ad ad

खेल


चार खेलाडी टिमबाट फालिएको त्यो अन्तिम घण्टा

चार खेलाडी टिमबाट फालिएको त्यो अन्तिम घण्टा

लक्ष्मी जि.सी
मंसिर १, २०७६ आइतबार १७:६,

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप छनोट अन्तर्गतको दोस्रो चरणको कुवेतविरुद्धको खेलका लागि शनिबार बिहान ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी बिदाई कार्यक्रम राखेको थियो। सोही समयमा खेलाडी तथा पत्रकारलाई एन्फाले निम्ताएको थियो।

विदाई कार्यक्रममा सहभागीहरु निर्धारित समयअघि नै पुगिसकेका थिए। तर, एन्फाले विदाई कार्यक्रम एकघण्टा ढिलो गरि शुरु गर्‍यो। एक घण्टा ढिलो हुनुको कारण थियो, त्यही बेला चलिरहेको मुख्य प्रशिक्षक योहान कालिनसहित एन्फा पदाधिकारीहरुको गोप्य बैठक। विदाईको अन्तिम घण्टामा भएको त्यही बैठकले राष्ट्रिय टोलीका चार सदस्यलाई टोलीबाट बर्खास्त गर्ने सनसनीपूर्ण निर्णय गरेको थियो।

विदाई कार्यक्रममा पुगेका विमल घर्तिमगरसहित अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङको फरक हाउभाउले स्वीडिस प्रशिक्षक कालिनको ध्यान खिचेको थियो। उनीहरुको अनुहारमा चोट थियो। रक्सीको गन्ध आइरहेको थियो। अपुरो निद्राको छनक समेत पाएपछि कालिनले ती खेलाडीलाई बोलाएर सोधपुछ गरेपछि अघिल्लो रातको घटना खुलासा भइहाल्यो।

रातिको घटनाकै कारण अनुशासन उल्लंघन गरेको भन्दै एन्फाले छलफलपछि खेलाडीहरुलाई मंसिर ३ गते हुने कुवेतविरुद्धको खेल खेल्ने टोलीबाट हटाउने निर्णय गरेको थियो।

‘एन्फा पदाधिकारीहरुसँगको सल्लाहमा प्रशिक्षक कालिन र टोली व्यवस्थापनले अनुशासन उल्लंघन गरेको भन्दै ती खेलाडीलाई हटाउने निर्णय गरेका हुन्,’ एन्फा प्रवक्ता किरण राईले भने।

के भएको थियो?
विश्वकप छनोटको कुवेतविरुद्धको खेल खेल्ने नेपाली टोलीका सदस्यहरुलाई एन्फाले ललितपुरको कुपन्डोलस्थित सांग्रीला ब्लु होटलमा राखेको थियो। शुक्रबार साँझ करिब साढे ६ बजेतिर विमलसहितका चार खेलाडी मोटरसाइकलमा त्यहाँबाट निस्केका थिए। उनीहरुको मोटलसाइकल ठमेल तिर हुँइकियो। त्यसपछि उनीहरु झण्डै ५–६ घण्टासम्म हराए, होटल फर्किएनन।

‘भोलिपल्ट विदाई कार्यक्रम थियो। तर, मुख्य खेलाडीहरु नै राति अबेरसम्म गायव हुँदा टोलीका अन्य सदस्यहरु पनि आश्चर्यमा परेका थिए,’ एक राष्ट्रिय खेलाडीले नेपालखबरसँग भने, ‘भोलिपल्ट उनीहरुलाई टोलीबाट बर्खास्त गरिएपछि सबै घटना बाहिर आयो।’

प्रशिक्षक योहान कालिनले अघिल्लो रातको घटनाक्रमबारे बताएपछि एन्फाका महासचिव इन्द्रमान तुलाधार, कार्यवाहक अध्यक्ष पंकज नेम्बाङ तथा उपाध्यक्ष कृष्ण थापाले विदाईअघि सबै खेलाडीलाई अलग–अलग राखेर शुक्रबार रातिको घटनाबारे जानकारी लिएका थिए।

उक्त सोधपुछमा खेलाडीहरुले आफ्नो बचाउमा पदाधिकारीहरुसँग रातभरि ठमेलमा घुमेको स्वीकार्दै मोटरसाइकल दुर्घटनामा चोट लागेको बताएका थिए। तर, सोधपुछमा संग्लन एक पदाधिकारी भने उनीहरुको भनाई पत्यारलाग्दो नभएको बताउँछन।

‘बिहानसम्म पनि उनीहरुबाट मदिराको दुर्गन्ध आइरहेको थियो। अनुहारमा पनि चोट देखिन्छ। राति होटलबाट गएर गायब छन्,’ ती पदाधिकारीले भने, ‘सबैपक्ष हेर्दा उनीहरु घुमेरमात्रै फर्किएको कुनैपनि हालतमा पुष्टि हुँदैन। उनीहरुले त्यहाँ मदिरा सेवन गरेको तथा झैझगडा गरेको पनि शंका गरिएको छ।’

नेपालखबरले सबै खेलाडीहरुसँग बुझ्न खोज्दा कोहीपनि खेलाडी सम्पर्कमा आउन चाहेनन।

एन्फा प्रवक्ता किरण राईले उनीहरुमाथि थप अनुसन्धान भइरहेको र केही दिनमा सत्यतथ्य बाहिर आउने बताए। ‘यस विषयमा एन्फाले थप अनुसन्धान गरिरहेको छ। अनुसन्धान पछि सत्यतथ्य बाहिर आउनेछ,’ उनले भने।

विमल र अन्जनले यसअघि पनि मापसे सेवन गरि एन्फा एकेडेमीमा होहल्ला गरेका थिए। सीसीटिभीबाट त्यो पुष्टि भएपछि उनीहरुलाई त्यसबेला एन्फाले सचेतमात्रै गराएको थियो।

यसपटक भने एन्फा कडा रुपमा प्रस्तुत भएको छ। राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जनले एन्फाको यो कदमलाई समर्थन गर्छन।

‘५–७ महिना अघि पनि यस्तै भएको थियो। अहिले पुनः दोहोरियो। यसमा खेलाडी आफू नै दोषी हो,’ विराजले नेपालखबरसँग भने, ‘राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीको अनुशासन अति महत्वपूर्ण हुन्छ। खेलाडीको खराब व्यवहारले फुटबल प्रेमीमा पनि नकरात्मक सन्देश जान्छ। आफूसँगै खेलेका भाईहरुले यसो गर्दा मलाई पनि दुख लागेको छ। खेलाडीले आफ्नो धर्म र कर्म कहिलै बिर्सनु हुँदैन। यसपटक एन्फाले सुधारका लागि सही कदम लिएको छ। टिम म्यानेजमेन्टले पनि खेलाडीलाई अनुशासनमा राख्न सक्नुपर्छ।’

अब के हुन्छ?
यसरी राति डिस्कोमा गएको, मदिरा सेवन गरेको आरोप लागेका कारण एन्फाले खेलाडीलाई टिमबाटै हटाउने कडा कदम चालेको यो पहिलो पटक हो। यस्तो बेला ठ्याक्कै के कारवाही गर्ने एन्फासँग प्रष्ट नियम छैन। एन्फाले सोमबार काठमाडौंमा रहेका पदाधिकारीहरु, अनुशासन समिति, रेष्टुरेन्ट सञ्चालकलाई बोलाएर छलफल गर्ने भएको छ। त्यसबाट आएको निष्कर्षका आधारमा थप कारवाही प्रक्रिया अघि बढाउने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।

‘सोमबार सबै पक्षसँगको छलफलपछि एउटा निष्कर्षमा पुगिन्छ। भुटानविरुद्धको खेलपछि एन्फा अध्यक्ष पनि आउनुहुनेछ। त्यसपछि कारवाहीको प्रक्रिया अघि बढ्छ,’ तुलाधरले भने।

खेलाडीले नबुझेको मर्म
विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको पहिलो होम खेलका रुपमा नेपालले कुवेतविरुद्ध मंसिर ३ गते भुटानमा खेल्दैछ। दशरथ रंगशाला तयार नभएपछि नेपालले तटस्थ स्थानका रुपमा भुटानमा खेल्न लागेको हो।

विश्वकप छनोट अन्तर्गतका नेपालले देशबाहिर खेल्ने चार खेल खेलिसकेको छ। कुवेतसँग नै भएको पहिलो बाहिरी खेलमा नेपाल ७–० ले पराजित भएको थियो। लगत्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० ले हरायो। त्यही एक खेलमात्रै नेपालले उत्कृष्ट पूनरागमन गरेर जित हात पारेको खेल थियो। त्यस खेलमा दुवै गोल कारवाहीमा परेका मध्ये एक खेलाडी अन्जन विष्टले गरेका थिए। तर, अन्जनसँगै अर्का मुख्य फरवार्ड बिमल घर्तिमगर नै कारवाहीमा परेपछि यसपटक नेपाललाई धक्का पुग्ने देखिएको छ।

तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित भएको नेपाल देशबाहिर खेल्ने अन्तिम खेलमा जोर्डनसँग ३–० हुँदा समूह बीमा ३ अंकसहित चौंथो स्थानमा छ।

सोहीकारण कुवेतले आफ्नो वातावरण अनुकुल नहुने भन्दै नेपालले छानेको तटस्थ भुमी भुटानमा नखेल्ने लविङ चर्को बनाए पनि नेपालले एएफसीका पदाधिकारीहरुलाई रिझाउदै भुटानमै खेल हुने वातावरण मिलाएको थियो।

एन्फा महासचिव तुलाधार आफूहरुले खेलाडीहरुलाई अनुकुल पर्ने वातावरण मिलाउन ठूलो कसरत गरेको तर खेलाडीहरुले त्यो मर्म बुझ्न नसकेको बताए।

‘यसअघि उसैको मैदानमा हाम्रो हावापानी अनुकुल नभएकाले हामीले ७ गोल ब्यहोर्नुपरेको थियो,’ तुलाधरले भने, ‘अहिले कुवेतले नमान्दानमान्दै पनि हामीले धेरै लविङ गरेर हामीलाई अनुकुल पर्ने गरि तटस्थ स्थानको रुपमा भुटानलाई छानेका हौं। तर, खेलाडीहरुले हाम्रो त्यो मेहनत र मर्म बुझेनन्। उनीहरुको स्थानमा गएका खेलाडीहरुले त्यसको भर्पाई गर्ने विश्वास लिएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .