साहित्य


प्रकाशचन्द्र खतिवडाका तीन कविता

प्रकाशचन्द्र खतिवडाका तीन कविता

प्रकाशचन्द्र खतिवडा
जेठ २६, २०८३ मंगलबार १५:४६, दुलारी, मोरङ

१. भविष्यको गीत 
घरहरू ढल्ने छन् 
भूकम्प आएपछि 
मारिने छन् मान्छेहरू 
सुनिने छ चित्कार 
घिसार्ने छन् बीभत्स शरीर 
सुरक्षित ओत खोज्ने छ मान्छे। 

आकाश रुने छ 
बादलको घुम्टो ओढी 
नदीहरू छचल्किने छन् 
बग्ने छन विपरीत बाटो 
धरती भासिने छ 
चिरिनेछ धाँजा 
रुने छन् न्याउली 
बग्ने छ आँसु। 

मान्छेहरू उदास हुने छन् 
डुब्ने छन् शोकमा
खोसिने छ हाँसो 
मृत्युले बाजी मारेपछि। 

मान्छे पराजित छ 
अनि लाचार पनि 
मृत्युले परेड खेल्छ 
टेक्छ छाती 
खोस्छ जीवन 
धुलिसात बनाइदिन्छ 
मान्छेको भविष्यको गीत। 


२. प्रशान्त
उठेर ज्वारभाटा 
समुद्र शान्त बनेको छ 
रोएर प्रशान्त 
जीवनको अर्थ खोज्ने भएको छ 
गतिहीन घोडा जस्तो 
सुस्त यात्रा गरेपछि 
प्रशान्त गन्तव्य पुग्न नसकेको हो। 

उसको वर्तमान 
उसैलाई गिज्याउँछ 
र उसलाई लखेट्छ 
उसको भूत वियोगान्त थियो 
भूत त्रास बनेर आउँछ 
उसलाई परिस्थितिले डण्डा हानेपछि 
उसको भविष्य अन्योलग्रस्त भएको छ 
अन्यौल चिर्नै नसकी 
प्रशान्त जीवनको भूमरीमा फसेको छ। 

मेरो अभ्यर्थना छ 
प्रशान्तको जिजीविषा कोट्याएर 
मृत्युको पाठ पढाउन सकिँदैन 
उसको बाँच्ने शैली फरक भयो भन्दैमा 
उसलाई नैतिकहीन भन्न मिल्दैन 
प्रशान्त अवसर पर्खी बसेको छ 
उसको जीवन जुरुक्कै उठ्नेछ 
उसले नयाँ यात्रा थालेपछि। 

३. दमित आवाज
जीवनको च्याँखे थापेर 
मान्छेहरू पासा पल्टाई
जीवनको हिसाब–किताब खोजिरहेछन्।

पल्टँदैन पासा 
गुम्छ च्याँखे 
तहसनहस हुन्छ हिसाबकिताब 
होसप्रसादहरू होस गुमाउँछन् 
जीवनको पासो विपरीत पल्टे पछि । 

मान्छेहरू तनावमा छन् 
जिन्दगी लिलाममा राखिएको छ 
धनाढ्यहरू जिन्दगी किन्छन् 
निमुखाहरू जिन्दगी बेच्छन् 
किनबेचको क्रम–उपक्रम चालिरहेकै छ
मानवता रुँदा पनि। 

मान्छेहरू ब्युँझने छन् आजभोलि 
हातमा मसाल बोकी 
लेखिनेछन् परिवर्तनका नारा 
उठाइने छन् क्रान्तिका झण्डा
तोडिने छन् फलामका ढोका 
पसिने छ दरबारभित्र 
वर्षौंदेखि गुम्सिएको
दमित आवाज विस्फोटित पार्दै। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad