कोशी


विराटनगरमा नक्कली नागरिकता बनाउने गिरोह पक्राउ

विराटनगरमा नक्कली नागरिकता बनाउने गिरोह पक्राउ

नेपालखबर
असार २४, २०८३ बुधबार २१:४६, विराटनगर

मोरङको विराटनगरमा नक्कली नागरिकता र सरकारी कागजात बनाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र बनाउने क्रममा एक महिलाले पेस गरेको नागरिकता नक्कली ठहरिएपछि प्रहरीले सरकारी छाप र कागजात कीर्ते गर्ने गिरोहको अनुसन्धान थालेको थियो।

सप्तरी स्थायी घर भई हाल विराटनगर महानगरपालिका वडा नम्बर १४ बस्ने ३० वर्षीय मनिषाकुमारी कामत गत असार २४ गते राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेकी थिइन्।

उनले मनिषाकुमारी राजवंशीको नाममा जारी भएको र वि.सं. २०६८ वैशाख २९ गते जारी मिति उल्लेख भएको १०२२/३०० नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र पेस गरेकी थिइन्।

प्रशासनका कर्मचारीहरूले जाँचबुझ गर्ने क्रममा उक्त नागरिकता नक्कली भएको खुलेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लोकनाथ दाहालको कमान्डमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले अनुसन्धानका क्रममा मनिषालाई उक्त नक्कली नागरिकता विराटनगर वडा नम्बर ६ बस्ने धनदेव राजवंशी र वडा नम्बर ११ बस्ने अशोककुमार श्रेष्ठले उपलब्ध गराएको पत्ता लागेको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा प्रहरीले महेन्द्र चोकस्थित श्याम पोखरेलको घरमा धनदेव राजवंशीले सञ्चालन गर्दै आएको ‘न्यू डोली फोटो सर्भिसेज’ मा छापा पारेको थियो।

उक्त फोटो स्टुडियोमा खानतलासी गर्दा प्रहरीले अवैध र कीर्ते कार्यमा प्रयोग भइरहेका ठूलो परिमाणका सामग्री र नक्कली कागजातहरू फेला पारेको छ।

बरामद गरिएका सामग्रीहरूमा विभिन्न व्यक्तिहरूका नाममा जारी गरिएका १२ थान नेपाली नागरिकताका प्रमाणपत्र, २ थान सवारी चालक अनुमति पत्र, २ थान मोबाइल, १ थान कम्प्युटर सीपीयू र नगद ३ हजार ४ सय ५० रुपैयाँ रहेका मोरङका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।

उनका अनुसार टोलीले उक्त स्थानबाट सरकारी प्रमाणपत्रहरू कीर्ते गर्न राखिएका अन्य शंकास्पद कागजातहरू पनि ठूलो सङ्ख्यामा फेला पारेको छ, जसमा १० थान खाली जन्मदर्ता प्रमाणपत्र, १ थान खाली विवाह दर्ता प्रमाणपत्र र १ थान खाली मृत्यु दर्ता प्रमाणपत्र फेला परेका छन्।

त्यसै गरी विभिन्न व्यक्तिहरूका नाममा पहिल्यै जारी भइसकेका १ थान जन्म दर्ता, १ थान विवाह दर्ता र १ थान मृत्यु दर्ताका प्रमाणपत्रहरू समेत बरामद भएको डीएसपी श्रेष्ठले बताए।  फोटो स्टुडियोबाट ‘न्यू डोली फोटो सर्भिसेज विराटनगर’ लेखिएको १ थान रबर स्ट्याम्प पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

नक्कली सरकारी कागजात र नागरिकता बनाउने अवैध धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले धनदेव राजवंशी र अशोककुमार श्रेष्ठलाई बुधबार दिउँसो पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लिखत सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो गिरोहले अन्य कति व्यक्तिहरूलाई नक्कली नागरिकता तथा सरकारी कागजातहरू उपलब्ध गराएको छ भन्ने विषयमा प्रहरीले  अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad