नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालमा बहुराष्ट्रिय कम्पनीहरुले भोग्नुपरेका समस्याबारे युनिलिभरसँग छलफल गरेको छ।
युनिलिभर नेपालका प्रबन्धनिर्देशक अमलान मुखर्जीसहितको प्रतिनिधिमण्डल र निक्कीका अध्यक्ष केसीबीच विद्यमान औद्योगिक एवं समग्र आर्थिक विषयमा छलफल भएको हो।
सो क्रममा नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले उद्योग सञ्चालन गरिरहँदा भोग्नुपरेका विविध विषयमा छलफल भएको निक्कीले उल्लेख गरेको छ। खासगरी लगानीबापतको लाभांश फिर्ता, कच्चापदार्थ आयातमा तयारी वस्तुको भन्दा बढी भंसार महशुल (तयारी वस्तुको भन्दा कच्चा वस्तुको भन्सार दर कम्तीमा एक तह कम हुनुपर्ने विश्वव्यापी मान्यताबमोजिम हुनुपर्ने)बारे छलफल भएको थियो।
यसबाहेक बहुराष्ट्रिय कम्पनीमा कार्यरत उच्च पदका कर्माचारीहरुको पारिश्रमिकको ३० प्रतिशत नेपालमै खर्च गरिनुपर्ने सीमा, प्याकेजिङ सामग्रीको अन्तःशुल्कमा क्रेडिट सुबिधा उपलब्ध गरिनुपर्ने, बैंक ग्यारेन्टीका सन्दर्भमा कोल्याटरलसम्बन्धी बैंकहरुको अस्थिर नीतिका कारण वितरक कम्पनीहरुले भोग्नुपरेका समस्याहरु, व्यापार ट्रेडिङको परिभाषाका कारण सिर्जित समस्याहरुबारे छलफल केन्द्रित थियो।

सो छलफलमा निक्की अध्यक्ष सुनिल केसी, युनिलिभर नेपालका प्रबन्धनिर्देशक अमलान मुखर्जीलगायत सदस्यहरु सहभागी थिए।
छलफलबाट उक्त समस्याहरु निराकरणमा संघको भूमिका एवं अगुवाइले महत्त्वपूर्ण रहने र सो सम्बन्धमा संघले आवश्यक पहल गरी नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुलगायत अन्य उद्योगहरुका समस्याहरु पनि समाधान गर्न उद्योगहरुसँग सहकार्य गरी अघि बढ्ने सहमति भएको बताइएको छ।
Shares

प्रतिक्रिया