विश्व चर्चित न्यूरोसाइन्स्ट तथा कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञ पास्कल काउफम्यान नेपाल आउने भएका छन्। उनी काठमाडौंमा आयोजना हुने ‘एचआर मिट २०२६’ मा प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम तय भएको छ।
एचआर मिट २०२६’का आयोजकका अनुसार काउफम्यानले मानव मस्तिष्क र कृत्रिम बुद्धिमत्ताबीचको सम्बन्ध, प्रविधिको भविष्य र मानव स्रोत व्यवस्थापनमा एआईको भूमिकाबारे आफ्ना धारणा राख्नेछन्। उनी अन्तर्राष्ट्रिय स्तरका वक्ता भएकाले कार्यक्रममा सहभागी हुनका लागि उच्च शुल्क लिने वक्ताका रूपमा समेत परिचित छन्।
काउफम्यान स्विट्जरल्यान्डका न्यूरोसाइन्स्ट हुन्। उनले मानव मस्तिष्कको कार्यप्रणालीलाई आधार बनाएर कृत्रिम बुद्धिमत्ता विकास गर्ने क्षेत्रमा काम गरेका छन्। उनी ‘माइन्डफायर’ नामक कम्पनीका संस्थापक हुन्, जसले मानवजस्तै सोच्न सक्ने एआई प्रणाली विकास गर्ने लक्ष्य राखेको छ।
उनले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा एआई, डिजिटल ट्रान्सफर्मेशन र मानव–मेसिन सहकार्यबारे विचार राख्दै आएका छन्। काउफम्यानको अध्ययन र काम विशेषगरी मस्तिष्कको संरचना, न्यूरल नेटवर्क र त्यसलाई प्रविधिमा रूपान्तरण गर्ने विषयमा केन्द्रित छ।
काठमाडौंमा आयोजना हुने ‘एचआर मिट’ नेपालमा मानव स्रोत व्यवस्थापनसम्बन्धी ठूलो अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा परिचित छ। सन् २००८ देखि नियमित आयोजना हुँदै आएको यो कार्यक्रमले मानव स्रोत क्षेत्रका पेशेवर, उद्योगी तथा विज्ञहरूलाई एउटै प्लेटफर्ममा ल्याउँदै आएको छ।
यस वर्षको संस्करणमा प्रविधि र मानवबीचको सहकार्य, एआईको प्रभाव, र भविष्यको कार्यस्थलका विषयमा विशेष छलफल हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रमले नेपाली निजी क्षेत्रलाई विश्वस्तरीय प्रविधि र व्यवस्थापन प्रवृत्तिसँग जोड्न सहयोग गर्नेछ।
Shares

प्रतिक्रिया