ad ad

खेल


मर्‍यो आठ स्वर्णको आश

मर्‍यो आठ स्वर्णको आश

लक्ष्मी जि.सी
मंसिर ४, २०७६ बुधबार ७:१६,

 गतवर्ष (२०७५) भदौमा इन्डोनेसियाको जाकार्तामा १८ औं एसियाली खेलकुद (एसियाड) को अन्त्यतिर आइपुग्दा नेपाल पदकविहीन बन्ने खतरा बढिरहेको थियो। २९ खेलमा सहभागिता जनाएको नेपालले एकपछि अर्को निराशा भोग्दै गर्दा १२ औं दिनमा एउटा सनसनीपूर्ण खबर आयो, ‘प्याराग्लाइडिङमा नेपालले रजत जित्ने पक्का।’

त्यो पदकले नै नेपाललाई एसियाडमा पदकविहीन हुनबाटमात्रै जोगाएन बृहत खेलकुदमा नेपालले २० वर्षपछि रजत जितेकाले त्यसको थप महत्व थियो। अर्कातिर पहिलोपल्ट सहभागी पाराग्लाइडिङले देशको इज्जत धानेपछि खेलकुद जगतमा प्याराग्लाइडिङले चर्चा ह्वात्तै बढ्यो।

त्यसबेला स्वर्ण जित्नबाट क्रसकन्ट्री विधाको नेपाली टिम जापानभन्दा थोरै अंक (२७) ले मात्रै पर्‍यो। एसियाडको ऐतिहासिक पदकपछि नेपालका खेलसम्बद्ध निकायहरुको ध्यान प्याराग्लाइडिङतर्फ जान गयो। त्यसैको प्रतिफल स्वरुप घरेलु मैदानमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजकका हैसियतले नेपालले प्याराग्लाइडिङलाई महत्व दिदैँ थप्यो।

सागमा आयोजक राष्ट्रले दुई खेल थप्न पाउने प्रावधान छ। त्यही अधिकारको प्रयोग गरि नेपालले क्रिकेट र प्याराग्लाइडिङलाई गत वर्षको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकबाट थपेको थियो।

एसियाडमा २७ अंकले मात्रै स्वर्ण गुमाएको नेपाली प्याराग्लाइडिङ टोली उक्त निर्णयसँगै हर्षित मात्र बनेन स्वर्णकै तयारीमा गत बैशाखदेखि जोडतोडका साथ तयारीमा जुटेको थियो। तर जतिजति साग नजिकिदैँ गयो उनीहरु त्यतित्यति निराश बन्न निराशमात्रै बनेका छैनन्। प्याराग्लाइडिङका आठ स्वर्णको आश नेपालले मारिसकेको छ।

‘टिम नपुग्ने भएपछि प्याराग्लाइडिङ खेल सागमा नहुने भएको छ,’ राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले भने, ‘यो प्याराग्लाइडिङ र नेपाली खेलाडीका लागि निराशको क्षण त हुँदै हो। साथसाथै त्यसबाट आशा गरिएका पदक पनि नेपालले गुमाउने भएको छ।’

सागको प्रावधान अनुसार एउटा गेम हुन कम्तिमा तीन देश (टोली)को सहभागिता हुनपर्छ। तर, प्याराग्लाइडिङमा नेपाल र पाकिस्तानबाहेक अन्य टोलीले नामै लेखाएनन्। सोहीकारण यो खेल नहुने खेलाडी तथा प्रशिक्षकलाई जानकारी गराइसकेको संयोजक रानाभाटले बताए।

पदक जोगाउने प्रयास
सागमा एक्युरेसी र क्रसकन्ट्रीतर्फ महिला तथा पुरुष एकल र टिम इभेन्टमा गरी ८ स्वर्णका लागि हुने प्रतिस्पर्धा हुने तय थियो। ती सबै इभेन्ट्समा नेपालको बलियो दाबेदारी रहेको प्रशिक्षक योगेश भट्टराई बताउँछन्।

‘अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको वरियतामा पनि नेपालको स्तर दक्षिण एशियाका देशहरुका भन्दा माथि छ’, प्रशिक्षक भट्टराईले भने, ‘हामी शतप्रतिशत (८ वटै) स्वर्णका लागि विगत ७ महिनादेखि प्रशिक्षणरत थियौं। हाम्रो जित्ने सम्भावना पनि बलिया थियो। तर, प्याराग्लाइडिङ नै नहुने भएपछि देशले आशा गरेको पदकमा समेत धक्का पुग्ने भएको छ।’

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले यस सागका कम्तीमा ऐतिहासिक ५० स्वर्ण जित्ने लक्ष्य राख्नु पछाडिको मुख्य कारण प्याराग्लाइडिङ थियो। प्याराग्लाइडिङ टोली पुर्याउन नेपालले हरसम्भव प्रयास गरेको उनी बताउँछन्।

‘प्याराग्लाइडिङ हाम्रो स्वर्ण सम्भावना भएको खेल हो,’ सदस्यसचिव सिलवालले भने, ‘यो खेल होस् भनेर हामीले विभिन्न अफर गरेका छौं। उनीहरुलाई खान बस्न, हवाई भाडा दिएर भए पनि लोभ्याउने प्रयास गर्‍यौँ। त्यति गर्दासमेत टिम नपुग्ने देखियो।’

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको गत नोभेम्बर ९ मा भएको बोर्ड बैठकमा समेत प्याराग्लाइडिङमा टोली पठाउन सबै देशसँग आग्रह गरिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए। ‘हामी काउन्सिलको बोर्ड बैठकमै सहभागी देशहरुका अध्यक्षहरुसँग प्याराग्लाइडिङ टोली पठाइदिन विशेष पहल गरेका हौं। उहाँहरुले पहल गर्छौ भन्नुभएको थियो। तर, सम्भव भएन’, अध्यक्ष श्रेष्ठले भने।

आफ्नै खर्चमा तयारी
प्याराग्लाइडिङ नहुने भएपछि आफ्नै खर्चमा तयारी गरेका खेलाडी तथा प्रशिक्षकहरु निराश बनेका छन्। ‘खेलाडीले पाउनुपर्ने सुविधा तथा आवश्यक सामग्री पनि आफैँ खरिद गर्नुपर्ने बाध्यताकाबीच पनि हामीले सात महिना तयारी ग¥यौँ। अहिले आएर देशका लागि पदक जित्ने सपना पनि तुहिएको छ’, निराश हुँदै प्रशिक्षक भट्टराईले भने।

राखेपले सागको तयारीका लागि अन्य खेलका खेलाडीहरुलाई होटलमा राखेको थियो। तर, प्याराग्लाइडिङका खेलाडीहरु बैशाखदेखि नै तयारीमा भए पनि राखेपले भत्ता तथा खेल सामग्री केही पनि उपलब्ध नगराएको भट्टराईले बताए।

‘हाम्रो घर यही(पोखरा)मै भएकाले घरमै बस्छौं र तालिम गर्छौँ। तर, आउनेजाने बाहेक पनि थुप्रै खर्च हुन्छ। त्यतातिर कसैको ध्यान पुगेन’, भट्टराईले गुनासो पोखे।

राखेपले भने खेलाडीलाई तयारीमा लागेको खर्च दिने जनाएको छ। ‘खेल नहुने भएपछि उनीहरुलाई जानकारी गराइसकेका छौं’, प्रशिक्षक राष्ट्रिय टिम तयार समितिका संयोजक रानाभाटले भने, ‘टिम तयारी गर्दा लागेको खर्च हामी उहाँहरुलाई उपलब्ध गराउनेछौं।’

यो पनि: सागः लक्ष्य ५० स्वर्ण, खर्च ४५ करोड

यो पनि: चार खेलाडी टिमबाट फालिएको त्यो अन्तिम घण्टा

यो पनि: ऐतिहासिक सफलताले जगाएको आशा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .