कारोबार


१७ दिनपछि फाप्लुमा उडान

१७ दिनपछि फाप्लुमा उडान

नेपालखबर
असार १२, २०८२ बिहिबार ६:५२, सोलुखुम्बु

पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ।

प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौँबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौँ फर्किएको हो।

जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौँ फर्किएको अधिकृत थापाले जानकारी दिए। भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरु काठमाडौँ पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताए। उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन् । काठमाण्डौँ ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुङ्गा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ।

सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ । मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातयात व्यवसायी मिङ्मार शेर्पाले बताए।

नियमित उडान तालिका कागजमै सीमित

जिल्लाका सदरमुकाम नजिकको फाप्लु विमानस्थलमा हाल नेपाल एयरलाइन्सबाहेक अन्य निजी विमान कम्पनीहरुले नियमित उडान तालिका राखेका छैनन्। मौसम प्रतिकूल भइरहने र यात्रुसमेत पर्याप्त नुहने भएपछि निजी विमान कम्पनीहरुले नियमित उडान तालिका समावेश नगरेका हुन्।

नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाण्डौँ–फाप्लुमा उडान भर्ने तालिका तय गरेको छ । तर, मौसमका कारण ती उडानहरु अवरुद्ध हुँदा यात्रु मारमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार हरेक महिना औसत १०/१२ दिन मात्र उडान हुन सक्ने अवस्था रहन्छ।

अर्कोतर्फ नेपाल एयरलाइन्ससँग अहिले फाप्लुका लागि चल्ने ट्विनअटर जहाजको सङ्ख्या सीमित छ। यन्त्रको अवस्था, पाइलटको अभाव र अन्य प्राविधिक कारणले गर्दा समेत तालिका प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ।

फाप्लुबाट काठमाडौँसम्मको सडक मार्गको दूरी करिब २७५ किलोमिटर छ तर, त्यो सडक अहिले पनि गाडीका लागि पूर्ण रूपमा उपयुक्त छैन। बीपी राजमार्गको सिन्धुली, खुर्को तथा काभ्रे क्षेत्रको सडक पहिरोका कारण जोखिमपूर्ण भएकाले जिल्लावासीलाई सङ्घीय राजधानी काठमाडौँ आउजाउ गर्न कठिन छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad