जसरी यो पृथ्वीको
सबैभन्दा अग्लो चुचुरोमा उभिएर
जसरी चन्द्रमाको भुइँ टेकेर
कोही एक मामुली मान्छे, सर्वोत्कृष्ट मानव कहलायो
भन न राजेन्द्र
ठिक त्यसैगरी,
तिम्रा बंगारामा कतिपटक बर्सिए मुक्का?
कुन डायरीमा टिपेका छौ हिसाब?
शिव श्रेष्ठ, विराज र निखिल एक्सन स्टार बन्न
करिस्माको अनुहार चम्काउन
कतिपटक भत्काएका छौ तिमीले आफ्नो अनुहार?
बाटोमा हिँड्दै गर्दा
कति आमाहरूले छेके बाटो तिम्रो?
कति युवतीले थुके तिमीलाई अपराधी भनेर?
कति केटाकेटी फर्की नहेरी भागे
तिम्रो अनुहारमा आँखा परेर!
एक सामान्य मान्छेलाई
लाखौँको आदर्श पात्र बनाउन
कतिपटक बलि चढायौ तिमीले आफ्नो ढाडको
र गरिरह्यौ मृत्युको रिहर्सल!
अरूलाई देउता बनाउने ए अभागी मूर्तिकार
क–कसले सुन्यो तिम्रो भोकको सुस्केरा
क–कसले देख्यो तिम्रो छाती रोएको?
फुटाएर टाउकोभरि काँचको बोतल
हावामा उड्दै भाँचेर हड्डीहरू
लगाएर आगो शरीरमा
पोखेर रगत
ढिस्सुम...ढिस्सुम
जलाएर आफ्नै जवानीको नेगेटिभ
सबैलाई केही न केही बनायौ राजेन्द्र
तर तिमी आफैँ चाहिँ के भयौ?
तिमीलाई अब सिनेमाको हिरोबाट खतरा छैन
तिमीलाई खतरा छ तिमी आफैँबाट
तिम्रो इतिहास वर्तमान थियो
वर्तमान इतिहास भैसकेको छ
तिमीलाई खतरा छ लेन्सहरूबाट
अब हरकोही तिमीलाई बेच्न चाहन्छ युट्युबका पर्दाहरूमा ।
युगनायकहरूको छायाबाट बाहिर निस्किएर
ऐना हेर त राजेन्द्र
यहाँ कोही छैन महानायक
न छ कुनै राँगा ढाल्ने सुरवीर
हेर त
त्यो राँगा अझै ढलेकै छ कि
उठेर हिँड्यो अन्त कतै?
जसरी तिमी ढल्दै, मर्दै, उठिरह्यौ
फेरि अरू कसैको अर्को एक मुक्का खानका लागि।
तिमीले संसारलाई सिकायौ द्वन्द्व
तर सिक्यौ कि सिकेनौ
आफ्नो एक्लोपन ढाल्ने एक्सन तिमीले?
एउटा डिस्काउन्ट सुझाव छ तिमीलाई
त्यो भिलेनको हाँसो हाँस्दाहाँस्दा
तिम्रो सक्कली अनुहार हराइसक्यो
अब रोऊ राजेन्द्र
भरपूर रोऊ
फुकाल देब्रे छातीमा अल्झिएको गाँठो
ती सुनका औँठीहरूले थिचिएका औँलाले आँसु पुछ
यो टेकमा रगत नक्कली भए पनि
आँसु सक्कली हुनुपर्छ।
कट....
भिडिओ:
Shares

प्रतिक्रिया