साहित्य


लघुकथा: आफ्नो गीत

लघुकथा: आफ्नो गीत

ईश्वर पोखरेल
बैशाख १०, २०८३ बिहिबार १६:४५, काठमाडौँ

प्रेम वियोगमा विक्षिप्त थियो- गीतकार। हरबखत उसको छातिभित्र ढुंगाजस्तो केही अड्किएको थियो। त्यही भारीलाई आज कागजमा खन्याउँदा गीत बन्यो।

गीत त उसले धेरै लेख्यो। सिनेमाका लागि लेख्यो; साथीहरूको करकापमा पनि लेख्यो। हर्षले उफ्रिएर आफ्नै लागि पनि लेख्यो। आफ्नो दुःखको गीत भने लेखेको थिएन; आज लेख्यो।

लेखी सकेपछि गुन्गुनाउन खोज्यो। स्वर घाँटीमै अल्झियो। बीचैमा छाडिदियो।

एकपटक मनमनै पढ्यो। फेरि पढ्यो।

लौ, आँखा पो भरिएर आयो।

यो गीत पनि उसले साथीहरूलाई सुनायो। सबैले 'वाह! वाह!' भने।

शब्द र भावको सजीवताको सबैले तारिफ गरे। अनि सोधे, 'कुन सिनेमाका लागि हो? कुन साथीका लागि लेखिदिइस्?'

'वाह' भन्ने साथीहरूले गीतको शब्द त सुने; गीतकारको छातीको चित्कार सुनेनन्।

साथीहरूका माझ 'यस गीतमा मेरो आफ्नै छातीको भक्कानो छ' भन्न पनि सक्दैनथ्यो- गीतकार।

त्यसपछि उसले कलम बन्द गर्‍यो; दराजमा थन्क्यायो । अनि, त्यो गीत पनि।

त्यसपछि उसको कुनै नयाँ गीत बजारमा आएको छैन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad