केन्द्रीय कारागार सुन्धाराबाट शुक्रबार राति फरार भएकी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
सुन्धाराको महिला बन्दी गृहमा कैद भुक्तान गरिरहेकी नुवाकोटको विदुर नगरपालिका-१३ की २५ वर्षीया सपना तामाङ शुक्रबार मध्यराति पर्खाल नाघेर फरार भएकी थिइन्।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
कारागारबाट भागेपछि उनी आफ्ना श्रीमानको डेरामा पुगेको पाइएको छ।
‘सपनासँगै उनका श्रीमानलाई पनि हामीले नियन्त्रणमा लिएका छौँ, उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रविण धितालले नेपालखबरसँग भने।
सपना चारवटा कसुरमा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भइ जन्मकैद भुक्तान गरिरहेकी महिला हुन्। अपहरण, शरीरबन्धक, कर्तव्य ज्यान र डाँकाचोरीको मुद्दामा उनलाई अदालतले दोषी ठहर गर्दै जन्म कैद सुनाएको थियो।
उनी भागेको जानकारी कारागार प्रशासनले भने १५ घण्टा पछि मात्रै पाएको थियो।
Shares

प्रतिक्रिया