अन्तर्राष्ट्रिय लजिस्टिक्स क्षेत्रको प्रमुख मानिएको डीएसभीले आफ्नो व्यावसायिक प्रतिस्पर्धी कम्पनी डिबी शेंकरलाई अधिग्रहण गरेको छ।
योसँगै डीएसभी अब विश्वकै अग्रणी लजिस्टिक्स कम्पनी बनेको दाबी गरिएको छ। डीएसभीले डिबी शेंकरको पूर्णस्वामित्व किनेको हो।
नेपालमा डीएसभीको एकमात्र प्रतिनिधि सांग्रिला इन्टरनेशनल फ्रेट प्रालिले दिएको जानकारीअनुसार यस यो निर्णयले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा अझै सहज र सशक्त लजिस्टिक्स सेवा उपलब्ध गराउनेछ।
दुई फरक कम्पनीमार्फत नेपालबाट हुने आयातनिर्यातमा अब एकै कम्पनीबाट झन् प्रभावकारी तवरले छिटो र सुविधाजनक सेवामार्फत लाभ दिने बताइएको छ।
डीएसभीले डिबी शेंकरको स्वामित्व १४.३० अर्ब युरोमा लिएको हो। लामो छलफल र सहकार्यमा १ मे २०२५ देखि दुवै कम्पनीले आधिकारिक रूपमा एउटै नाममा काम गर्न लागेका हुन्। यो निर्णयले विश्वव्यापी लजिस्टिक्स सञ्जालमा ठूलो प्रभाव पार्ने ठानिएको छ।
डीएसभीका प्रमूख कार्यकारी अधिकृत जेन्स एच लन्डले यो अधिग्रहणसँगै डीएसभीको इतिहासमा एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको बताए।
यसैगरी डिबी शेंकरका प्रमुख कार्यकारी अधिकृत जोचें थेवेजले यो महत्त्वपूर्ण उपलब्धि हासिल भएकोमा हर्षित रहेको बताए।
उनले भने, ‘हाम्रा व्यवसायिक मोडल, सेवाहरू, मूल्य मान्यता तथा मापदण्डहरूमा अनेकौँ समानता छन् र हामी सहकार्य गर्न उत्साहित छौँ।’
सांग्रिला इन्टरनेशनल फ्रेटका अध्यक्ष कुमार दाहालले यस अधिग्रहणले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट सेवा दिने कम्पनीको क्षमता अझ बढाउने बताए।
‘हामी नेपाली व्यापारीहरूको लागि अझ सहज र चुस्त सेवा प्रदान गर्न तयार छौँ’, उनले भने।
अध्यक्ष दाहालका अनुसार नेपालमा आफ्ना १० हजार ग्राहक सदस्यलाइ सन्तोषजनक तरिकाले सेवा दिन सांग्रिला फ्रेट २४ सै घण्टा सक्रिय रहेको छ।
अब डीएसभीले विश्वभरका ९० भन्दा बढी देशहरूमा डेढ लाख भन्दा बढी कर्मचारीमार्फत आफ्नो सेवा विस्तार गर्ने जनाएको छ।
Shares

प्रतिक्रिया