पाँचथरको फालेलुङमा आजदेखि आठौँ चौँरी महोत्सव हुँदैछ। हरेक वर्ष नयाँ वर्ष पारेर आयोजना गरिने चौँरी महोत्सव यो वर्ष पनि आयोजना गर्न लागिएको फालेलुङ गाउँपालिकाले जनाएको छ।
फालेलुङ गाउँपालिकाको वडा नम्बर ४ हुने चौँरी महोत्सव वैशाख १ गतेसम्म आयोजना गरिने फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्र कुमार जबेगुले जानकारी दिए।
महोत्सवमा चौरीसँगै फोम्जो, याक, डी र उराङसहित चौँरी र भेडाजन्य उत्पादन प्रदर्शनीमा राखिने छन्।
भारतको सिक्किम र पश्चिम बंगालको सीमा नजिकै नेपाली भूमिमा आयोजना गरिने महोत्सवमा पाँचथर, ताप्लेजुङ, इलाम, झापा, तेह्रथुमसहित छिमेकी मुलुक भारत र भुटानसम्मबाटसमेत पर्यटक आउने गरेका छन्।
लोप हुँदै गएको चौँरी संरक्षण, चौरी पालन व्यवसाय प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको गाँउ पालिका अध्यक्ष वीरकुमार थाम्सुवाङले बताए। फालेलुङमा २०७४ सालदेखि चौँरी महोत्सव आयोजना हुँदै आएको छ।
महोत्सवमा हिमाली क्षेत्रको संस्कृतिसँगै स्थानीयको आर्थिक उर्पाजनको मेरुदण्डका रुपमा रहेको चौरीलाई पर्यटनसँग जोडेर लाने उद्देश्यले चौरी महोत्सव आयोजना हुँदै आएको आयोजक संस्थामध्येको एक दिप ज्योती युवा क्लवले जनाएको छ।
भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र पाँचथरको तथ्यांक अनुसार २० वर्ष अगाडीसम्म पाँचथर जिल्लामा ३ हजार ५ सय चौँरी थिए। अहिले यो संख्या घटेर १ हजार पाँचसयको हाराहारीमा झरेको छ।
चौँरीको घट्दो क्रमलाई रोकथाम गर्दै युवा पुस्तालाई यस व्यवसायमा आकर्षित गर्न फालेलुङ गाँउ पालिकाकै लगानीमा यो वर्ष पनि दिप ज्योती युवा क्लव, फालेलुङ कञ्चनजंघा पर्या पर्यटन र कञ्चनजंघा चौँरी पालन सस्थाले चौँरी महोत्सव आयोजना गरेका हुन।
यस वर्षको चौरी महोत्सवलाई पर्यटन कार्यालय काकरभिट्टा र नेपाल पर्यटन बोर्डलेसमेत प्रवर्द्धन गरेका छन्।
Shares

प्रतिक्रिया