कारोबार


झन् कडाइको डरले बजेट भाषणअघि नै आयात हुँदै २ अर्बको मदिरा

झन् कडाइको डरले बजेट भाषणअघि नै आयात हुँदै २ अर्बको मदिरा

दीपक भट्ट
बैशाख १२, २०७९ सोमबार १८:०, काठमाडौँ

चालू आर्थिक वर्षको सुरुदेखि नै शोधनान्तर घाटाको अन्तर बढिरहँदा सरकार विलासी वस्तुको आयात नियन्त्रणमा लागेको छ। 

अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकले आपसी सल्लाहमा विलासी वस्तुको  नियन्त्रणको लागि प्रतीतपत्रमा शतप्रतिशत मार्जिनदेखि प्रतीतपत्र नै नखोल्लेसम्मको निर्णयहरु गरेका छन्। 

चालू आर्थिक वर्षदेखि नै चौतर्फी रुपमा विलासी वस्तु रोक्नुपर्ने बहस सरोकारवालाहरुले समेत गर्दै आएका छन्। यसले व्यवसायीहरु भने सशंकित बनेको देखिएको छ। 

आगामी आर्थिक वर्षमा समेत सरकारले आयातमा थप कडाइ नीतिलाई अघि सार्ने व्यवसायीको आकलन छ। सोही कारण उनीहरुले ठूलो परिमाणमा विदेशी मदिराको आयात अहिले नै गर्नलागेका छन्। 

व्यापारीहरुले बजेट भाषणअघि नै आयात गर्न बैंक तथा वित्तीय संस्थाहरुबाट प्रतीतपत्र खोलिसकेको पाइएको हो। यसअनुसार अहिले २ अर्ब रुपैयाँ बराबरको मदिरा आयात भइरहेको देखिएको छ। प्रतीतपत्रमा उल्लेख भएअनुसार ‘भेरियस टाइप अफ अल्कोहल’ र ‘वाइन’ नामबाट धेरै आयात हुनलागेका हुन्। 

कसले ल्याउँदै छ मदिरा?   
इटली, जापान, आयरल्याड, फ्रान्स, अष्ट्रेलियालगायतका देशहरुबाट यस्ता वस्तुको आयात प्रक्रियामा गएको छ। त्यसको प्रतीतपत्र समेत खुलिसकेको छ।

विशेषगरी विशाल ग्रुप, सारडा ग्रुप र खेतान समूहले विदेशी मदिरा आयात गर्न चाहेको देखिएको छ। त्यस्तै आशिष प्रधानको इभो बेभरेज प्रालिले पनि ठूलो मात्रामा मदिरा आयात गर्न चाहेको हो। 

सबै कम्पनीको गरेर २ अर्ब रुपैयाँको मदिरा आयात भइरहेको छ।

चैत २१ गते नेपाल राष्ट्र बैंकले विलासी वस्तुको प्रतीत पत्र नखोल्न बैंकका सीईओहरुलाई निर्देशन दिएको थियो।  त्यसयता यी वस्तुको प्रतीतपत्र खोल्न बन्द भइसकेको छ। 

त्योअघि नै प्रतीतपत्र खोलिएको विवरणअनुसार २ अर्ब रुपैयाँबराबरको मदिरा आयात हुनलागेको हो।

वस्तु आयात गर्ने एक व्यवसायी भन्छन्, ‘वास्तवमा मदिरा आयात हरेक वर्ष यही समयमा बढी गर्ने गरेका छौँ। त्यसको कारण सरकारले हरेक वर्ष लिने निरुत्साहनको नीति हो। हरेक वर्ष आर्थिक विधेयकमा भन्सार दर बढाउने गर्छ। त्योभन्दा पहिले ल्याउने कोशिष हुन्छ।’

सरकारले हरेक वर्ष मदिरा, सुन, सुर्तीजन्य वस्तुको भन्सार दरमा वृद्धि गर्दै आएको छ। बजेट आगामी आर्थिक वर्षको लागि भए पनि भन्सार दरको नयाँ नीति भने बजेट भाषण भएकै दिनदेखि लागू हुन्छ। सोही कारण व्यापारीहरुले बजेट भाषण हुनुअघि नै मदिरा आयातको लागि लागिपरेका छन्। 

नेपाल आयात गरी स्टक समेत राखेर बढेको मूल्यमा बिक्रीवितरण गर्ने उनीहरुको दाउ देखिएको छ। चालू आर्थिक वर्षमा वैदेशिक मुद्रा सञ्चिति घटिरहेकोले सरकारले मदिरा लगायत  विलासी वस्तुको आयात रोक्ने निश्चितजस्तै बनेको छ। 

चालू आर्थिक वर्षमा वैदेशिक मुद्रामा करिब २ खर्ब २८ अर्ब रुपैयाँ वैदेशिक मुद्रा सञ्चिति घटिसकेको छ। २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ। 

फागुन महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्रै पुग्ने देखिएको राष्ट्र बैंकले जनाएको छ। 

यसरी विदेशी मुद्रा सकिरहेकेको अवस्थामा सरकारले नभई नहुने विदेशी वस्तु भए मात्र आयात गर्न र विलासी प्रकारका वस्तुलाई निरुत्साहित गरिरहेको छ। सोही कारण मदिराको भन्सार शुल्क जसरी पनि बढ्ने आकलन व्यवसायीको छ। 

कति परिमाणमा हुँदै छ मदिरा आयात? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .