ad ad

कारोबार


प्रादेशिक सडक बनेपछि बिक्न थाल्यो मिक्लाजुङवासीको मिहिनेत

प्रादेशिक सडक बनेपछि बिक्न थाल्यो मिक्लाजुङवासीको मिहिनेत

ध्रुव भट्टराई
फागुन ५, २०७९ शुक्रबार ९:१९, विराटनगर

मोरङ मिक्लाजुङ १ की सीता लिम्बूको दिनचर्या अचेल बदलिएको छ। उनी बिहानदेखि बेलुकी अबेरसम्म तरकारी बारीमा व्यस्त हुन्छिन्।

दुई वर्ष अघिसम्म फुसर्दिली उनको दिनचर्या किसानचोक–टाँडी–आइतबारे रवि सडक बनेसँगै फेरिएको हो। 

उनको गाउँ मिक्लाजुङ १ आइतबारेलाई सडक सञ्जालले नजोड्दासम्म बारीमा उत्पादित तरकारीले बजार पाउन सकेको थिएन।

तर अहिले प्रदेश सरकारको लगानीमा बनेको प्रादेशिक सडक घरआँगनमा आएसँगै उत्पादित तरकारी बजारसम्म पुर्‍याउन सहज भएको छ। हरियो तरकारी बिक्रीबाट उनले मनग्ये आम्दानीसमेत लिन थालिसकेकी छन्।

‘हिजो सडक नहुँदा हामीले बारीमा उत्पादन गरेका तरकारी सडेर नष्ट हुने गरेका थिए’, सीता भन्छिन्, ‘आज हाम्रो घरआँगनमा सडक आइपुगेको छ। यसले हाम्रो बारीमा उत्पादन भएका सबै तरकारीदेखि खाद्यवस्तु बजारसम्म पुर्‍याउन सहज भएको मात्र छैन, तरकारी र  खाद्यवस्तु बिक्रीबाट मनग्ये आम्दानी लिन पनि सकिएको छ।’

सीता अहिले आफनो बारीमा उत्पादित हरियो तरकारी तथा खाद्यान्न बिक्रीका लागि उर्लाबारी पुग्ने गरेकी छन्। 

उनीजस्तै दुर्गम पहाडी क्षेत्र मिक्लाजुङवासीका लागि यो सडक वरदान साबित भएको छ।

प्रादेशिक सडकले मिक्लाजुङका विकट वडाहरूलाई जोडेपछि स्थानीयले उत्पादन गरेका खाद्यवस्तुले अहिले सहज बजार पाउन थालेका छन्। यति मात्र होइन, सडक बनेपछि यातायात सुविधाले त्यस क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम विराटनगर पुग्न सजिलो भएको छ।

जिल्लाका दुर्गम पहाडी भेग सडक सञ्जालमा जोडिएसँगै सुविधाका लागि बसाइँ सर्ने क्रम पनि रोकिन थालेको छ।

प्रदेश सरकारको कूल ६७ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको किसानचोक–टाँडी–आइतबारे रवि सडकको अन्तिम चरणमा पुगेको छ। 

कूल १९ किलोमिटर सडक भेडेटारदेखि राँके हुँदै पाँचथर सदरमुकाम फिदिम जोडिनेछ। सडक बनेसँगै स्थानीयले यातायात सुविधा पाएका छन्। जसका कारण स्थानीयले उत्पादन गरेका खाद्यवस्तुले उचित बजार पाउन थालेका छन् भने त्यस भेगका बासिन्दा प्रादेशिक सडक हुँदै  सदरमुकाम विराटनगर जान/आउन पनि सहज भएको मिक्लाजुङ गाउँपालिका कार्यालयका उपाध्यक्ष दिनेश पौडेल बताउँछन्।

पौडेलका अनुसार प्रदेश सरकारको पहिलो प्रादेशिक सडकका रूपमा निर्माण भइरहेको किसानचोक–टाँडी–आइतबारे रवि सडकका कारण त्यस क्षेत्रको पर्यटकीय विकासमा समेत मद्दत पुगेको छ।

पूर्वपश्चिम मुख्य राजमार्गबाट अब यो सडक भएर आधा घण्टामै चिसो स्थान रमिते पुग्न सकिनेछ। जसले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक पनि बढाएको छ। 

‘बस्ती विकासका लागि बिजुलीबत्तीदेखि खानेपानी, सडक पूर्वाधार आवश्यक पर्छन्’, उपाध्यक्ष पौडेलले भने, ‘पहाडी क्षेत्र भएकाले न्यूनतम बिजुली र खानेपानीको व्यवस्था यसअघि नै भएको थियो। तर भौगोलिक विकटताका कारण सडक निर्माण हुन सकेको थिएन।’

‘प्रदेश सरकारको पहलमा यी विकट क्षेत्रलाई हालसालै सडकले जोडेको छ’, उनले थपे, ‘अब भने यस क्षेत्रको बस्ती विकासमा यी पूर्वधारले मद्दत पुग्नेछ।’

उनका अनुसार उक्त सडक बनेसँगै जिल्लाका विकट स्थानीय तहलाई सडक सञ्जालले जोड्ने क्रम सुरु भएको छ। सुगम जिल्लाको दुर्गभ क्षेत्र उपनाम पाएका पहाडी भेगका स्थानीय तहमा यातायातको सुविधा पुगेको छ।

किसानचोक–टाँडी–आइतबारे रवि सडक बनेसँगै मिक्लाजुङ गाँउपालिकाका विकट वडाहरू १, ३ र ६ लाई तराईसँगको सडक सञ्जालले जोडेको छ। योसँगै सोही गाँउपालिकाका २ र ४ का वडाबासीले पनि यातायातको सुविधा पाएका छन्।

तत्कालीन गाविस रमिते, टाँडी, जाँते ४ र ५ र मधुमल्ला १, २, ३, ४, ५ र ६ वडा समेटेर मिक्लाजुङ गाउँपालिका बनाइएको थियो। तर भौगोलिक विकटताका कारण त्यस क्षेत्रका बासिन्दाले सडक सुविधा उपभोग गर्न पाएका थिएनन्।

उनले सडकले मिक्लाजुङका वडालाई जोडेसँगै यस क्षेत्रबाट सुविधाका लागि बसाइँ सर्ने क्रम पनि रोकिने विश्वास व्यक्त गरे। 

प्रदेश सरकारले २०७६ असोजमा पहिलो प्रादेशिक सडकका रूपमा यो सडकको योजना अघि सारेको थियो। कूल १९ किलोमिटर सडकको शिलान्यास तत्कालीन प्रदेश सरकारका अर्थमन्त्री इन्द्र आङ्बोले गरेका थिए। 

पूर्वाधार विकास कार्यालय मोरङका सिनियर डिभिजन इन्जिनियर सुशील श्रेष्ठका अनुसार कोरोना महामारीका कारण सडक निर्माण केही ढिला भए पनि अहिलेसम्म ८५ प्रतिशत काम पूरा भइसकेको छ। 

उनले बाँकी काम पनि यही आर्थिक वर्षको चैत मसान्तसम्म सक्ने तयारी रहेको जानकारी पनि दिए।

उत्तर–दक्षिण सडक बनेसँगै पूर्वपश्चिम भेडेटारदेखि राँके हुँदै पाँचथर सदरमुकाम फिदिम जोड्ने छ। साथै फिदिमलाई तराईका जिल्ला जोड्न सहज मार्गका रूपमा यो सडक विकास हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .