ad ad

कारोबार


‘हिजो हजाम बनेको भनेर कुरा काट्नेहरू आज मेरो सैलुनमा केश काट्न आउँछन्’

‘हिजो हजाम बनेको भनेर कुरा काट्नेहरू आज मेरो सैलुनमा केश काट्न आउँछन्’

आफ्नो सैलुनमा काम गर्दै लीला पौडेल। तस्बिर : ध्रुव भट्टराई/नेपाखबर


ध्रुव भट्टराई
पुस १३, २०७९ बुधबार १०:५७, मोरङ (दुलारी)

उमेरले ५० काटेको, तर हँसिलो अनुहारका लीला पौडेलका दिन कैँची र काइँयो खेलाउँदैमा बित्ने गर्छन्। उनले बोलीचालीको भाषामा हजामको काम गरेकोे १२ वर्ष पूरा भएको छ। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको दुलारी चोकमा रहेको उनको ‘ज्योति पौडेल हेयर कटिङ सेलुन’मा बिहानदेखि बेलुकीसम्म केश काट्न आउनेदेखि अनुहार सिँगार्नेसम्मको सधैँ भीड लाग्ने गर्छ। उनलाई यही काम गर्न भ्याईनभ्याई हुन्छ। 

आफ्नो कान्छो छोराको नामबाट पसलको नाम राखेर सेलुन व्यवसाय थालेपछि उनले कहिले पछाडि फर्केर हेर्न परेको छैन। उनी भन्छन्, ‘मलाई दाम र नाम यही व्यवसायले दिएको छ।’ केश काट्ने पेसा अपनाएदेखि जस्तासुकै समस्या पर्दा पनि कसैसँग हात थाप्न नपरेको उनले बताए।

युवा अवस्थामा रहरले अँगालेको सीप नै व्यवसाय बनाउन सफल भएका छन् – उनी ।

विशेषगरी भारतीय र तराई मूलका मानिसले गर्ने यो पेसा सुरु गर्दा भने उनले कम चुनौती सामना गर्न परेन। ‘केही काम नपाएर हजाम हुन परेको’ भनेर धेरैले कुरा काटेका थिए। तर उनले त्यस्ता कुरालाई बेवास्ता गर्दै आफ्नो व्यवसायलाई निरन्तरता दिए। जसका कारण अहिले यही पेसा उनका लागि मनग्य आम्दानी गर्ने स्रोत बनेको छ।

‘सुरुवाती दिनमा सेलुन व्यवसाय अँगाल्दा निकै चुनौती बेहोर्नुपर्‍यो’, पौडेलले सुनाए, ‘मानिसले कुरा काटेको सुनेर मन विचलित बनाएको भए म यो पेसामा टिक्न सक्थिनँ, तर पेसा कुनै जात, धर्म विशेष हुँदैन भन्ने सोचका साथ  कामलाई निरन्तरता दिएँ। त्यसकै परिणाम आज यही पेसामा नाम र दाम दुवै कमाउन सफल भएको छु।’

पौडेलले विगत सम्झँदै थपे, ‘अहिले अवस्था ठीकविपरीत भएको छ, हिजोका दिनमा मेरा कुरा काट्ने तिनै मानिस आज मेरो सैलुनमा केश काट्न आउँछन्, र भन्छन् – राम्रो गरेको छौ, अझ राम्रो गर्नू।’ 

पौडेलका अनुसार उनी १७/१८ वर्षको उमेरदेखि नै रहरले गाउँघरमा साथीभाइको केश काट्ने गर्थे। तर औपचारिक रूपमा केश काट्ने तालिम आजसम्म नलिएका उनी अनुभवकै आधारमा यो काममा सिपालु भएका हुन्। 

मोरङको सुन्दरहरैचा ४ स्थायी घर भएका पौडेल भन्छन्, ‘विदेशमा गएको भन्दा राम्रो कमाइ गर्न सकेको छु। अहिले यही पेसाबाट मासिक ६० हजार रुपैयाँ कमाइ गरिरहेको छु।’ 

सैलुन व्यवसाय गर्नुभन्दा पहिले १२ वर्षअघि उनी रोजगारीकै लागि दुबई पुगेका थिए। उनी त्यहाँ दुईपटक गरी ५ वर्ष बसे। उनी दुबईमा रहँदा पनि शुक्रबार/शुक्रबार साथीहरूको केश काट्दिने गर्थे। उनले क्याम्पमा रहेका नेपाली र बंगालीको केश काटिदिएबापत प्राप्त पैसा पकेट खर्चका रूपमा प्रयोग गर्थे। 

विदेशबाट फर्केपछि उनले व्यावसायिक रूपमै सैलुन पेसा अपनाए। उनलाई विदेशबाट फर्केपछि केश काट्ने राम्रो सीप भएको भन्दै सैलुन व्यवसाय गर्न साथीभाइले हौस्याएका थिए। सोही कारण उनले त्यो समय दुलारी चोकमा सानो घुम्ती बनाएर सैलुन खोलेका थिए।

सैलुन खोल्दा घुम्ती तयार पार्न र अन्य केश काट्ने कैँचीलगायतका सामग्री खरिदमा ३० हजार खर्च लागेको उनी स्मरण गर्छन्। तर आज उनले व्यवस्थित रूपमा सैलुन खोलेका छन्। उनी मासिक ७ हजार रुपैयाँ कोठा भाडा तिर्छन्। 

दुई छोरा र एक छोरी रहेका ज्योतिले यही पेसाको कमाइबाट दुई छोराको विवाह सम्पन्न गरेका छन् भने छोरीलाई रेडियोलोजिस्ट पढाउन १६ लाख रुपैयाँ खर्चिएका छन्। योसँगै आफूले दुई वर्षअघि मात्र दुलारीमा दुईतले पक्की घर बनाएको उनले बताए। घर निर्माणमा धेरथोर ऋणपान गरे पनि धेरै लगानी सैलुन व्यवसायको कमाइ रहेको उनी बताउँछन्। अहिले उनको घरखर्च टार्ने मुख्य आम्दानीको स्रोत सैलुन व्यवसाय नै बनेको छ।

लीलाका अनुसार जेठो छोरा रमेश मोबाइल मर्मतको काम सिकेर दुलारी चोकमा पसल खोलेर बसेको छ भने कान्छो छोरा ज्योति पनि बुवाको पसलमा काम सिकेर अहिले आफैँले सैलुन व्यवसाय गरिरहेका छन्। ज्योतिले दुई वर्षदेखि सुनसरीको कालाबन्जारमा  सैलुन सञ्चालन गरिरहेका छन्। सैलुनमा कपाल काट्ने, जेल सेटिङ, फेसियल, केशमा रङ लगाउनेलगायतका सबै सुविधा उपलब्ध रहेको पौडेल सुनाउँछन्। 

उनले सीप कुनै जाति र वर्ग विशेषको नहुने तर्क गर्दै यो व्यवसाय आयआर्जनको गतिलो माध्यम बन्ने बताए। रोजगारीका क्रममा विदेशमा  जस्तासुकै काम गर्न हुने तर स्वदेशमा आयमूलक सीप, व्यवसाय अपनाउन हिचकिचाउन नहुने उनको भनाइ छ।

‘थोरे लगानीमा राम्रो आम्दानी यो पेसाबाट प्राप्त गर्न सकिन्छ’, पौडेल थप्छन्, हातमा सीप भए पुग्ने सैलुन व्यवसाय महिला वर्गका लागि त अझ सुरक्षित र सजिलो पेसाका रूपमा अपनाउन सकिन्छ।’ 

परिवारसँगै बसेर राम्रो आर्यआर्जनका लागि यो पेसा अपनाउन सकिने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .