ad ad

कारोबार


संकटमा टिक्ने प्रयास गर्दै प्याराग्लाइडिङ व्यवसाय : जोगाउला अफरको आकर्षणले?

संकटमा टिक्ने प्रयास गर्दै प्याराग्लाइडिङ व्यवसाय : जोगाउला अफरको आकर्षणले?

लक्ष्मी जि.सी
कात्तिक २०, २०७७ बिहिबार १०:१७,

पयर्टक विदेशी हुन् वा आन्तरिक, अधिकांशको पहिलो रोजाईमा पोखरा पर्ने गर्दछ। एकै शहरमा पाइने विभिन्न प्राकृतिक सुन्दरता पोखराका विशेषता हुन्। यो शहर अधिकांशको रोजाइमा पर्नुको अर्को कारण हो मौसम। तालको सहर भनेर चिनिने पोखरा घुम्नको लागि सबै खाले मौसम उपयुक्त मानिन्छ।

दसैँ तिहारको समयमा त अरु बेलाभन्दा पनि बढी आन्तरिकसँगै विदेशी पर्यटकको घुइँचो लाग्ने गर्छ।

तर यो वर्ष पोखराको दृश्य फरक छ। विश्वव्यापी कोरोना महामारीको असर पोखराको पर्यटन क्षेत्रमा नपर्ने कुरै भएन। पोखराको पयर्टन क्षेत्रका विविध आकर्षणमध्ये प्याराग्लाडिङ एक हो।

तर, कोरोना महामारीको चपेटामा जनजीवन प्रभावित छ। यस्तो अवस्थामा पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले प्याराग्लाइडिङ गर्न चाहनेका लागि छुटको घोषणा गरिएको छ।

यो घोषणाले सकारात्मक प्रभाव परिरहेको देखिन्छ। अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको भिड लाग्न थालेको छ।

नेपाल हवाइ खेलकुद संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारीले कठिन समयमा व्यवसायलाई टिकाउनका लागि छुटको घोषणा गरेको बताए।
उनले भने, कोरोनाका कारण विदेशी मात्र होइन आन्तरिक पर्यटक पनि आउने सम्भावना कम छ। यस्तोमा व्यवसायलाई टिकाउका लागि पनि छुटको योजना अघि सारेका हौं।

कोरानाका कारण पेशा नै बन्द हुने अवस्था आएपछि स्थानीयलाई लक्षित गरेर ५० प्रतिशत छुटमा प्याराग्लाइडिङ गराइन थालिएको हो। सामान्य अवस्थामा विदेशी पर्यटकका लागि ८ र आन्तरिक पयर्टकका लागि ७ हजार रुपैयाँ शुल्क लिने गरिएको थियो। त्यसमा अहिले ठूलो छुट दिइएको हो।

paragliding 2

पोखरामा अहिले ६० वटा प्याराग्लाडिङ संस्था व्यावसायिक रुपमा सञ्चालित छन्। छुटको घोषणापछि अहिले दैनिक करिब ५ देखि ६ सय व्यक्ति प्याराग्लाइडिङमा उड्ने गरेका छन्। नेपालीले प्याराग्लाइडिङका लागि अहिले ३ हजार देखि ३५ सय रुपैयाँ तिरे पुग्छ।

६० वटा प्याराग्लाडिङ कम्पनीमा हरेकसँग ५ देखि ७ जनासम्म व्यावसायिक ग्लाइडर छन्।

छुटका कारण अहिले प्याराग्लाइडिङ गर्नेको घुँइचो नै लाग्ने गरे पनि त्यसले कम्पनीहरुलाई आर्थिकरुपले भने फाइदा नरहेको व्यावसायिहरुको भनाइ छ।

अध्यक्ष भण्डारीले भने, ‘पहिला विदेशी र नेपाली पर्यटक हुन्थे। आम्दानी पनि राम्रो हुन्थ्यो। अहिले अवस्था फरक छ। व्यवसाय पूर्णरुपमा बन्द गर्न नपरोस् भन्नका लागि नाफा नभएपनि छुटमा चलाइरहेका छौं।

असोज १५ गतेबाट सुरु भएको छुटको अफर तिहारसम्म जारी रहने संस्थाले जनाएको छ।

कोरोनाका कारण पयर्टन क्षेत्र सामान्य अवस्थामा नफर्केका बेला प्याराग्लाडिङका लागि दिएको छुट केहि समय अझै लम्बिन सक्ने जनाएको छ।

पोखराको आकाशमा एउटा प्याराग्लाइडरले दैनिक २ वटासम्म उडान गर्न पाउने नियम छ।

तर अहिले चाप बढेसँगै केही प्याराग्लाइडरले भने बढी उडान गरिरहेको पाइन्छ। पोखराको सुन्दरतालाइ उचाईबाट नियाल्नका लागि प्याराग्लाइडिङ राम्रो र आकर्षक माध्यम मानिन्छ।

नेपाललाई पदकविहीन हुनबाट बचाउने खेल
दुई वर्षअघि इन्डोनेसियाको जकार्तामा भएको एसियाली खेलकुदमा नेपाललाई पदकविहीन हुनबाट जोगाउने खेल प्याराग्लाडिङ नै थियो।

पहिलोपटक समावेश खेलमा नेपालले रजत पदक जितेको थियो। समूहगत खेलमा एसियाडमा जितेको त्यो अहिले सम्मकै पहिलो पदक थियो। त्यस्तै एसियाडमा नेपालले २० वर्षपछि रजत पदक जितेको थियो। सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्।

प्याराग्लाडिङ विकासमा सरकारको लगानी छैन। सरकारी लगानीविना एसियाडमा प्याराग्लाडिङले दिलाएको सफलताले त्यसपछि चाहिँ आफ्नो क्षेत्र सरकारको नजरमा पर्नेमा कम्पनी सञ्चालक र प्याराग्लाइडरहरु उत्साहित थिए।

गतवर्ष १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्याराग्लाडिङलाई पहिलो पटक समावेश गरिने भन्दा सबै उत्साहित हुनु स्वभाविक थियो। तर, अन्तिममा प्याराग्लाडिङ सागबाट हटाइएपछि यस क्षेत्रमा आबद्धहरु निराश भएका थिए।

सहभागी राष्ट्रको संख्या नपुगेका कारण सागबाट प्याराग्लाइडिङ हटाइएको थियो। कम्तीमा ४ राष्ट्रको सहभागितामा सागमा कुनै पनि खेलको प्रतिस्पर्धा हुन सक्दछ।

नेपालले सहभागी सबै राष्ट्रको सहमागिताको खर्च उठाउने प्रस्ताव गर्दा पनि सहभागी टोलीको संख्या पुग्न सकेन।

प्याराग्लाडिङमा सरकारको चासो बिस्तारै झनै हराउँदै गएको छ। प्याराग्लाइडिङमा व्यावसायिक रुपमा राम्रो सम्भावना भए पनि यसलाई खेलको रुपमा विकास गर्नु अर्को पक्ष हो।

paragliding 3

सरकारको वेवास्ता
एसियाडमा पदक जितेपछि यो क्षेत्रलाई अझ विकास गर्नपर्छ भनेपनि खेलसँगै यो व्यवसायका रुपमा पनि फस्टाउन र देशको अर्थतन्त्रलाई टेवा दिन सक्छ भनेर सरकारले खासै चासो नदिएको अध्यक्ष भण्डारीको गुनासो छ।

उनी भन्छन्, व्यवसायी र खेलाडीहरु मिलेर नै एसियाडमा त्यति ठूलो उपलब्धी हासिल भएको थियो। यसको पूर्वाधार निर्माण गर्नका लागि हामीले पनि सरकारसँग माग गरेका थियौं। अझै पनि सरकारले हेर्छ भन्ने विश्वास छ।

प्याराग्लाइडिङको विकास र नियमनका लागि अहिले मुख्यतः दुईवटा संस्था नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल हवाइ खेलकुद संस्था क्रियाशील छन्। पोखरामा प्याराग्लाइडिङको विकासका लागि दुवै संस्था मिलेर काम गरिरहेका छन्। हवाइ खेलकुद संस्थाले प्याराग्लाइडिङलाई खेलकुदको रुपमा पनि विकास गर्न पहल गरिरहेको अध्यक्ष भण्डारी बताउँछन्। यसले प्रशासनिक हिसाबले पनि हेरिरहेको छ।

कसरी बन्ने प्याराग्लाइडर
प्याराग्लाइडर बन्न डेढ वर्षको कोर्स पुरा गर्नुपर्छ। यसमा आधारभूतदेखि एड्भान्ससम्मको कोर्स हुने गर्दछ। सुरुवातदेखि एड्भान्ससम्मको कोर्स गर्नको लागि १५ लाखसम्म खर्च हुने गरेको छ।

यसमा ११ वटा कोर्सको ४ लाख र अन्य सामग्रीको गरेर १५ लाख लाग्ने गर्छ। एड्भान्स कोर्स गरिसकेका केहीले प्रोफेसनल कोर्स पनि गर्ने गरेका छन्। नेपाल हवाइ खेलकुद संस्थाले तीन दिनको प्रयोगात्मक र लिखित परीक्षा लिने गर्छ। त्यसको लागि ८ देखि १० हजार खर्च हुने गरेको छ।

अहिले दक्ष प्याराग्लाइडर उत्पादन गर्न धरान, बन्दिपुर र स्याङ्जामा गरेर तीनवटा स्कुल सञ्चालनमा छन्।

प्याराग्लाइडरलाई हवाइ खेलकुद संस्थाले परीक्षण गरेर लाइसेन्स प्रदान गरेपछि मात्र उनीहरुले प्याराग्लाइडिङ गर्न पाउँछन्।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .