गायक तथा अभिनेता प्रकाश सपुत झन्डै एक वर्षपछि नयाँ गीत लिएर आएका छन्।
आइतबार प्रकाशको शब्द, संगीत र स्वरमा ‘कर्तव्य’ (मेरो पनि होइन र यो देश-२) सार्वजनिक भएको हो।
यस गीतमा प्रकाशले देशको विकास र समृद्धिका लागि सरकारसँगै हरेक नागरिकले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने कुरा समेटेका छन्।
‘कर्तव्य’ उनको पाँच वर्षअघि सार्वजनिक भएको चर्चित गीत ‘मेरो पनि होइन र यो देश’ को दोस्रो श्रृंखला हो। पहिलो भागमा उनले सरकार र राजनीतिक नेतृत्वमाथि तिखो प्रहार गरेका थिए।
यस गीतमा भने ‘केही गरम, केही गरम, जे सकिन्छ त्यही गरम, देशको उन्नतिको लागि भावी सन्ततिको लागि’ भन्ने सन्देश दिन खोजिएको छ।
गीतमा गाउँ/गाउँमा शिक्षा र स्वास्थ्य सेवा विस्तार, क्षेत्रीय असमानताको अन्त्य, सुशासन, रोजगारी सिर्जना, विदेश पलायनसहित सुकुमवासीका विषय उठाइएको छ।
गीतको भिडिओको अवधारणा र निर्देशन स्वयं प्रकाश सपुतकै छ। श्यामश्वेत रसाइलीले संगीत संयोजन, ब्याकग्राउन्ड स्कोर र मिक्सिङ गरेका छन्। गलबन्दी प्रोडक्सन प्रालिले निर्माण गरेको गीतको प्रोजेक्ट हेड दिल शिरीष हुन्।
रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडिओमा प्रकाश स्वयं फिचर्ड छन्। भिडिओमा हरि हुमागाईं र सुनिल बिक लगायतको छायांकन छ भने सम्पादन प्रवीण भट्टले गरेका हुन्।
यसअघि प्रकाश सपुतले ११ महिनाअघि ‘नाइँ भनेसी नाइँ’ ल्याएका थिए।
Shares

प्रतिक्रिया