समाज


आत्महत्या गर्ने बढेको बढ्यै, कसरी गर्ने रोकथाम?

आत्महत्या गर्ने बढेको बढ्यै, कसरी गर्ने रोकथाम?

प्रकाश न्यौपाने
कात्तिक २०, २०७७ बिहिबार १०:२६,

पछिल्लो समय रुपन्देहीमा आत्महत्याका घटनाहरु बढ्दै गएका छन्। रोकथामका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र मानिसमा बढ्दै गएको तीव्र आकांक्षा तथा नैराश्यताले पनि आत्महत्या गर्नेको दर बढ्दो छ।

आत्महत्या गर्नेहरु बढ्दै जाँदासमेत यसको रोकथामका लागि सचेतनाका कुनै प्रयास गरिएको छैन। मुलुक संघीयतामा गएपछि प्रदेश र स्थानीय सरकार गठन भएका छन्। यी निकाय पनि मौन छन्। नागरिकसँग प्रत्यक्ष जोडिने स्थानीय सरकारका प्रतिनिधिहरुले सचेतना जगाउन बेवास्ता गर्दै आएका छन्। पालिकास्तरमा आत्महत्याविरुद्ध अभियान चलाउने हो भने घटनादर कम गर्न सकिने भए पनि त्यसो हुन नसको मनोरोग विशेषज्ञहरु बताउँछन्।

पछिल्लो पाँच वर्षमा ९ सय ४७ ले झुण्डिएर, विष सेवन गरेर, हातहतियार प्रयोग गरेर, हाम फालेर, करेन्ट तथा आगो लगाएर आत्महत्या गरेको रुपन्देही प्रहरी तथ्यांकले देखाउँछ।

‘स्थित भयाबह भएको छ। यसलाई रोक्न प्रहरीले छिट्टै सचेतनामूलक कार्यक्रम संचालन गर्दै छ। स्थानीय तहहरुले नागरिस्तरमा सचेतना कक्षाहरु चलाउनु पर्छ’, रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले भने।

जिल्लामा आत्महत्याको दर बढ्नुमा मानसिक तनाव, आत्मग्लानी, रिस, आवेग लगायत मुख्य कारण रहेको पोखरेलले बताए। प्रहरी तथ्यांक हेर्दा प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढीरहेको देखिन्छ। अत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष छन्। प्रहरी विवरणअनुसार आर्थिक वर्ष ०७७/०७८ को कार्तिक १५ गतेसम्म जिल्लामा ८६ जनाले आत्महत्या गरेका छन्।

यस्तै, अघिल्लो आव ०७६/०७७ मा २ सय २६, ०७५/०७६ मा २ सय २७ र ०७४/०७५ मा पनि २ सय २७ तथा आव ०७३/०७४ मा १८१ जनाले नै आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा २० वर्षदेखि ४५ वर्ष उमेर समूहका बढी छन्। यीमध्ये अधिकांशले झुण्डिएर र विष सेवन गरी आत्महत्या गर्ने गरेका छन्। यस्तै जिल्लामा आगो लगाएर, हामफालेर, औजार प्रयोग गरेर पनि आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ।

‘मान्छे चाहिने भन्दा बढी महत्वकांक्षी हुनु र ती आवश्यकता पुरा नहुँदा, वैदेशिक रोजगारी, श्रीमान् श्रीमतीबीच मनमुटाव हुँदा आत्महत्यासम्मको निर्णय लिने गरेको पनि पाइएको छ’, पोखरेलले भने, ‘यी बाहेक भित्री अन्य कारण पनि हुनसक्छन्, खोजविन गरी न्यूनीकरणमा लाग्न जरुरी छ।’

उनले घटना बढ्नुका कारण र न्यूनीकरण बारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताए।

खासगरी जिल्लामा पछिल्लो समय घरायसी विवाद, अशिक्षा, गरिबी, दिर्घ रोगले गर्दा पनि आत्महत्या गर्ने बढ्दै गएको मनोरोज विशेषज्ञहरु बताउँछन्। यस्तै पारिवारिक विछोड र मानसिक तनाबका कारणले पनि मानिले आत्महत्याको बाटो रोज्ने गरेका छन्।

सानै उमेरमा प्रेम गर्ने, अन्तरजातीय विवाह, महिला तथा घरेलु हिंसाको घटना, युवाहरुमा बेरोजगारी समस्या, बढ्दो प्रविधिसँगै आएको विकृतीले पनि आत्महत्याका घटनाहरु बढ्दै गएको प्रहरीको भनाई छ। युवाहरुलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके न्यूनीकरण गर्न सकिने विशेषज्ञहरु बताउँछन्।

विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान हो। त्यस्तै, भारत र नेपालमा पनि आत्महत्या गर्नेको संख्या अत्यधिक छ। आत्महत्या गर्नेमा १० वर्षे बच्चा, युवादेखि लिएर वृद्धवृद्धासम्म छन्।

मनोरोग विशेषज्ञ प्राध्यापक डा.संदीप सुवेदीले भने, ‘थकान, निराशा, अनावश्यक तनाव, पुराना कुराहरुप्रति वितृष्णा, एक्लै बस्न खोज्ने जस्ता किसिमका लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ, यसो भएमा मनोबलमा परिवर्तन आउँछ र घटनामा कमी हुँदै जान्छ।’

विश्व स्वास्थ्य संगठनकाअनुसार आत्महत्या गर्ने ९० प्रतिशत कारण उदासिनता (डिप्रेसन) रोग हो। आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य भए पनि मानिसले तत्कालै र दीर्घकालीनरुपमा आइपर्ने दुःख र निरासाको क्षण धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल पनि बितेर जाने र यसले आफ्नो आत्महत्याको सोचमा पुनर्विचार गर्न मद्दत पुग्ने सुवेदी बताउँछन्।

‘जन्मपछि मृत्यु स्वभाविक हो तर अनाहकमा जीवन खेर फाल्नु हुँदैन। म केही गर्छु भन्ने आत्मबल बलियो बनाउनुपर्छैं’, मनोरोग विशेषज्ञ प्रा.डा.सुवेदीले भने, ‘थोरै समयमा आफूले गरेको धैर्यतामा अरुबाट थप सहयोग प्राप्त हुनसक्छ, यसले आत्महत्या गर्ने अवस्थामा पुगेको जो कोहीको पनि जीवन जोगिन सक्छ। त्यसैले धैर्य गर्ने बानी बसालौं, आत्महत्याका लक्षण देखिएकाहरुलाई सहयोग र परामर्स दिऔं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .