७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी ६ संयुक्त जलविद्युत परियोजनाको लागि नेपालले भारतीय एनएचपीसी कम्पनीसँग सम्झौता गरेको छ।
आज राजधानीमा विशेष कार्यक्रम आयोजना गरी सम्झौता गरेको हो।
लगानी बाेर्डका सीईओ सुशील भट्ट र एनएचपीसीका अध्यक्ष एके सिंहबीच सम्झाैतामा हस्ताक्षर भएकाे हाे।
लगानी बोर्ड बोर्ड बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको थियो। सोहीअनुसार आज सम्झौता भएको हो।
पश्चिम सेती आयोजना २०५४ सालमा अस्ट्रेलियाको स्मेकलाई निर्माणको लागि जिम्मा दिइएको थियो। सम्झौताअनुसार उक्त कम्पनीले काम नगरेपछि २०६६ मा सरकारले सम्झौता तोडेको थियो।
पछि फेरि २०६८ मा चीनको थ्रि गर्जेजसँग समझदारीपत्रमा हस्ताक्षर भएको थियो। चिनियाँ कम्पनीले पनि होल्ड मात्रै गरेर पछि नसक्ने बताएपछि यसको निर्माणबारे अन्योल रहँदै आएको थियो।
लगानी सम्मेलन मा समेत लगानी बोर्डले पश्चिम सेती शोकेस गरेको थियो। लगानी बोर्डले पश्चिम सेतीसँगै एसआर ६ सँगै बनाउँदा पश्चिम सेतीलाई ७५० मेगावाट र एसआर ४५० मेगावाट बनाउन सकिने निष्कर्ष निकालेको छ। एसआरको लागत अनुमान १ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ।
कुल १२ सय मेगावाटको आयोजना बनाउन झण्डै ३ खर्ब लागत रहेको छ। शोकेसअनुसार तत्कालीन मूल्यमा १ खर्ब ६० अर्ब लागत अनुमान गरिएकोमा हालको मूल्यअनुसार आयोजनाको लागत १ खर्ब ८२ अर्ब गर्ने अनुमान बोर्डको छ।
सम्झौता कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना बन्नेमा विश्वास व्यक्त गरे।
उनले भने, ‘म विश्वस्त छु की एनएचपीसीले यी परियोजनाहरु समयमा नै अध्ययन गरी विकासको प्रक्रिया शुरु गर्नेछ। अध्ययन गर्ने क्रममा सरोकारवाला सबै तहका सरकार, सम्बन्धित निकाय र स्थानीय जनताको सक्रिय साथ सहयोगको अपेक्षा गर्दछु। पश्चिम सेती परियोजना राष्ट्रिय गौरवको परियोजना भएको र यी परियोजनाहरुको लाभ सबै नेपाली जनतालाई हुन्छ र सुदूरपश्चिमका प्रभावित क्षेत्रका जनतालाई त लाभ हुने नै भयो। त्यस क्षेत्रको आर्थिक क्रियाकलापमा सुधार आउने छ। परियोजनाको लाभ लिनको लागि परियोजना निर्माणमा आ-आफ्नो क्षेत्रबाट सबैको सहयोगको अपेक्षा गर्दछु। नेपाल सरकारको तर्फबाट गर्नु पर्ने सबै प्रकारको समन्वय, सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु।’
यस्तो छ समझदारीको मुख्य विशेषता
समझदारीपत्र अनुसार प्रस्तावकले पश्चिम सेती जलविद्युत परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिन भित्र सेती नदी–६ जलविद्युत परियोजनाको लागि ६ महिनाभित्र आवेदन गर्नुपर्ने।
सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र देहायका विषयहरुसमेत समेट्ने गरी विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेश गर्नुपर्ने छ।
क) परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्ष,
ख) परियोजनाको अप्टिमाइजेसन सम्बन्धमा
ग) परियोजनालाई जलाशय वा अर्धजलाशयवा संयुक्त रुपमा वा छुट्टाछुट्टै निर्माण गर्ने
घ) परियोजनाको अनुमानित लागत अनुमान
ङ) अध्ययन, निर्माण सरु तथा निर्माण सम्पन्न हुने समय र कार्ययोजना
च) बजार सुनिश्चितता
छ) प्रसारणलाइन सम्बन्धमा
ज) वित्तीय स्रोतको उपलब्धता
झ) परियोजना कार्यान्वयनको तरिका
परियोजना विकास सम्झौता (पीडीए) को निम्ति दुई पक्षबीच वार्ता हुने तथा लगानी बोर्डको कार्यालयले आवश्यक सहजीकरण गर्ने छ।
Shares
प्रतिक्रिया