कारोबार


ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १३:२४, बागलुङ

एक दशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे। ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए।

कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन्। बेकामे बनेका घोडा खच्चड बिक्री नहुँदा किसान चिन्तित भएका किसान पछिल्लो समय ढोरपाटनमा पर्यटक बढ्न थालेपछि घोडा व्यवसाय फस्टाउँदै छ।

ढोरपाटनमा आउने पर्यटकले घोडामा सवार गर्न, तस्बिर तथा भिडियो खिच्नका लागि घोडा सवार गर्न थालेपछि पहिले बिक्री गरेका किसानले अहिले धमाधम किन्न थालेका छन्। पहिले बेकामे बनेका घोडा अहिले आम्दानीको स्रोत बन्न थालेका व्यवसायीको भनाइ छ।

पर्यटकको चाप बढ्दै गएपछि अहिले घोडा व्यवसाय पनि फस्टाउन थालेको ढोरपाटन नगरपालिका-९ का खिमबहादुर विकले बताए। उपत्यकाबाट बुकीपाटनसम्म जानआउन रु चार हजारदेखि पाँच हजारसम्म लिने गरेको उहाँको भनाइ छ। घोडा चढेर चौरमा फोटो तथा भिडियो खिचेको रु ५० देखि रु १५० लिने जनाउँदै अहिले ढोरपाटनमा धेरैले घोडा किन्न थालेका उनले बताए।

'करिब १०-१५ वर्ष अगाडि ढोरपाटनमा घोडा खच्चड नहुने कोही थिएनन्, धेरैले सामान ढुवानी गरेर जीविकोपार्जन गर्थे, टाढाटाढाबाट अप्ठ्यारो बाटोमा घोडा खच्चडले भारी बोकेर ल्याउनेरपुर्‍याउने गर्थे', उनले भने, 'केही वर्ष घोडा खच्चड पालेँ पनि आम्दानी नभएपछि पाल्न छोडिएको थियो। अहिले दुई-चार जना पर्यटक बोके पनि कमाइ हुन्छ।'

ढोरपाटन पुग्ने पर्यटकले उपत्यकासहित बुकीपाटन, निसेलढोर र जलजलासम्म घोडामा जाने गर्छन्। पहिले ढोरपाटनमा उत्पादन भएको आलु, स्याउ, सिमीलगायत वस्तु बजार पुर्‍याउने र बजारबाट अन्य खाद्यान्न ल्याउने घोडा खच्चडले अहिले पर्यटक बोक्न थालेका घोडा व्यवसायी धनराम विकले बताए।

अहिले गाडीमार्फत सामान ढुवानी गरे पनि गाडी नपुग्ने स्थानमा घोडाको प्रयोग हुने विकको भनाइ छ। उनका अनुसार पहिले एउटै किसानले दुई दर्जन बढीसम्म घोडा पाल्ने गरे पनि अहिले भने कम पाल्न थालेका छन्।

व्यवसायीले घोडा चढाएबापत बढी शुल्क लिने गरेको गुनासो पनि आउने गरेको छ। घोडामा चढेर एकपटक फोटो खिच्दा रु ३०० तिर्नु परेको ढोरपाटन घुम्न आएका कुलदीप तामाङले बताए। सुरुमा रु १०० भने पनि व्यवसायीले अन्तिममा रु ३०० मागेका उनको गुनासो छ। पर्यटकबाट बढी शुल्क असुल्ने व्यवसायीलाई कारबाही गर्नुपर्नेमा तामाङले जोड दिए।

ढोरपाटनमा पछिल्लो समय दैनिक २०० बढी पर्यटक पुग्ने गरेका छन्। बर्खामा वनफूलसँग रमाउने र हिउँमा हिउँ खेल्न ढोरपाटन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको हो। ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकामा आव २०८१/८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad