विस्तार भइरहेको सूर्यविनायक–धुलिखेल सडकमा बजेट अभाव भएको छ।
आयोजनाका लागि चालू आर्थिक वर्ष २०८२/८३ का लागि ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा ७ महिनामै सबै खर्च भएको हो।
उक्त खण्ड विस्तार गरिरहेको आयोजनाले उपलब्ध रकम सकिएको जनाएको छ।
आयोजनाका एक अधिकारीका अनुसार चालू आवभित्रै कालोपत्रे सक्ने योजनाअनुसार करिब ३ अर्ब रुपैयाँ बजेट माग गरिएको थियो। तर कम विनियोजन हुँदा बीचमै पैसाको अभाव भएको हो।
‘मागको तुलनामा एक तिहाइ मात्र बजेट उपलब्ध भयो। बजेट कम हुँदा आधा आर्थिक वर्षमै विनियोजित रकम खर्च भयो। निर्माण व्यवसायीले बिल पेस गर्दा पनि भुक्तानी दिन सकिरहेका छैनौँ। भुक्तानी रोकिँदा काममा कडाइ गर्न पनि सकिएको छैन’, ती अधिकारीले नेपालखबरसँग भने।
नेपालमा विशेष गरी चालू आवको पहिलो तीन महिना वर्षात् र चाडपर्वका कारण सडक विस्तारको काम सुस्त गतिमा हुने गर्छ। असोज–कात्तिकपछि भने द्रुतगतिमा काम हुने गर्छ।
‘अहिले काम गर्ने सिजन हो। काम सक्नेबित्तिकै रकम दिँदा निर्माण व्यवसायीले राम्रोसँग काम गर्न सक्छन्। बिल भुक्तानी रोकिँदा विस्तारको काम प्रभावित भइरहेको छ’, उनले भने।
बिलअनुसारको भुक्तानी नपाउँदा निर्माण व्यवसायीसँग ‘क्यास फ्लो (नगद प्रवाह)को समस्या आउन सक्छ। जसले गर्दा आयोजनालाई लक्ष्यअनुसारको प्रगति हासिल गर्न समस्या पर्ने ती अधिकारीको भनाइ छ। कालोपत्रे चालू आवभित्रमै सम्पन्न गर्ने आयोजनाले लक्ष्य लिएको थियो।
विभागसँग मागियो थप ६० करोड
विनियोजित बजेट खर्च भएलगत्तै थप बजेट निकासा गर्न सडक विभागलाई पत्राचार गरिएको आयोजनाका कायममुकायम प्रमुख विजयकुमार महतोले जानकारी दिए।
आयोजनाले फागुनको पहिलो साता थप ६० करोड रुपैयाँ बजेट उपलब्ध गराउन विभागसँग माग गरेको छ। बजेट भने उपलब्ध भइसकेको छैन।
‘बजेटकै कारण काम रोकिने अवस्था छैन। काम गर्दै जानू, बजेट उपलब्ध हुन्छ भन्ने आश्वासन विभागबाट पाएका छौँ’, महतोले भने।
सोहीअनुसार आयोजनाले विस्तारको कार्य अघि बढाइरहेको उनले बताए।
सडक विभागका प्रवक्ता श्याम खड्काले आयोजनाका लागि बजेट उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
‘अन्य आयोजनामा खर्च नभएको रकम रकमान्तर गरेर सूर्यविनायक–धुलिखेल आयोजनालाई उपलब्ध गराउनुपर्ने हुन्छ। स्रोत पहिचानमा विभाग लागेको छ। आयोजनालाई आवश्यकताअनुसारको बजेट उपलब्ध गराउनेछौँ’, खड्काले भने, ‘बजेटकै कारण आयोजना प्रभावित हुने अवस्था आउँदैन।’
दुई लेनको साँघुरो सूर्यविनायक–धुलिखेल सडक १५.८ किलोमिटर खण्डलाई ६ लेनमा विस्तार गर्ने गरी २०७९ मा ठेक्का लगाइएको थियो।
यसलाई सूर्यविनायक–साँगा ७.५ किलोमिटर र साँगा–धुलिखेल ८.३ किलोमिटर गरी दुई खण्डमा विभाजन गरी विस्तार प्रक्रिया अघि बढाइएको छ। साथै यस खण्डमा पर्ने तीनवटा पुललाई अर्को प्याकेजअन्तर्गत छुट्टै ठेक्का लगाइएको छ।
सूर्यविनायक–साँगा ७.५ किलोमिटर खण्ड आशिष–कुमार श्रेष्ठ–बन्धक भगवती जेभीले ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा २०७९ पुस २४ गते ठेक्का पाएको हो। विस्तार गर्नुपर्ने म्याद २०८२ पुस २७ गतेसम्म थियो।
सूर्यविनायक–साँगा खण्डको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत रहेको आयोजनाले जानकारी दिएको छ। यहाँ कालोपत्रेको काम सुरु गर्ने क्रममा छ। निर्धारित समयमा काम सम्पन्न हुँदा यस खण्डको म्याद २०८३ फागुन २९ गतेसम्म थप गरिएको छ।
साँगा–धुलिखेल ८.३ किलोमिटर खण्ड लामा कन्स्ट्रक्सनले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा २०७९ मंसिर २७ गते ठेक्का पाएको हो।
विस्तार गर्नुपर्ने म्याद २०८२ मंसिर २७ गतेसम्म थियो। यस खण्डको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत छ। यस खण्डमा हालसम्म साढे २ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ। यसको म्याद २०८३ मंसिर २३ गतेसम्म थप गरिएको छ।
यस सडक खण्डमा पर्ने तीनवटा पुलको ठेक्का हिमदुङ एन्ड थोकर–रामजानकी जेभीले ५७ करोड ५० लाख रुपैयाँमा २०७९ चैत ६ गते पाएको थियो। सम्झौताअनुसार २०८२ असोज ५ गतेसम्म पुल निर्माण गर्नुपर्ने थियो। ‘डिजाइन एन्ड बिल्ड’ मोडलमा निर्माण गर्न खोजिएको पुलको डिजाइन स्वीकृतिमा समय लाग्दा म्याद २०८३ मंसिर ५ गतेसम्म थप गरिएको छ।
तीनमध्ये एक पुल निर्माणको क्रममा छ भने दुईको निर्माण सुरु हुनसकेको छैन। महादेव खोलामा पुलको काम भइरहेको छ। पुण्यमाता र जगातीमा भने पुलको निर्माण कार्य सुरु भइसकेको छैन। यी दुई पुल निर्माणको प्रक्रियामा छन्। समग्रमा पुलको भौतिक प्रगति ६ प्रतिशत रहेको आयोजनाले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया