कारोबार


बाँझिएको जमिनमा रहरलाग्दो कागतीखेती

बाँदरले दुःख दिएपछि बाँझिएको थियो खेतीयोग्य जमिन
बाँझिएको जमिनमा रहरलाग्दो कागतीखेती

नेपालखबर
भदौ १५, २०८२ आइतबार १३:३४, काठमाडौँ

स्याङ्जाका एक युवकले बाँझिएको जमिनमा व्यावसायिक रूपमा कागतीखेती गरेर आम्दानी गर्न थालेका छन्।

वालिङ नगरपालिका–५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी आम्दानी लिन थालेका हुन्। २०७८ मा भएको कोरोना महामारीले उत्पन्न भएको ‘लकडाउन’ का बेला गाउँमै कागतीखेती थालेका उनले गत वर्षदेखि उत्पादन लिन थालेका हुन्। गल्याङ नगरपालिका–५ स्यालबासबाट एक सय बोट सुन कागतीका बेर्ना ल्याएर लगाएका थिए।

कोरोनाका समयमा घरबाहिर हिँडडुल गर्न नभएपछि समयको सदुपयोग गर्दै कागतीखेती गर्ने योजना बनाएर काम सुरु गरेका रेग्मीको अहिले आम्दानीको गतिलो स्रोत नै कागती बन्न पुगेको छ। ‘बाँदरको समस्याका कारण खेतीयोग्य जमिन बाँझिदै गएपछि विकल्पका रूपमा कागतीको सम्भावना देखेपछि कागती रोपेको हुँ’, उनले भने, ‘त्यतिबेला देखेको सपना अहिले आएर साकार हुँदै गएको छ, खुसी छु।’

खेतीपाती नभएपछि बाँझिएकोे जमिनलाई फाँडेर उनले गाउँमै पहिलोपटक व्यावसायिक रूपमा थालेको कागतीखेती आज नमुनाका रूपमा रहेको छ। कागतीखेतीसम्बन्धी प्राविधिक ज्ञान नभए तापनि युट्युबमा हेरेरै त्यसको प्रयोग गरिरहेको उनले बताए। ‘एक सय बोटमध्ये ९० बोटले गत वर्षबाट राम्रो उत्पादन दिन थालेका छन्’, उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष झनै राम्रो उत्पादन छ, गत वर्षभन्दा उत्पादन दोब्बर बढी हुँदै गएको छ।’

झण्डै पाँच रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गरेका रेग्मीले गत वर्षमात्र झण्डै रु ६० हजारको कागती बिक्री गरेका थिए। यहाँ उत्पादन भएको कागती स्थानीय वालिङ बजारका होटलमा खपत हुँदै आएको छ। उनले कागती प्रतिकेजी रु दुई सयदेखि तीन सयका दरले बिक्री गर्दै आएका छन्।

‘यहाँ उत्पादन भएको कागतीले बजार नपाउने भन्ने समस्या अहिलेसम्म छैन’, उनले भने, ‘कागती व्यापारीलाई नभई सिधैँ होटलमा बिक्री गर्ने भएकाले पनि बजार मूल्य राम्रो पाएको छु।’

खाली तथा बाँझिएको जमिनमा अझै नयाँनयाँ बोट थप्दै जाने योजनामा उनी छन्। गाउँमा व्यावसायिक रूपमा उनले कागतीखेती गरेर उत्पादनसँगै आम्दानी लिन थालेपछि अहिले त्यहाँका स्थानीयवासी पनि कागतीखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउने तयारीमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad