ad ad

कारोबार


प्रत्यक्षबाट यी १० व्यवसायीले तय गरे संसद् यात्रा

प्रत्यक्षबाट यी १० व्यवसायीले तय गरे संसद् यात्रा

फाइल तस्बिर


वसन्त अर्याल
मंसिर ९, २०७९ शुक्रबार ११:२५, काठमाडौँ

यो निर्वाचनमा प्रत्यक्षतर्फ टिकट पाएका अधिकांश व्यवसायी विजयी हुँदै संसद् छिर्ने भएका छन्। 

पार्टीलाई पैसा बुझाएर समानुपातिक संसद बनेको आरोप खेप्ने गरेका व्यवसायीहरु यस पटक प्रत्यक्षमै भिडेर संसदमा प्रवेश गर्न लागेका हुन्। 

यो निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा धेरै व्यवसायीलाई प्रत्यक्षमा टिकट दिएको थियो। 

जसमा ठूला व्यवसायी उमेश श्रेष्ठबाहेक सबैजना संसद् छिर्ने तयारीमा छन्। उद्योगपति विनोदकुमार चौधरीदेखि पर्यटन व्यवसायी राजेन्द्र बजगाईँसम्मले संसद् यात्रा तय गर्दै छन्। 

संसदमा कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका व्यवसायी पुग्ने भएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनिएका छन्। 
यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद बनेका चौधरी अब प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लागेका हुन्। 

२०७४ को निर्वाचनको समयमा कांग्रेस प्रवेश गरेका उद्योगी विनोद चौधरीले यो पटक प्रत्यक्ष निर्वाचन लड्ने घोषणा नै गरेका थिए। 

उनले सुरुमा नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने तयारी गरे पनि पछि नवलपरासी क्षेत्र नम्बर १ बाट विनोद चौधरीलाई टिकट थियो थियो। 

विनोद चौधरी

बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले हराए। 

चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरे।

गोरखा १ मा पर्यटन व्यवसायी राजेन्द्र बजगाईँ विजयी भएका छन्। कांग्रेस उम्मेदवार बजगाईँले ३३ हजार ४२८ मत प्राप्त गर्दा एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ मत मात्रै ल्याउन सके। बस्नेत गण्डकी प्रदेशका पूर्वमन्त्री पनि हुन्। 

चितवत ३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे संसद बन्ने पक्का देखिएको छ। निर्माण व्यवसायी पाण्डे २२ हजार ९३७ मत ल्याउँदा उनलाई पछ्याएका माओवादी केन्द्रका भोजराज अधिकारीले १४ हजार ५४४ मत ल्याएका छन्। 

राजेन्द्र बजागाईँ

मोरङ क्षेत्र नम्बर ३ मा मेडिकल व्यवसायी सुनिकलकुमार शर्मा विजयी हुने निश्चित देखिएको छ। उनी एमालेका भानुभक्त ढकालभन्दा करिब १७ हजार ५०० मतान्तरले अघि छन्। शर्माले ३८ हजार ७५९ मत ल्याउँदा ढकालले २० हजार २५९ मत ल्याएका छन्। 

उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार ढकालसँग पराजित भएका थिए। शर्मा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर र काठमाडौं मेडिकल कलेजका सञ्चालक  हुन्। 

रसुवाबाट निर्माण व्यवसायी मोहन आचार्य फेरि विजयी भएका छन्। आचार्य करिब १० हजार मतान्तरले विजयी भएका हुन्। कांग्रेसका आचार्यले १८ हजार २३५ मत ल्याउँदा एमालेका छोवाङ तेन्जिङ तामाङले ८ हजार ६१४ मत ल्याएका छन्। 

निर्माण व्यवसायी आचार्य २०७४ मा रसुवाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। २०७४ को निर्वाचनमा १४ हजार ४५३ मतसाथ उनी विजयी भएका थिए। इन्जिनियर पनि रहेका आचार्यले सडक, पुल र अस्पतालसहितका पूर्वाधार निर्माण गर्दै आएका छन्। 

मनाङमा व्यवसायी टेकबहादुर गुरुङ विजयी भएका छन्।  गुरुङ २५ सय ७५ मत ल्याई विजयी भएका हुन्। एमालेका पोल्देन छोपाङ गुरुङ २२ सय ४७ मतसहित पराजित भए। एमालेका गुरुङ दक्षिण एसियाकै ठूलो स्याउ फार्म खोलेका व्यवसायी हुन्। 

म्यानपावर व्यवसायी टेकबहादुर गुरुङ पूर्वश्रम राज्यमन्त्री भएका थिए। म्यानपावरबाहेक गुरुङ काठडमाडौंको भृकुटीमण्डपमा रहेको फन पार्कमासमेत लगानी गरेका छन्। 

मोहन आचार्य

संखुवासभामा व्यवसायी दीपक खड्का जितनजिक पुरेका छन्। कांग्रेस उम्मेदवार खड्का २७ हजार ५२० मत ल्याउँदा एमालेका राजेन्द्रप्रसाद गौतम २२ हजार २५५ मत ल्याएका छन्। 

पार्टी जिल्ला सभापति एवम् पूर्वराज्यमन्त्री दीपक खड्कालाई नेपाल स्काउटको ३ रोपनी जग्गा भाडामा लिएर १२ रोपनी कब्जा गरेको आरोप लगेको छ। 

उनले बैंक्वेट, रेष्टुरेन्टलगायत व्यवसायमा लगानी छ। उनी कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत संखुवासभा जिल्ला सभापति भएका थिए। 

रामेछापबाट निर्माण व्यवसायी पूर्णबहादुर तमाङको पनि जित सुनिश्चित भएको छ। पूर्णबहादुर तमाङले २२ हजार १३९ मत ल्याउँदा एमालेका कैलाशप्रसाद ढुंगेलले १३ हजार ८८३ मत मात्रै ल्याएका छन्। कान्छारामले परिचित तमाङ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए। 

झापा निर्वाचन क्षेत्र ४ मा व्यवसायी लालप्रसाद (एलपी) साँवा लिम्बु पुन विजयी भएका छन्। 

निवर्तमान संसद रहेका एमालेका साँवा म्यानपावर व्यवसायी हुन्। साँवाले २९ हजार ३१५ मत ल्याउँदा कांग्रेसका देउकुमार थेवेले २२ हजार ४४८ मत ल्याएका छन्। 

चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट सेयर र रियलस्टेट व्यवसायी हरि ढकाल विजयी भएका छन्। 

उनले पूर्व अर्थमन्त्री र योजना आयोगका उपाध्यक्षलाई हराएका हुन्। ढकालले ३४ हजार १८९ मत ल्याउँदा पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले २६ हजार ६०८ मत पाएका छन्। योजना आयोगका निवर्तमान उपाध्यक्ष पौडेलले भने २४ हजार ९९० मत पाए। 

विक्रम पाण्डे

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री व्यवसायी उमेश श्रेष्ठले पनि चितवन क्षेत्र नं २ बाट टिकट पाएपनि विजयी हुन सकेनन्।  

समानुपातिकबाट निवर्तमान सांसद रहेका श्रेष्ठ यसपटक प्रत्यक्षमा लड्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित भए। 

प्रत्यक्षसँगै समानुपातिबाट पनि केही व्यवसायीको प्रवेश हुने देखिएको छ। कांग्रेसको समानुपातिक सूचीमा परेका वीरगञ्जका व्यापारी अनिल रुंगटा छन्। 

उनी खाद्यान्य व्यवसायमा आवद्ध छन्। कांग्रेसबाट नुवाकोटका निर्माण व्यवसायी जगतबहादुर तामाङ पनि समेटिएका छन्।  

एमालेबाट व्यवसायी मोतिलाल दुगड र दुर्गा प्रसाईले निर्वाचन लड्ने तयारी गरे पनि प्रत्यक्षमा टिकट पाएनन्। एमालेबाट प्रभु ग्रुपका अध्यक्ष दीपकप्रकाश भट्टचन समानुपातिक सूचीको प्राथमिकतामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .