सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो।
साविक उपविजेता समेत रहेको एपीएफले डायमण्डलाई २५–१६,२५–१८,१९–१५,२५–१३ र १५–११ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।
पहिलो र दोस्रो सेटमा जित निकालेको एपीएफले त्यसपछिका दुई सेट लगातार गुमाउन पुग्यो। पाचौँ सेटको सुरुवातमा पछि परेको एपीएफले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।
आजै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलमा स्थान पक्का गरेको थियो।
राखेप कर्भडहलमा शुक्रबारको पहिलो खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। पुलिस क्लबले आर्मीलाई २५–१९,१७–२५,२५–१५ र २५–१३ ले पाखा लगायो।
प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ। तेस्रो स्थानका लागि आर्मी र न्यु डायमण्ड खेल्नेछन्। सो खेल मध्यान्ह १२ बजे हुनेछ।
चार टोली सहभागी प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
Shares
प्रतिक्रिया