ad ad

कारोबार


दसैँ यातायात : महँगो हवाइ भाडा, बसको टिकट छैन

४ सय नयाँ बस थप्यौँ : व्यवसायी / १४, १५ र १६ गतेको टिकट नै काटेन : यात्रु
दसैँ यातायात :  महँगो हवाइ भाडा, बसको टिकट छैन

वसन्त अर्याल
असोज १०, २०७९ सोमबार १८:१७, काठमाडौँ

घर जाने बेला टिकट नपाउँदा दसैँका यात्रु अन्योलमा परेका छन्। 

काठमाडौंबाहिर जान नयाँ बसपार्क पुगेका यात्रु अग्रिम टिकट काट्न नपाउँदा निराश हुँदै फर्किनुपरेको हो। 

व्यवसायीले पनि असोज १४, १५ र १६ गते काठमाडौंबाहिरका अधिकांश गन्तव्यमा पुग्न टिकटको व्यवस्था नभएको बताएका छन्।  

‘१४, १५ र १६ गतेको टिकट काट्न आएको, प्याक छ भनेर टिकट नै काटिदिएन’, काठमाडौंबाट बुटवल जाने तयारीमा रहेका एक यात्रुले भने, ‘अब टिकट पाइएन कसरी घर जाने अन्योलमा छु।’

यातायात व्यवसायीले दसैँ लक्षित ४०० नयाँ बस थपेको बताए पनि यात्रुलाई टिकट पाउन मुस्किल भएको छ। असोज १४ गतेसम्म कार्यालय खुल्ने र उक्त साँझबाट काठमाडौं छाड्ने धेरै हुँदा टिकट पाउन अप्ठ्यारो भएको छ। 

हालसम्म ४ लाख बढीले अग्रिम टिकट काटिसकेका छन् भने असोज १ पछि ६ लाख यात्रु बाहिरिएका छन्। 

यातायात व्यवसायीले भने कोभिडको कारण दसैँमा घर जान नपाएका यात्रु एकै पटक जान खोज्दा बस व्यवस्थापनमा समस्या आएको बताएका छन्। 

‘कोभिड महामारीको कारण अघिल्लो २ वर्ष कम यात्रु बाहिर गएका थिए’, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले भने, ‘कोभिडले रोकिएका थिए, दसैँ तिहारलगत्तै निर्वाचनको कारणले यात्रु बढ्दा व्यवस्थापन गर्न कठिनाइ भयो।’

महासंघका अध्यक्ष स्वारले सडकको अवस्थाको कारण समेत यात्रुको व्यवस्थापन गर्न अप्ठ्यारो भएको बताए। 

‘पानी परिरहेको छ। एक दिनमा गएर फर्किने गाडी २ दिनमा आउँछ’, स्वारले भने, ‘टिकट काटेर मात्रै हुँदैन। बाटोको दुरवस्थाका कारण भनेको समयमा गन्तव्यमा पु¥याउन सकिरहेका छैनौँ।’

सरकारले आजबाट सार्वजनिक यातायातका लागि रुट परमिट खुल्ला गरेको छ। यसले यात्रुको चापलाई व्यवस्थापन गर्न केही सहयोग गर्ने व्यवसायी बताउँछन्। 

‘रुट परमिटले केही सहज हुन्छ। जहाँ बढी चाप हुन्छ, त्यहाँ अर्को गाडी हाल्न पाइन्छ’, उनले भने, ‘निजी व्यवसायीका गाडीले नपुगे नेपाली सेना, सरकारसँग भएका बस पनि सञ्चालन गर्नुपर्छ।’

अचाक्ली महंगो हवाइ भाडा
त्यसो त हवाइ भाडा पनि आकाशिएको छ। काठमाडौं–भैरहवाको सामान्य अवस्थाको भाडा ३ हजार, ३५ सय हाराहारीमा हुने गरेकामा अहिले दोब्बले बढेको छ। 

असोज १५ गतेको लागि सस्तो भाडा ७ हजार ५७५ रुपैयाँ छ। भैरहवाको भाडा ८ हजार ६७५ रुपैयाँ तोकिएको छ। 

भैरहवामा यति एयरलायन्स, बुद्ध एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्सले उडानतालिका सार्वजनिक गरेका छन्। असोज १४ गतेबाट दसैँको सार्वजनिक विदा छ। 

१५ गतेबाट सस्तोमा हवाइ टिकट पाउन मुस्किल रहेको कम्पनीहरु बताउँछन्। वायुसेवा कम्पनीहरुले गन्तव्यको पूर्ण भाडा लिने गरी टिकट खुलाएका छन्। 

सुर्खेत, भरतपुर, तुम्लिङटारलगायतका क्षेत्रमा हवाइ टिकट नै पाइँदैन।  काठमाडौं–भरतपुर उडानको लागि हवाइ टिकट नै पाउन सकिने अवस्था छैन। काठमाडौं–भरतपुर रुटमा बुद्ध एयर र गुण एयरलाइन्सले मात्रै उडान गरिरहेका छन्।  

काठमाडौं–धनगढी हवाइ भाडा शनिबार अर्थात् असोज १५ गते १४ हजार २५ रुपैयाँदेखि १७ हजार २५ सम्म छ। काठमाडौं–भैरहवा रुटमा उक्त दिन ७ हजार ५७५ रुपैयाँ देखि ८ हजार ७५ रुपैयाँ छ। बुद्ध एयर र श्री एयरलाइन्सले मात्र उडान गरिरहेका छन्। 

त्यस्तै काठमाडौं–नेपालगञ्जको भाडा १० हजार ३८० रुपैयाँ तोकिएको छ। कम्पनीहरुले असोज १५ गते १३ हजार ९८० रुपैयाँसम्म भाडा तोकेका छन्। 

नेपालगञ्जमा गुण एयरलाइन्स, बुद्ध एयरलाइन्स, श्री एयरलाइन्स, यति एयरलाइन्सले उडानतालिका सार्वजनिक गरिसकेका छन्। 

यता काठमाडौं–भद्रपुर १० हजार ५२५ देखि १२ हजार ९५५ रुपैयाँ छ। यो रुटमा यति एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयर, श्री एयरलायन्सले उडान गरिरहेका छन्। 

असोज १५ गते काठमाडौं–विराटनगर रुटको भाडा ८ हजार ९०५ रुपैयाँ छ। कम्पनीहरुले १० हजार २०५ रुपैयाँसम्म भाडा तोकेका छन्। बुद्ध एयर, यति एयर, सौर्य एरलायन्स, श्री एयरलाइन्स, गुण एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन्।  

काठमाडौं–पोखराको भाडा ५ हजार ८८५ रुपैयाँ छ। पोखरामा ६ हजार ९८५ रुपैयाँसम्म तोकिएको छ। पोखरामा बुद्ध एयर, श्री एयरलाइन्स, यति एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन्।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सुरुमा सस्तो टिकट काटे पनि सार्वजनिक विदापछि अत्यधिक चापको कारण फुल बढी भाडा तिर्नुपर्ने बताएका छन्। एयरलाइन्स कम्पनीले दसैँमा एकतर्फी मात्रै यात्रुको चाप हुँदा बढी भाडा लिनुपर्ने बाध्यता रहेको बताउने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .