कोडदृष्टि सफ्टवेयरले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई संस्थागत गर्न र स्थानीय नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ राष्ट्रिय एआई ह्याकाथन २०२६ आयोजना गर्ने भएको छ।
जेठ २३ र २४ गते ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआइटी)मा ह्याकाथन आयोजना हुन लागेको आयोजकले जनाएको छ। ३२ घण्टासम्म निरन्तर चल्ने यो कार्यक्रममा सातै प्रदेशबाट २५० जनाभन्दा बढी डेभलपर, विद्यार्थी, अनुसन्धानकर्ता र प्राविधिक उद्यमी सहभागी हुने बताइएको छ।
सहभागी हुने ३५ टोलीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र फिनटेक क्षेत्रका विद्यमान समस्याहरुको समाधानका लागि एआई प्रविधिमा आधारित नवीन र व्यवहारिक मोडल विकासमा प्रतिस्पर्धा गर्नेछन्।
आयोजकका अनुसार ३२ घण्टाको ह्याकाथन सकिएको एक हप्तापछि एक विशेष पोस्ट-इभेन्ट सत्र आयोजना हुने र त्यहाँ सहभागी टोलीहरुले आफ्ना एआई परियोजना र व्यावसायिक योजनाहरु देशका प्रतिष्ठित लगानीकर्ता, प्रविधि उद्यमी र व्यापारिक लिडर सामु सिधै पिच गर्न अवसर पाउने बताइएको छ।
यदि आइडिया व्यावसायिक रुपमा सम्भाव्य देखिएमा लगानीकर्ताले तत्कालै लगानी तथा बजारमा लन्च गर्ने व्यवसायिक मार्गदर्शन प्रदान गर्नेछन्।
ह्याकाथन प्रतिस्पर्धाको कुल पुरस्कार राशी करसहित एक लाख ५० हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीले १० हजार रुपैयाँ दर्ता शुल्क भने बुझाउनुपर्नेछ। प्रतिस्पर्धामा सहभागी हुन चाहनेले आज बुधबार (जेठ ६) गतेदेखि नै दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। जेठ १८ गतेसम्म दर्ताको समय दिइएको छ।
Shares

प्रतिक्रिया