ad ad

कारोबार


फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउँदै वीरगञ्ज महानगर

फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउँदै वीरगञ्ज महानगर

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १३:२, वीरगञ्ज

वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाईल एप्लिकेसन प्रयोगमा ल्याउन लागेको छ। 

द एसिया फाउण्डेसनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाईल एप्लिकेसन प्रयोगमा ल्याउन लागेको हो। 

सोमबार महानगर र क्लिन अप नेपालबीच सम्झौता भएसँगै केही दिनमै यो एप्लिकेसन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिए। 

क्लिन अप नेपालले निर्माण गरेको ‘सफा नेपाल’ नामक एप्लिकेसन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध रहेको छ। आउँदा दिनमा आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिन अप नेपालका रविन्द्र लामिछानेले जानकारी दिए। 

यो एप्लिकेसन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखेमा वा फोहोर जम्मा भएको देखेमा फोटो खिचेर एप्लिकेसनमा रिपोर्ट गर्न सक्नेछन्। 

यसरी रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिनेछ। 

यसका साथै फोहोर फाल्दै गरेको व्यक्तिसहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर उसलाई दण्डित गरिने मेयर सिंहले बताए। फोटो पठाउनेलाई भने नगर सफाई अभियानमा सहयोग गर्ने अभियन्ताको रुपमा हौसला बढाउन जरिवानाबाटै पुरस्कारको व्यवस्था मिलाउने पनि उनले बताए। यसरी फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिनेछ। 

महानगरको सभाकक्षमा मंगलबार महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, सबै वडाका वडाअध्यक्ष र सचिवहरु तथा महानगरका कर्मचारीलाई एप्लिकेसन प्रयोगका बारेमा जानकारी गराइएको छ।

सर्वसाधारणले फोटो खिचेर पठाएका समस्या कसरी थाहा पाउने र समाधान कसरी गर्ने भन्ने बारेमा कर्मचारीहरुलाई प्रशिक्षित गर्ने काम क्लिन अप नेपालका रविन्द्र लामिछाने र विनम्र भुषालले गरेका थिए। कार्यक्रमको सहजीकरण द एसिया फाउण्डेसनकी लक्ष्मी कुमारी गुप्ताले गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .