दाङको घोराही उपमहानगरपालिका-२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालित कृषि फार्ममा रोजगारी पाउँदा खुसी छन्।
गाउँमै रोजगारी पाएकाले अन्यत्र काम खोज्नु जान नपरेको उनी पाउँछन्।
छोराछोरीको पढाईदेखि घर खर्च टार्न पनि सहज भएको उनले बताए।
कृषि फार्ममा काम पाएपछि पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था नभएको उनी सुनाउँछन्।
'पहिले हिउँदमा काम नहुँदा घरमै बस्नुपथ्र्यो, तर यहाँ कृषि फार्म खुलेपछि गाउँघरमै काम पाइनुका साथै आम्दानी पनि भइरहेको छ', उनले भने।
हाल मासिक १४/१५ हजार रुपैयाँ कमाउने गरेको उनको भनाइ छ।
उनीजस्तै अर्का स्थानीय देवा चौधरी पनि गाउँघरमै रोजगारी प्राप्त गर्दा जीविका चलाउन सजिलो भएको बताउँछिन्।
'घरमा पाँच जनाको परिवार छ, श्रीमान् घर बनाउने काम गर्नुहुन्छ, मैले कृषि फार्ममा काम गर्दै आएको छु, आम्दानी पनि राम्रै भइरहेको छ । जसले गर्दा आफ्नो कमाइले घरखर्च चल्ने र श्रीमान्को कमाइ भने बचत गर्दै आएका छौँ', उनले भनिन्।
पछिल्लो समय गाउँघरमै रोजगारी प्राप्त भएपछि उहाँजस्तै धेरै कृषि क्षेत्रमा जोडिन थालेका छन्।
घोराही उपमहानगरपालिका-२ निमुरियाका हरि जिसीले व्यावसायिक कृषि सञ्चालन गरी स्थानीयलाई रोजगारी दिलाइरहेका छन्।
उमेरले ३७ वर्ष पुगेका जिसीले सुवर्ण कृषि फार्ममार्फत कृषि व्यवसाय गरिरहेका हुन्।
जग्गा भाडामा लिएर खेती गरी जिसी स्वरोजगार बनेका छन् नै, अरू ४० जना स्थानीयलाई रोजगारीसमेत दिएका छन्।
जिसीले सात वर्ष अघिदेखि सञ्चालन गरिरहेका फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्नेलगायतका काम पाइने भएपछि स्थानीयलाई पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था छैन।
विद्यार्थीसमेत कलेज पढ्दै कमाउँदै गर्न पाएका छन्। सात वर्षअघि सात कट्ठा जग्गाबाट सुरु गर्नुभएको जिसीको तरकारीखेती अहिले १४ बिघामा फैलिएको छ।
आफ्नो एक बिघा र बाँकी जग्गा भाडामा लिएर उनले व्यावसायिक तरकारी खेती गरिरहेका छन्।
वार्षिक दुई करोड रुपैयाँको कारोबार गर्ने जिसी कामदारको ज्यालामा मात्रै झन्डै एक करोड रुपैयाँ वार्षिक खर्च गर्छन्।
जिसीले कृषि फार्ममार्फत सिजनअनुसार टमाटर, बोडी, काँक्रा, कोभीलगायतका तरकारी उत्पादन गरिरहेका छन्।
उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालन गरेका छन्।
जिसीले भने, ‘तरकारी खेतीबाट आम्दानी राम्रै छ, उत्पादन भएको तरकारी बिक्रीका लागि बजारमा पसल पनि गरेको छु। जसले गर्दा पसल र फार्म दुवैतिर रोजगारी मिलेको छ।’
उनले आजभोलि काँक्रा फार्मबाटै १७ रुपैयाँ र टमाटर २८ रुपैयाँ प्रतिकिलोको दरले बिक्री गरिरहेका छन्।
उनले उत्पादन गरेका तरकारी दाङसहित जिल्लाबाहिर बुटवल, कोहलपुर नेपालगन्ज, धनगढी, पोखरा, काठमाडौँसम्म बिक्रीका लागि लाने गरेका छन्। रासस
Shares

प्रतिक्रिया