प्रेम वियोगमा विक्षिप्त थियो- गीतकार। हरबखत उसको छातिभित्र ढुंगाजस्तो केही अड्किएको थियो। त्यही भारीलाई आज कागजमा खन्याउँदा गीत बन्यो।
गीत त उसले धेरै लेख्यो। सिनेमाका लागि लेख्यो; साथीहरूको करकापमा पनि लेख्यो। हर्षले उफ्रिएर आफ्नै लागि पनि लेख्यो। आफ्नो दुःखको गीत भने लेखेको थिएन; आज लेख्यो।
लेखी सकेपछि गुन्गुनाउन खोज्यो। स्वर घाँटीमै अल्झियो। बीचैमा छाडिदियो।
एकपटक मनमनै पढ्यो। फेरि पढ्यो।
लौ, आँखा पो भरिएर आयो।
यो गीत पनि उसले साथीहरूलाई सुनायो। सबैले 'वाह! वाह!' भने।
शब्द र भावको सजीवताको सबैले तारिफ गरे। अनि सोधे, 'कुन सिनेमाका लागि हो? कुन साथीका लागि लेखिदिइस्?'
'वाह' भन्ने साथीहरूले गीतको शब्द त सुने; गीतकारको छातीको चित्कार सुनेनन्।
साथीहरूका माझ 'यस गीतमा मेरो आफ्नै छातीको भक्कानो छ' भन्न पनि सक्दैनथ्यो- गीतकार।
त्यसपछि उसले कलम बन्द गर्यो; दराजमा थन्क्यायो । अनि, त्यो गीत पनि।
त्यसपछि उसको कुनै नयाँ गीत बजारमा आएको छैन ।
Shares

प्रतिक्रिया