ad ad

कारोबार


फोनलोनबाट क्षणमै सर्वसाधारणको समस्या समाधान गरिरहेका यी तीन बैंक

फोनलोनबाट क्षणमै सर्वसाधारणको समस्या समाधान गरिरहेका यी तीन बैंक

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १९:२९, काठमाडौँ

कैलालीका मोहन खड्का उच्च शिक्षाको लागि काठमाडौं आएको करिब ७ महिना भयो। हाल उनी शंकरदेव क्याम्पसमा बीबीएस अध्ययनरत छन्।

उनको पढाइ र कोठाभाडाको लागि घरबाट सधैँजसो मासिक खर्च आउँछ। तर यसपटक भने फागुन १५ भइसक्दा पनि पैसा आएन। उनले घरबाट पनि पैसा आउन ढिलो हुने खबर पाए। 

१० गतेभित्र कोठाभाडा तिरिसक्नुपर्ने उनलाई घरभेटीलाई समयमै पैसा कसरी तिर्ने भन्ने चिन्ता भयो। एक जना गाउँकै दाइसँग १० हजार सापटी मागे। तर उनले पनि सापटी दिन नसक्ने जवाफ दिँदै नबिल बैंकबाट फोन लोन लिन सुझाए। 

खड्कालाई ती दाइको सुझाव ठीक लाग्यो। फोनलोन कसरी लिने, के–के डकुमेन्ट चाहिने हो भनेर सुरुमा त उनी चिन्तित भए। तर समाचारहरु पढेपछि भने नबिलले सहजै फोन लिने दिने गरेको पाए। 

त्यसपछि नबिलको मोबाइल एपमा गएर फोन लोनको प्रक्रिया अगाडि बढाए। केही समयमै नबिल बैंकले इमेलमा लिंक पठायो। लिंकमा गएर ‘कनफर्म’ गरे। त्योसँगै उनले १५ हजारसम्म लोन लिन पाउने भए। 

‘कर्जा एक महिनामा तिर्दा पनि हुने रहेछ’, खड्का भन्छन्, ‘एक वर्षसम्म पनि तिर्न मिल्ने रहेछ। तर मैले एक महिनाको लागि मात्र १५ हजार रुपैयाँ कर्जा लिएँ।’ 

केही दिनमा घरबाट पैसा आएपछि कर्जा तिरेको उनले बताए। समस्या परेको बेलामा निकाल्न मिल्ने भएकाले पैसा हुनेबित्तिकै तिर्नुपर्ने उनी बताउँछन्। 
***
ओखलढुंगाका राकेश लामिछाने कुरियरको काम गर्छन्। उनको तलब पनि राम्रो छ। उनी घरको जेठो छोरा हुँदा घरको जिम्मेवारी पनि आफ्नै काँधमा रहेको सुनाउँछन्। 

‘कमाएको पैसाले खान लाउन र घर खर्च चलाउनुपर्छ’, उनी भन्छन्, ‘घरमा बुवा बिरामी हुनुहुन्छ। घरको जेठो छोरा भएपछि अलिकति घरको पनि जिम्मेवारी हुने रहेछ।’ 

फागुन ११ गते उनलाई घरबाट बुबा बिरामी रहेको र चाँडै घर आउन भनी खबर आयो। अन्य आम्दानीको स्रोत नहुँदा काम छोडेर घर जानुभन्दा बुबाको उपचारको लागि काठमाडौं नै बोलाउने निधो गरे। 

लामिछाने भन्छन्, ‘बुबाको नशाको समस्या छ। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरेँ। डाक्टरले नशा अपरेसन गर्नुपर्ने त्यसका लागि पैसा जम्मा गर्नु भने। मसँग पैसा पुगेन। कसैबाट सहयोग पनि मिलेन।’

उनले पनि फोनलोनबारे समाचारमा पढेका थिए। उनको खाता रहेको एनआईसी एसिया बैंकले पनि केही महिनाअघि मात्रै फोन लोन सेवा सुरु गरेको थियो। 

तर उनलाई फोन लोन कति पाइन्छ भन्ने थाहा थिएन। 

‘कतैबाट पैसा नपाएपछि मेरो लागि कुनै विकल्प नै रहेन। मोबाइल एपबाट फोन लोन प्रक्रिया अगाडि बढाएँ’, लामिछानेले भने, ‘४० हजार रुपैयाँ फोन लोन पाएँ। बुबा बिरामी भएको पीडा बिर्सेर मन दंग भयो।’ 

लोन पनि एक वर्षसम्म तिरे हुने थाहा पाएको उनको भनाइ छ। 

‘दुःखमा सहयोग गर्ने नै आफ्नो हो। मेरो लागि आफ्नो र आफन्त एनआईसी एशिया बैंक नै बन्यो’, गर्जो टारेका उनले खुसी हुँदै भने। 

बैंकहरुले सुरु गरेको सहज फोन कर्जाले उनीहरुलाई मात्र होइन अन्य धेरैको तत्कालको खाँचो पूर्ति गरिदिएको छ। यस्तो कर्जा लिने ग्राहक समेत बढिरहेको बैंकहरु बताउँछन्। 

नबिल बैंकबाट ६ हजार बढीले लिए फोन लोन 
नबिल बैंकले ‘फोन लोन’मार्फत न्यूनतम १० हजारदेखि अधिकतम २ लाखसम्म कर्जा दिने गरेको बैंकका डेपुटी सीईओ विनयकुमार रेग्मी बताउँछन्। 

‘नबिल बैंकले दुई किसिमको ‘फोन लोन’ सेवा सुरु गरेको छ’, रेग्मीले भने, ‘एउटा नबिल बैंकको खातावालले पाउँछन्, अर्को नबिल बैंकको क्यूआर लिएका ग्राहक (व्यवसायी) इन्डिभिजुअलले यस्तो कर्जा पाउँछन्।’ 

उनका अनुसार पछिल्लो ६ महिनामा खातावाल (ग्राहक)ले गरेको कारोबारको आधारमा ‘फोन लोन’ सुविधा प्राप्त गर्न सक्छन्।

‘बचतखाताहरुको हकमा पेयबल अर्थात् तलबी खाता नै हुनुपर्छ भन्ने छैन’, उनले भने, ‘नबिल बैंकमा खाता भई कारोबार गरिरहेका ग्राहक फोन लोनको लागि योग्य हुन्छन्।’

ग्राहकको कारोबारको आधारमा ‘फोन लोन’ सीमा सिस्टमले निर्धारण गर्ने रेग्मीको भनाइ छ। 

‘फोन लोनको लागि ग्राहकले आफ्नै मोबाइल एपबाट अप्लाई गर्न सक्छन्’, उनले भने, ‘कुनै व्यक्तिले कति लोन दिने तय गर्ने होइन। ग्राहकको कारोबारको आधारमा सिस्टमले नै लोन कति दिने निर्धारण गर्छ।’

तर, केही सीमा पुगेका ग्राहक मात्र कर्जाको लागि इलिजिबल (योग्य) हुने रेग्मी बताउँछन्। 

‘खातावाल ग्राहकले पछिल्लो ६ महिनामा १० हजारसम्म जम्मा भएको हुनुपर्ने व्यवस्था छ’, उनले थपे, ‘चाहे तलब होस् या जम्मा गरेको पैसा, हरेक महिना १० हजार रुपैयाँ कारोबार भएको भए न्यूनतम १० हजारदेखि २ लाखसम्म ‘फोन लोन’ लिन पाउँछन्।’ 

उनका अनुसार हालसम्म ६ हजार बढी ग्राहकले फोन लोन लिएका छन् । 

नबिल बैंकको क्युआर लिएका (प्रोपाइटर) व्यवसायीले समेत फोन लोन लिन पाउने व्यवस्था रहेको रेग्मीले बताए। 

उनका अनुसार नबिल बैंकको क्युआर लिएका (प्रोपाइटर) व्यवसायीले समेत फोन लोन लिन महिनामा १० हजार रुपैयाँ –हरेक हप्तामा एउटा कारोबार गरेर वा एक महिनामा १० हजार जम्मा भएको छ भने ५०० रुपैयाँदेखि २ लाखसम्मको कर्जा लिन पाइने व्यवस्था छ। 

फोन लोनमार्फत लिएको कर्जाको ब्याजदर आधार दरमा ६ प्रतिशत प्रिमियम थपेर दिइने गरेको उनी बताउँछन्। 

उनका अनुसार पुस मसान्तसम्म नबिल बैंकको कर्जाको बेस रेट १०.१० प्रतिशत छ। बैंकले १०.१० प्रतिशत बेस रेटमा ६ प्रतिशत प्रिमियम थपेर बन्ने ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ।

हालसम्म ६ हजार बढी ग्राहकले फोन लोन लिएका छन्। 

नबिल बैंकका ग्राहकले मोबाइल एपबाट कर्जा लिन सक्छन्। कर्जा लिन योग्य ग्राहकले मोबाइल बैंकिङ्ग एपमा लगइन गरी त्यहाँ उल्लिखित नबिल फोन लोनमा दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्छन्।

बैंकले इमेलमा भेरिफिकेसन म्यासेज पठाउँछ। म्यासेजमा लिंक क्लिक गरी ‘सक्सेसफुल’ भए कर्जा लिन योग्य भइन्छ। 

एनआईसीले फोनबाटै दिन्छ २ लाखसम्म कर्जा
त्यस्तै एनआईसी एसिया बैंकले पनि खातावाल(ग्राहक)को लागि फोन लोन सेवा सुरु गरेको छ। 

बैंकका ग्राहकहरूले मोबाइल एपमार्फत विना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रूपमा बैंकका शाखामा उपस्थित नभई अधिकतम २ लाखसम्मको फोन लोन सेवा लिनसक्छन्।  

बैंकका खातावाला (ग्राहक)ले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकहरूले कर्जा सेवा उपभोग गर्न सक्छन्। 

कर्जा लिन योग्य ग्राहकले मोबाइल बैंकिङ्ग एपमा लगइन गरी त्यहाँ उल्लिखित एनआईसी एसिया फोनलोनमा दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्छन्।

एनएमबी बैंकले कसलाई दिन्छ फोन लोन? 
एनएमबी बैंकले पनि आफ्ना ग्राहकलाई २ लाखसम्म फोन लोन दिने गरेको छ। 

आफ्नै इन्टरनल सिस्टम क्रिएट गरेर फोन लोन दिने गरेको एनएमबी बैंकका सूचना अधिकारी विष्णु पौडेलले बताए। 

‘अन्य बैंकले गरेको फोन लोन र एनएमबी बैंकले दिने फोन लोन फरक छ’, उनले भने, ‘एफ एन्ड सफ्टले मोबाइल एपबाट फोनबाट कर्जा लिन पाइने मोडल हो। हाम्रो अलि फरक छ। हाम्रो आफ्नै इन्टरनल सिस्टम क्रिएट गरेर फोन लोन दिने गरेका छौँ।’ 

उनका अनुसार हालसम्म एनएमबी बैंकको फोन लोन ३ हजार बढीले लिएका छन्। 

‘एनएमबी बैंकको फोन लोन दुई वर्षको लागि लिन मिल्छ’, उनले भने, ‘बैंकको खातावाला ग्राहकले फोन लोनको प्रक्रिया सुरु गरेपछि इलिजिबल ग्राहकको मोबाइलमा म्यासेज जान्छ। त्यसमा एउटा लिंक हुन्छ त्यसमा क्लिक गर्नेबित्तिकै कतिको क्राइट एरिया सेटिङ भएको हुन्छ सोहीअनुसार म्यासेज जान्छ।’

उनका अनुसार ब्याजदर पनि फिक्स लिने कि एडजस्टेबल लिने ग्राहकले आफैँ चयन गर्न सक्छन्। टम एण्ड कन्डिसन ‘ओके’ गरेको विथ इन वान मिनेट (१ मिनेटभित्र)मा खातामा पैसा आइसक्छ। 

‘एनएमबी बैंकको फोन लोन तलबी खातावालले पाउँछन्’, उनले भने, ‘बैंकमा एकाउन्ट होल्डर अर्थात् तलबी खातामा यो सुविधा प्रवाह गरिरहेका छौँ। हामीसँग लोन भएको ग्राहकलाई पनि यो सुविधा प्रवाह गरिरहेका छौँ।’

साधारण बचतकर्तालाई भने फोन लोनको व्यवस्था नरहेको पौडेलले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .