुहरू तिर्खाले टाउको हल्लाइरहेका, किलोबाट फुत्किन बल गरिरहेका थिए।

'रुद्रे, एई रुद्रे!' मालती कराइन्। पारि पहरो थर्किएर उसको आफ्नै आवाज मात्र फिर्ता आयो।

मालतीको मुटु ढक्क भए फुल्यो। उनी हैरान बनेर बारीको ढिलमा थचक्क बसिन् अनि सोचिन् अनेक डरलाग्दा सम्भावित घटनाहरू।

एक हप्तासम्म रुद्रेलाई गाउँलेहरू मिलेर भीरपाखा, वनजङ्गल, खोला झरना र सम्भव भएका सबै ठाउँमा खोजे तर ऊ फेला परेन।

एउटा झोला र केही कपडा अनि गोठको कुकुर पनि त्यसदिनदेखि गायब भएको घटनाले रुद्रे कतै टाढा हिँडेको हुन सक्ने अड्कल सबैको थियो।

(खोटाङका प्रयास दुमी राईको ‘प्राञ्जल’ उपन्यास प्रकाशित छ)

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad