कारोबार


नजिकैबाट हिमाल हेर्न कोखेडाँडा जानेको संख्यामा वृद्धि

नजिकैबाट हिमाल हेर्न कोखेडाँडा जानेको संख्यामा वृद्धि

नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार ५:४३, पर्वत

पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ। समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन्। 

छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ। 

म्याग्दीको पुनहिलभन्दा पनि उचाइमा रहेको यो स्थानबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँलगायतका जिल्ला अवलोकन गर्न सकिन्छ। 

लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज स्थापना गरेका छन्। उनले यहाँ आउने पर्यटकको सुविधाका लागि नेपाल टेलिकम वा एनसेलको टावर स्थापना गर्नुपर्ने, विद्युतीकरण र सहज पदमार्गहरूको अभाव रहेको बताए। उनको कटेजमा नेपालीहरूलाई एक रात बास बसेको रु एक हजार पाँच सय निर्धारण गरिएको छ। 

कोखेडाँडामा विभिन्न ३० देशका झण्डा राखिएको छ । कोखेडाँडा पुग्नका लागि तीनवटा मार्ग छन्। कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी हुँदै पैदल हिँडेर कोखेडाँडा पुग्न सकिन्छ। यो मार्गबाट चारदेखि पाँच घण्टा पैदलयात्रा गर्नुपर्दछ। 

त्यसैगरी पातीचौर–बाजुङ–क्याङ–लेसपारसम्म गाडीमा यात्रा गरी त्यहाँवाट झण्डै छ–सात घण्टाको पैदलयात्रामार्फत पनि कोखेडाँडा पुग्न सकिन्छ भने पर्वतको जलजला गाउँपालिकाअन्तर्गत मिलनचोक–शालिजा–तारे–हम्पालसम्म गाडीमा र करिब तीन घण्टाको पैदलयात्रा गरी कोखेडाँडा पुग्न सकिन्छ। 

कोखेडाँडा जाने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयमार्फत रु १० लाख विनियोजन भएको छ। यस वर्ष पदमार्ग निर्माण गरिने मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेका वडाध्यक्ष टेकबहादुर गुरुङले बताए। 

कोखेडाँडा जाने पर्यटक मोदी गाउँपालिका वडा नं १ लप्सीबोट र भुकदेउराली र ताङ्लेमा रहेको घरबास (होमस्टे)मा पनि बास बस्न सक्नछन्। त्यस्तै मोदी गाउँपालिका वडा नं ४ लेसपारमा पनि होमस्टे सुविधा विस्तार गरिएको छ।  रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad