नेपाल बिजनेस समिट २०२६ काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।
१८ मे २०२६ का दिन काठमाडौंमा आयोजित यो समिट नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई), नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की), कन्फेडेरेसन अफ बैंकिंग एण्ड फाइनान्सियल इन्स्टिच्युसन्स नेपाल (सिबिफिन), र फेडेरेसन अफ एक्सपोर्ट इन्त्रप्रेन्योर्स नेपाल (फीन) को संयुक्त पहलमा भएको हो।
‘‘उद्यमशीलता, लगानी र नवप्रवर्तनद्वारा नेपालको अर्थतन्त्रको रूपान्तरण” भन्ने मूल विषयवस्तुका साथ आयोजना गरिएको थियो । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद आर्यालले मुख्य सम्बोधन गर्दै यस अवसरको सदुपयोग गर्न सामूहिक प्रयासको आवश्यकतामा जोड दिएका थिए। उनले सरकार, निजी क्षेत्र, नागरिक समाज र सम्पूर्ण सरोकारवालाहरूलाई नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्न आ–आफ्नो तर्फबाट योगदान पुर्याउन आह्वान गरेका थिए।
समिटका मुख्य वक्ता तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले आर्थिक नीति र शासन व्यवस्था दुवैमा आमूल परिवर्तन ल्याउन स्पष्ट जनादेश प्राप्त गरेको र यसको प्रभाव सार्वजनिक तथा निजी क्षेत्र दुवैले अनुभव गर्न सक्ने गरी काम भइरहेको बताएका थिए। उनले यो प्रतिबद्धता राष्ट्रिय स्वतन्त्र पार्टीको १०० बुँदे वाचापत्रमा समेटिएको उल्लेख गरेका थिए।
डा. वाग्लेले समान अवसरका आधारमा सामाजिक विकासका लागि सरकारको ध्यान केन्द्रित भएको र ऊर्जा तथा डिजिटल सम्पर्कता नेपालको दिगो विकासका मुख्य आधार भएको जोड दिए। उनले लगानीकर्ताहरूलाई सरकार पूर्णतः लगानी मैत्री र निजी क्षेत्र मैत्री भएको आश्वासन दिँदै निजी क्षेत्रलाई कुनै पनि डर नराखी आत्मविश्वासका साथ लगानी गर्न आग्रह गरे।
निक्कीका कार्यवाहक अध्यक्ष कुणाल कयालले नीति निर्माताहरू, व्यापारिक नेताहरू, वित्तीय संस्थाहरू, उद्यमीहरू र विकास साझेदारहरूलाई साझा विकासका चुनौती समाधान गर्न एउटै मञ्चमा ल्ययाउनुको महत्त्वबारे बताएका थिए। उनले निक्की एक द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रूपमा व्यापार, ऊर्जा, पूर्वाधार, सीमापार सम्पर्कता र एकीकृत वित्तीय सहजीरणका क्षेत्रमा नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध मजबुत बनाउन सक्रिय रूपमा काम गरिरहेको बताए। नेपालले आर्थिक गति पुनःस्थापित गर्दै लगानी विश्वास अभिवृद्धि गर्ने प्रयास जारी राखेको सन्दर्भमा कार्यवाहक अध्यक्ष कयालले सरकार–निजी क्षेत्र संवाद सहजीकरण, सीमापार साझेदारी प्रवद्र्धन र आर्थिक सहयोग अभिवृद्धिको कार्य अगाडि बढाउने निक्कीको प्रतिबद्धता दोहोर्याए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले मध्यपूर्वमा भूराजनीतिक तनाव र विश्व अर्थतन्त्रमा कृत्रिम बुद्धिमत्ताको दुत एकीकरणले निर्मित जटिल वैश्विक वातावरणलाई स्वीकार गर्नुपर्ने बताएका थिए।
तथापि, उनले यी परिस्थितिहरूले सहकार्य र विश्वास निर्माणका नयाँ अवसरहरू पनि खोलेको बताए। प्रत्यक्ष वैदेशिक लगानीको विषयमा डा. भट्टले विगत पाँच वर्षमा ९७ अर्ब रुपैयाँ लाभांश बहिर्गमन भएको देखिन्छ भने खुद बिदेशी लगानी आप्रवाह ६० अर्ब रुपैयाँ भएको उल्लेख गरे, जसले नेपालमा लगानीको राम्रो प्रतिफल प्राप्त हुने देखाउँछ र विदेशी लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने अवसर विद्यमान रहेको पनि यो तथ्याङ्कले पुष्टि गर्नेर बताए।
प्यानल सत्रमा भारतको लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्माले नेपाल–भारत सीमापार एकीकृत आर्थिक सम्बन्धले प्रस्तुत गरेको महत्त्वपूर्ण अवसरमा जोड दिएका थिए। उनले भारतको छिमेकी पहिलो नीति र क्षेत्रीय आपूर्ति श्रृंखला सम्बन्धी पहल जस्ता रणनीतिक नीतिहरूले छिमेकी देशको रूपमा नेपाललाई अनुकूल स्थितिमा राखेको बताए। नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको सन्दर्भमा डा. शर्माले भारतसँग गहिरो एकीकृत आपूर्ति श्रृंखलाले नेपालको व्यापार र औद्योगिक विकासमा सार्थक योगदान र्पुयाउन सक्ने बताए।
सम्मेलनको समापन सत्रमा माननीय परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन, नीतिगत पूर्वानुमानयोग्य र संरचनात्मक सुधारद्वारा सञ्चालित द्रुत तथा दिगो आर्थिक विकासका लागि सरकारको दृष्टिकोण प्रस्तुत गरे। आर्थिक कूटनीतिको बढ्दो महत्वलाई उल्लेख गर्दै मन्त्री खनालले लगानी प्रवद्र्धन, प्रविधि साझेदारीलाई प्रोत्साहन र सरोकारवाला पक्षहरूसंगको संलग्नतालाई सुदृढ बनाई थप व्यावसायिक अनुकूल वातावरण सिर्जना गर्ने सरकारको प्रतिबद्धतामा जोड दिए।
Shares

प्रतिक्रिया