कारोबार


इनड्राइभ नेपालको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र कार्यक्रम

इनड्राइभ नेपालको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र कार्यक्रम

नेपालखबर
साउन १२, २०८३ मंगलबार १४:१७, काठमाडौँ

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमअन्तर्गत काठमाडौंमा आयोजित प्रमाणपत्र वितरण समारोहमा तीन महिनाको प्रशिक्षण पूरा गरेका १० जना महिलालाई सम्मान गरिएको छ। सुरक्षित र आत्मनिर्भर रूपमा दुईपाङ्ग्रे सवारी चलाउने पेसामा अघि बढ्न आवश्यक सीप, आत्मविश्वास र स्रोतसाधन प्रदान गर्ने उद्देश्यले सहभागीहरूलाई विभिन्न चरणमा प्रशिक्षण दिइएको थियो।

अप्रिल २०२६ मा सुरु भएको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रम विशेषगरी अवसरबाट वञ्चित समुदायका महिलालाई मोबिलिटी क्षेत्रमा आर्थिक अवसरमा पहुँच दिलाउने उद्देश्यले सञ्चालन गरिएको हो। महिलालाई परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको पेसामा प्रवेश गर्न बाधा पुर्‍याउने सामाजिक तथा व्यावहारिक अवरोधलाई कम गर्न पनि कार्यक्रमले जोड दिएको छ।

प्रशिक्षण अवधिभर सडक सुरक्षालाई व्यावसायिक दक्षताको महत्वपूर्ण पक्षका रूपमा समेटिएको थियो। सहभागीहरूलाई व्यावहारिक राइडिङ प्रशिक्षणसँगै सडक सुरक्षासम्बन्धी मार्गदर्शन प्रदान गर्नुका साथै औपचारिक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रियामा समेत सहयोग गरिएको थियो।

प्रत्येक सहभागीलाई सुरक्षात्मक हेल्मेट तथा प्राथमिक उपचार र स्वास्थ्यसम्बन्धी सामग्रीसहितको सुरक्षा किट प्रदान गरिएको थियो।

व्यक्तिगत सुरक्षालाई पनि प्रशिक्षणको छुट्टै महत्वपूर्ण पक्षका रूपमा समेटिएको थियो। फाइटब्याक नेपाल सँगको सहकार्यमा उन्नत आत्मरक्षा तालिम सञ्चालन गरिएको थियो, जसले सहभागीहरूलाई सम्भावित सुरक्षा चुनौती पहिचान गर्न, आत्मविश्वास बढाउन र आवश्यक अवस्थामा व्यवहारिक रूपमा सामना गर्न सक्ने सीप विकास गर्न सहयोग गरेको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहले भने, ‘सडक सुरक्षा सबैको साझा जिम्मेवारी हो र यसमा प्रत्येक चालकको महत्वपूर्ण भूमिका हुन्छ। हामी सहभागीहरूलाई ट्राफिक नियमको पालना गर्न, सडकमा सधैं सचेत रहन र अनुभव बढाउँदै निरन्तर सिकिरहन आग्रह गर्छौं। सबै सहभागीलाई बधाई दिँदै व्यावसायिक चालकका रूपमा उनीहरूको सुरक्षित र सफल यात्राका लागि शुभकामना व्यक्त गर्दछौँ।’

मोबिलिटीमा महिलाको पहुँच विस्तार
यस समूहका महिलाका लागि सवारी चालक अनुमतिपत्र केवल आम्दानीको माध्यम मात्र नभई आफ्नो काम, शिक्षा, स्वास्थ्य सेवा तथा बजारसम्म आफ्नै समयअनुसार स्वतन्त्र रूपमा पुग्ने अवसर पनि हो। यसले सार्वजनिक यातायातको समयतालिका वा परिवारका अन्य सदस्यमा निर्भर रहनुपर्ने अवस्थालाई कम गर्न सहयोग पुर्‍याउँछ।

दुईपाङ्ग्रे सवारीमा आधारित राइड–हेलिङ सेवाले चारपाङ्ग्रे सवारी पुग्न कठिन हुने साँघुरा गल्ली तथा अन्तिम गन्तव्यसम्म पनि सेवा पुर्‍याउन सक्छ। सामान्यतया यसको भाडा पनि चारपाङ्ग्रे सवारीको तुलनामा कम हुने गर्दछ। राइड–हेलिङ सेवामा महिलाको सहभागिता बढ्दा यात्रुहरूले आफूलाई उपयुक्त चालक छनोट गर्ने थप अवसरसमेत पाउनेछन्।

प्रमाणपत्र वितरण समारोह 
प्रमाणपत्र वितरण समारोहमा साझेदार संस्थाका प्रतिनिधि, सरकारी निकायका सरोकारवाला, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।

समारोहमा इनड्राइभका प्रतिनिधि तथा इनड्राइभ नेपालकी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका १० जना सहभागीलाई प्रमाणपत्र, सुरक्षा किट तथा मायाको चिनो प्रदान गरे। कार्यक्रममा सहभागी १० जना महिलाको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ यात्रालाई समेटिएको भिडियोसमेत प्रदर्शन गरिएको थियो।

समारोहका क्रममा सहभागीमध्ये एक जनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र छ जनालाई स्मार्टवाच प्रदान गरिएको थियो। यी सामग्रीले उनीहरूलाई व्यावसायिक ड्राइभिङ यात्राको सुरुवातमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad