ad ad

कारोबार


प्याराग्लाइडिङ हट्दा पोखराको पर्यटन उद्योगमा कस्तो असर पर्ला?

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन मिति नजिकिँदै
प्याराग्लाइडिङ हट्दा पोखराको पर्यटन उद्योगमा कस्तो असर पर्ला?

लक्ष्मी जि.सी
भदौ ४, २०७९ शनिबार ६:५७, काठमाडौँ

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि धेरैले प्याराग्लाइडिङ व्यवसाय पोखराबाट विस्थापित हुने चर्चा गरिरहेका छन्। तर, प्याराग्लाइडिङ विस्थापित भए पोखरालाई पर्यटकीय सहर भनेर प्रचार गर्नु व्यर्थ हुने पोखराका व्यवसायी बताउँछन्। 

यस्तै शंकाउपशंकाका बीच पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पोखरा पुगेर प्याराग्लाइडिङ व्यवसाय पोखराबाट नहट्ने बताएका थिए।

सन् २०२३ जनवरी १ बाट क्षेत्रीय विमानस्थल सञ्चालनमा ल्याउने भनेर नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निर्णय गरेपछि धेरैले पोखराबाट प्याराग्लाइडिङ हट्ने अनुमान लगाएका छन्। सञ्चारमाध्यममा त्यही अनुसार समाचार आइरहेका छन्। 

यद्यपि, क्यानले भने पोखराबाट प्याराग्लाइडिङ हटाउन चाहेको औपचारिक जानकारी नेपाल हवाई खेलकुद संस्थासम्म पुर्याएको छैन। क्यानसँगको अनौपचारिक छलफलका क्रममा प्याराग्लाइडिङलाई विस्थापित गर्नुपर्ने कुरा भने आएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराई बताउँछन्। 

‘क्यानका पदाधिकारीसँग अनौपचारिक छलफल गर्दा भने हट्नुपर्छ भन्ने कुरा आएको छ। विकल्प खोज्न भनेका छन्। तर हामीले हटाउने होइन, यहीँ व्यवस्थापन गरेर एउटा बाटो निकालौँ भनेका छौँ,’ उनले भने, ‘हाम्रो उदेश्य भनेको क्षेत्रीय विमानस्थल सञ्चालनमा पनि बाधा नपुगोस् र पोखराको आकाशमा प्याराग्लाइडिङ पनि सञ्चालन हुने अवस्था सिर्जना गरौँ भनेर क्यानसँग र नागरिक तथा संस्कृति पर्यटन उड्ययन मन्त्रालयसँग माग गरेर छलफल गरेका छौँ।’ 

प्याराग्लाइडिङको विकास र नियमनका लागि अहिले मुख्यतः नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल हवाई खेलकुद संस्था क्रियाशील छन्। पोखरामा प्याराग्लाइडिङको विकासका लागि दुवै संस्था मिलेर काम गरिरहेका छन्। हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङलाई खेलकुदको रुपमा पनि विकास गर्न पहल गरिरहेको छ।

भट्टराईका अनुसार विमानस्थलको धावनमार्ग पूर्व–पश्चिम छ। उडान र अवतरण सोही दिशाबाट हुन्छ। 

‘प्याराग्लाइडिङ विमानस्थलबाट उत्तरपश्चिम दिशामा छ। विमान आउँदा र जाँदा असर त गर्दैन तर मिस एप्रोच हुँदा, उचाइ लिँदा वा दाहिने घुम्दा प्याराग्लाइडिङ उड्ने आकासतिर पर्छ,’ उनले भने, ‘त्यस्तो केही असर त गर्दैन तर सुरक्षाको लागि केही ठाउँ खाली राख्नुपर्छ।’ 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुने अवस्था पनि छैन। तसर्थ, प्याराग्लाइडिङलाई असर नगर्न सक्छ। यसले पार्ने असरबारे क्यानले अध्ययन गरिरहेको सरकारी अधिकारीहरु बताउँछन्।

६० कम्पनी, डेढ अर्ब लगानी
पोखराको आकाशमा प्याराग्लाइडिङ हुन थालेको २०–२५ वर्ष भैसकेको छ। यसले अन्तर्राष्ट्रिय रुपमै धेरै चर्चा भने त्यतिबेला पायो, जब सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा भएको एसियाली खेलकुदमा नेपाललाई पदकविहीन हुनबाट जोगायो।

प्याराग्लाइडिङले नेपाललाई पदकविहीन हुनबाट मात्र जोगाएन, पहिलो पटक समावेश खेलमा नेपालले रजत पदक समेत जित्यो। समूहगत खेलमा एसियाडमा जितेको त्यो हालसम्मकै पहिलो पदक थियो।

त्यस्तै एसियाडमा नेपालले २० वर्षपछि रजत पदक जितेको थियो। सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्। 

क्षेत्रीय विमानस्थल बनाउन पोखरेलीले लामो संघर्ष गरेका थिए। तर यो विमानस्थल बन्नासाथ पोखराको आकाशमा उडिरहेको व्यवसाय विस्थापित गर्न पनि गाह्रो छ। 

अहिले ६० वटा प्याराग्लाइडिङ संस्था व्यावसायिक रुपमा सञ्चालनमा छन्। ती ६० वटा प्याराग्लाइडिङ कम्पनीमा हरेकसँग ५ देखि ७ जनासम्म व्यावसायिक ग्लाइडर छन्।

डेढ अर्बभन्दा बढी लगानी भएको उद्योग हो यो। ३७५ जना दक्ष पाइलट छन्। जसमा महिलाहरु करिब २० जना छन्। सोलो पाइलटको संख्या १५० भन्दा बढी छ। यसबाट १ हजारभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन्। प्याराग्लाइडिङ सार्दा पोखराको त्यो लगानी र रोजगारीलाई असर गर्छ।

प्याराग्लाइडिङबाट कति कारोबार हुन्छ, त्यो चाहिँ स्पष्ट नभएको भट्टराईले बताए। सिजनमा आठ नौ सय र अरु बेला तीन चार सय उड्ने गरेको उनले बताए। प्याराग्लाइडिङ गर्न ८ हजार रुपैयाँ लाग्छ। 

कोभिड–१९ को समयमा केही ओरालो लागेको प्याराग्लाइडिङ व्यवसाय बिस्तारै उकालो लाग्दैछ। अब सेप्टेम्बरबाट यसको सिजन सुरु हुन्छ। नेपालको भौगोलिक अवस्थाले जहाँ पनि प्याराग्लाइडिङ गर्न सकिन्छ तर पोखराको विकल्प भने कहीँ नभएको पोखरेली व्यवसायीहरु बताउँछन्।

पर्यटन व्यवसायी तथा नेपालले एसियाडमा रजत पदक जित्दाका प्रशिक्षक योगेश भट्टराई पनि पोखराबाट प्याराग्लाइडिङ हटाउन नहुने बताउँछन्। 

भट्टराई भन्छन्, ‘विकासको नाममा विनाश भइरहेका छन्। प्याराग्लाइडिङ विस्थापित हुँदा पर्यटनमा ठूलो धक्का पुग्छ।’
 

प्याराग्लाडिङको विकासमा सरकारको लगानी छैन। सरकारी लगानीबिना एसियाडमा प्याराग्लाइडिङले दिलाएको सफलताले यो क्षेत्र सरकारको नजरमा पर्नेमा कम्पनी सञ्चालक र प्याराग्लाइडरहरु उत्साहित थिए। तर, त्यसो भएन। 

प्याराग्लाइडिङ व्यावसायिक रुपमा राम्रो सम्भावना भए पनि यसलाई खेलको रुपमा विकास गर्नु कठिन छ। असोजमा हुने नवौँ राष्ट्रिय खेलकुदमा पनि प्याराग्लाडिङलाई समावेश गरिएको छ। यसले पनि पोखराको पर्यटन व्यवसाय फस्टाउने अपेक्षा पोखरेलीहरुको छ।

के भन्छ प्राधिकरण?
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले पोखरा विमानस्थल सञ्चालनका लागि प्याराग्लाइडिङ हटाउनु पर्ने देखिएको बताउँछन्।

उनले हालसम्मको अध्ययनले प्याराग्लाइडिङ नहटाए अन्तरराष्ट्रिय उडानमा समस्या पर्ने देखिएको उल्लेख गरेका छन्। 

‘अहिलेसम्मको अध्ययनले प्याराग्लाइडिङलाई हटाउनु पर्छ भन्ने नै देखिएको छ,’ निरौलाले भने,‘प्याराग्लाइडिङ नहटाउन विभिन्न ठाउँमा माग आएकाले नहटाइ हवाई उडान सम्भव छ वा छैन पुनः विस्तृत अध्ययन हुँदैछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .