कारोबार


एसियन हाइवेको पूर्वी खण्डमा धमाधम कालोपत्रे

एसियन हाइवेको पूर्वी खण्डमा धमाधम कालोपत्रे

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०८२ आइतबार ६:५७, झापा

निर्माणाधीन एसियन हाइवेको पूर्वी खण्डमा कालोपत्रे सुरु भएको छ। काँकडभिट्टाबाट केरखासम्मको ४५ किलोमिटरमध्ये दुई दशमलव पाँच किमी सडकमा कालोपत्रे सुरु गरिएको काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालय (पूर्वी खण्ड) ले जनाएको छ। 

बिर्तामोड, मेचीनगर, शिवसताक्षी र कमलका केही स्थानमा तीव्र गतिमा भइरहेको छ । सडक आयोजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख इन्जिनियर सुनिलबाबु पन्तले सडकको एकातिरको लेनमा पहिलो सतहको कालोपत्रे गरिएको बताए।

‘काम तीव्र गतिमा भइरहेको छ’, उनले भने, ‘पछिल्लो समय निर्माण व्यवसायीले पनि ध्यान दिएर कामको गति बढाएको छ। वर्षा सकिएको छ, अब चाडपर्व पनि सकिएपछि कामको गति अझै बढ्छ।’ उनले पहिलो सतहको कालोपत्रे भएको सडकमा माथिल्लो सतहको पाँच सेन्टिमिटरको कालोपत्रे थपिने जानकारी दिए।

एसियाली विकास बैङ्कको सहयोगमा रु १० अर्बको लगानीमा एसियन हाइवेको पूर्वी खण्डअन्तर्गत काँकडभिट्टाबाट केरखाको सीतापुरीसम्मको स्तरोन्नति कार्य जारी छ। निर्माणसम्बन्धी ठेक्का लिएको एभ्रास्कन कालिका जेभीले सडकमा पर्ने १५२ वटा कल्भर्टमध्ये ९२ को निर्माण सम्पन्न गरिसकेको जनाएको छ। 

यातायातको अधिक चाप हुने सहरी क्षेत्रमा ओभरपास निर्माण पनि धमाधम भइरहेको आयोजना प्रमुख पन्तले बताए। उनका अनुसार मेचीनगरको चारआली चोकबाट पूर्वतर्फ २५१ मिटर, पश्चिमतर्फ २२६ मिटर र बिर्तामोडको चारपानेमा चोकबाट पूर्वतर्फ २०७ मिटर, पश्चिमतर्फ ३०८ मिटर ‘ओभरपास’ निर्माण धमाधम भइरहेको छ।

आधुनिक ढाँचामा निर्माण भइरहेको ओभरपासमा मानिस र सवारीसाधन आवतजावत गर्ने बेग्लाबेग्लै ठाउँ बनाइने उनले बताए। मेचीनगरको चारआलीअन्तर्गत जङ्गल क्षेत्रमा पर्ने सडकमा हात्तीसहित जङ्गली जनावर ओहोर–दोहोर गर्नका लागि ‘एनिमल अन्डरपास’ पुल निर्माण भइरहेको उनले जानकारी दिए। 

पूर्वी खण्डको १८ वटा पुलमध्ये अधिकांशको काम भइरहेको आयोजना प्रमुख पन्तको भनाइ छ। सङ्घीय सरकारले काँकडभिट्टाबाट केरखासम्मको पूर्वी सडकखण्ड निर्माणका लागि दमकमा र केरखाबाट इटहरीसम्मको पश्चिमी सडकखण्डको निर्माणका लागि इटहरीमा कार्यालय स्थापना गरेको छ। 

हालसम्ममा सो सडकखण्डको भौतिक प्रगति २७ प्रतिशत रहेको आयोजना प्रमुख पन्तले जानकारी दिए। सरकारले काँकडभिट्टा–लौकही सडकको ९५ दशमलव ७६ किलोमिटर क्षेत्रमा एसियन हाइवेको निर्माण अघि बढाएको भन्दै उनले सहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको सडक बन्ने उल्लेख गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad