ad ad

कारोबार


‘एस्टर क्लिक’ : अमेरिकाबाट फर्किएपछि फुरेको आईटी र समाज जोड्ने आइडिया

‘एस्टर क्लिक’ : अमेरिकाबाट फर्किएपछि फुरेको आईटी र समाज जोड्ने आइडिया

एस्टर क्लिकका विकासकर्ताद्वय। तस्बिर : सरोज बैजू/नेपालखबर


वसन्त अर्याल
माघ २८, २०७९ शनिबार ९:२६, काठमाडौँ

७ फ्रेबुअरीबाट भृकुटीमण्डपमा क्यान इन्फोटेक चलिरहेको छ। जहाँ झण्डै डेढ सय स्टलहरू अवलोकनकर्तालाई कुरिरहेका भेटिन्छन्। 

तर स्टल नं. ७६ ले भने आगन्तुकलाई विशेष आकर्षित गरिरहेको छ। यो एस्टर क्लिकको स्टल हो जुन एउटा डेटिङ एप हो। 

भ्यालेन्टाइन सप्ताहमा परेको मेला र त्यहीसँग सम्बन्धित यो स्टलमा मान्छेले चासो राख्ने नै भए। किनभने युवापुस्ताले ७–१४ फेब्रुअरीलाई प्रेमिल हप्ता मान्ने गर्छन्। 

एस्टरले बिहे गर्ने उमेरका युवाहरुलाई आफू सुहाउँदो जोडी खोज्न मद्दत गर्छ। त्यही भएर होला– स्टलमै एस्टर क्लिक डाउनलोड र साइनअप गरिरहेका देखिन्छन्।

लमीको स्थान लिँदै प्रविधि! 
आधुनिकतासँगै समाजमा प्रविधिको हस्तक्षेप उत्तिकै बढ्दो छ। एस्टर यसैको एक उदाहरण हो। 

पहिले पहिले वरवधु खोज्ने काम लमीकै हुन्थ्यो। तर इन्टरनेटको बढ्दो प्रयोगसँगै लमीको काम अब एस्टर क्लिकजस्तै एपहरुले गर्नथालेका छन्। 

नयाँ पुस्तालाई ‘लमीको चलन’मा भन्दा आफैँ आफ्नो जीवनसाथी खोज्न सहयोग गर्ने एप नै प्रिय लाग्नथालेको छ। 

‘लमीको इच्छामा आफूलाई मन नपरेको जोडीसँग पनि विवाह गर्न बाध्य हुन्थे’, एस्टरका विकासकर्ता दीपेश न्यौपाने भन्छन्, ‘समाज परिवर्तन हुँदै छ। मानिसहरुको अधिकांश समय अनलाइनमा बित्नथालेको छ।’

हुन त फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालको अनलाइन दुनियाँ पनि ठूलै छ तर जोडी खोज्नेलाई भने यिनै एपले एकोहोर्‍याइरहेका छन्। 

‘असन इन्द्रचोकमा जाँदा भीडको पछि लागेर हिँड्नुपर्छ। जोगिनै गाह्रो’, एस्टर ल्याउनुको कारणबारे उनी भन्छन्, ‘अनलाइनको भीडबाट बच्ने र साइबर सुरक्षा जोखिमबाट पनि जोगिन डेटिङ एप ल्याएका हौँ।’

उनले भनेजस्तै सामाजिक सञ्जाल पछिल्लो समय असुरक्षित भइरहेका छन्। त्यसकारण मानिसहरु सुरक्षित नेटवर्क एकीन गरेर मात्र चलाउँछन्। सुरुमा डेटिङ शब्द नेपालीले सहज नलिए पनि त्यसमा भिज्दै गएको दीपेशको बुझाइ छ।  

एस्टरले यसरी भेट्टाइदिन्छ जोडी 
एस्टर क्लिकले मानिसहरुलाई आफूले खोजेको कस्तो जोडी हो, उमेर कति हो, कस्तो देखिन्छ, गोत्र, पढाइ, बानी व्यहोरा सबै एपबाटै जानकारी दिन्छ। 

नेपाली समाजअनुकूलको यो एपमा खानेकुराको रुचि, शाकाहारी÷मांसाहारी (भेज÷ननभेज), मदिरापान, धूमपानको बानीलगायतका सबै विषय खुलाइदिन्छ। 

उमेर, धर्म र देशको आधारमा एस्टर क्लिकले मानिसलाई जोडी खोज्न सहयोग गर्छ।

एपमा जोडी खोज्न जानेले एक अर्काको प्रोफाइल हेरेर कुराकानी गर्न सक्छन्। कुराकानीबाट जोडी बन्न चाहे ‘क्लिक’ हुन्छन्। कुनै जोडी बनिसक्यो भने अर्कोले अप्रोच पनि गर्न सक्दैन। दुवै जनामात्रै कुराकानी गर्न पाउँछन्। 

त्यसो त अनलाइनमाध्यम भएकाले मानिसहरु एउटा मन परेपछि पनि अर्कोको बारे चासो राख्न खोज्छन्। तर एस्टर क्लिकमा एउटा जोडी बनिसकेपछि अर्कोसँग कुराकानी गर्न पाइँदैन। 

‘एपमार्फत जोडी बन्नेलाई क्लिकटन भन्छौँ। जोडी बनेकाको प्रोफाइल लक हुन्छ’, दीपेशले एस्टरको विशेषताबारे भने, ‘दुई जनामात्रै कुराकानी गर्न सकिने र क्लिकटन जोडी भेट्न जाने ठाउँबारे एपबाटै थाहा हुन्छ।’

धेरै डेटिङ एपमा अश्लीलता फैलिएको सुन्न पाइन्छ तर एस्टरक्लिकमा कसैले अपशब्द प्रयोग गर्न मिल्दैन। अपशब्द लेखेर पठाएको म्यासेज डिलिट हुने उनी बताउँछन्। 

कसरी चलाउने एप? 
यो एप चलाउन प्ले स्टोरबाट सुरुमा एस्टरक्लिक टाइप गरेर डाउनलोड गर्नुपर्छ। त्यसमा फेसबुकमा जस्तै प्रोफाइल बनाउनुपर्छ। नक्कली प्रयोगकर्ता नहोस् भन्नका लागि धेरै कुरा भर्नुपर्ने व्यवस्था छ। 

रोचक कुरा त यसमा फोटो, जन्मदिन नक्कली राख्दा प्रोफाइल ‘भेरिफाइड’ नै हुँदैन। 

‘अहिले अनलाइनबाट मात्रै चल्ने भए पनि हामीले अफलाइनबाटै प्रोफाइल बनाउन सकिने व्यवस्था गर्दै छौँ’, उनले भने, ‘१५ दिनमा सही प्रोफाइल भेरिफाइड हुन्छ।’

फोटो र उमेर ढाँटेर प्रोफाइल बनाए भेरिफाइड नहुने उनले बताए। झूटा विवरण भरेकाले १४ दिनसम्म मात्रै झुक्याउन पाउँछन्। १५ दिनमा एपलाई रेस्पोन्स नगर्नेलाई प्रोफाइल डिलिट हुने व्यवस्था गरिएको छ। 

‘अनलाइनमा बढी भीड हुन्छ। छोराछोरी असुरक्षित भए भन्ने चिन्तालाई एस्टर क्लिकले सबोधन गर्छ’, उनले थपे, ‘अब भीडमा हिँड्नुपर्दैन। रुचिअनुसारकै मानिसबाट उत्तम जोडी छान्न सकिन्छ।’

१४ वर्षपछि अमेरिकाबाट फर्किएर डेटिङ एपको कन्सेप्ट
विजयराज ढुंगेल यसका अवधारणा विकासकर्ता (कन्सेप्ट डेभलपर) हुन्। उनी करिब १४ वर्ष अमेरिका बसेर फर्किए। व्यावसायिक परिवारिक पृष्ठभूमिका उनी यहाँ फर्किएर आफ्नै केही गर्न चाहन्थे। 

त्यही सोचमा घुमिरहँदा उनले आईटीको प्रयोगबाट सबैलाई जोड्न सकिने उपायको खोजी गरे। थुप्रै एपको कन्सेप्ट बनाए। तर आफूले चाहेजस्तो चाहिँ डेटिङ एप नै हुने लाग्यो।  

‘२ वर्ष बढी भयो। एस्टर क्लिक डेभलप गर्न ध्यान दिइरहेको छु’, उनले भने, ‘युजर्स फ्रेन्डली एप हो। विस्तारै नयाँ भर्जन निकाल्दै जान्छौँ। अहिले मुख्य विशेषता यसको बलियो सेक्युरिटी हो।’

खासमा उनले आफ्नो व्यक्तिगत समस्यालाई व्यावसायिक रुपमा ढालेका हुन्। 

सुरुमा डेटिङ एपको कन्सेप्ट देखाउँदा सबै जना हाँसेको उनी बताउँछन्। तर उनको मिहिनेतपछि यसैको लागि अहिले टिम नै खडा भएको छ। 

विजयराजलाई डेभलप्मेन्टसँगै लगानीमा दीपेशले सहयोग गरेका छन्। दीपेश कम्प्युटर इन्जिनियर हुन्। २००६ देखि नै उनले आईटी कम्पनी खोलेका थिए। पछि क्याम्पसमा आईटी लेक्चरर्स भए।  

‘आईटीलाई व्यवसायमा कसरी ढाल्ने, नेपाललाई आईटीको प्रयोग गरी कसरी चिनाउने हुटहुटीको एक स्टेप हो’, उनले भने, ‘विदेशी प्रयोगकर्ताले नेपालको डेटिङ एप प्रयोग गरून् भन्ने चाहना छ।’

एकैदिन ४०० जनासम्म एपमा जोडिए
भर्खर खुलेको एप भएकाले क्यान इन्फोटेकमा सहभागी हुनेले नै एस्टरको बढी प्रयोग गरेका छन्। 

एकै दिन ४१४ जनाले एप डाउनलोड गरी प्रयोगमा ल्याएको विजयराजको भनाइ छ। क्यान इन्फोटेक सकिने बेलासम्म ७ हजार बढी प्रयोगकर्ता हुने विश्वासमा छन् उनी।  

त्यसो त एप नेपालमा मात्रै नभएर विश्वभरकाले नै प्रयोग गर्न सक्छन्। ‘एस्टर इनोभेसन’ कम्पनीको नाम हो भने ‘क्लिक’ एउटा प्रोडक्ट हो। 

‘एउटा प्रोडक्टबाटै हामी सबै ठाउँमा चिनिन चाहन्छौँ’, उनी भन्छन्, ‘अस्ट्रेलिया, अमेरिका, क्यानडा, श्रीलंका, अफ्रिका र नेपालमा यसको प्रयोग गर्न सक्छन्।’

एस्टर इनोभेसनको नेपालसहित ७ देशमा कार्यालय छ। विदेशका नेपालीमात्रै नभई विदेशीले पनि आफ्नो प्रोफाइल बनाउन सक्ने उनले जानकारी दिए। 

उनका अनुसार कुन देशको नागरिक हो, प्रोफाइलमा देशको झण्डाले चिनाउँछ। 

यसमा प्रयोगकर्ता धैरै हुँदा ‘डाटा माइनिङ’ गरी मिल्दो जोडी मात्रै सजिलै खोज्न सकिन्छ। एपमा जोडिनेको लागि ३ वटा वर्ग छुट्याइएको छ– ब्रोन्ज, सिल्भर र गोल्ड।

प्रयोगकर्ताले आफ्नो ‘स्टाटस’अनुसार कुनै एकको मेम्बर लिन सक्छन्। ब्रोन्जका मेम्बरले गोल्डका मेम्बरको प्रोफाइल हेर्न पाउँदैनन्।

‘प्रयोगकर्ताले आफ्नो हैसियतअनुसारको जोडी खोज्न सजिलोका लागि यो सुविधा राखेका हौँ’, विजयराज भन्छन्, ‘गोल्ड मेम्बर भीआईपी हुन्छन् भने सिल्भर र ब्रोन्ज आफ्नो हैसियतअनुसार राख्न सकिन्छ।’

हाल ३ महिनासम्म निःशुल्क प्रयोग गर्न दिइएको छ। सुरुमा डेटिङ एपको विषयमा सचेत बनाउने र विस्तारै व्यावसायिक मोडलमा जाने उनले सुनाए। ३ महिनापछि एप प्रयोग गर्नेले १ हजार रुपैयाँ तिर्ने व्यवस्था गर्ने उनले बताए। 

‘अहिले पैसा लिनेभन्दा पनि जोडी बनाउनेमा हाम्रो ध्यान हुन्छ’, उनले भने, ‘प्रयोगकर्ता बढ्दै जाँदा शुल्क लिँदै जान्छौँ।’

महिलाको चासो बढी, प्रयोगकर्ता कम
साइबर क्षेत्रमा महिला बढी असुरक्षित हुने गरेका छन्। अनलाइन डेटिङ भन्नेबित्तिकै धेरै महिला त जोडिनै तयार हुँदैनन्। 

‘हामी सुरक्षित छौँ भनी आईटी अवेरनेस गराउँछौँ’, विजयराजले भने, ‘हाम्रो एपबाट झुक्याउने सम्भावना हुँदैन। नेपालमा ५१ प्रतिशत महिला रहेका छन्। महिला प्रयोगकर्ता बढ्नेबित्तिकै सफल हुन्छौँ।’

महिलालाई आकर्षित गर्न एस्टर क्लिकको लोगोमा कलर समायोजन गरिएको छ। पिंक र ब्लु कलर प्रयोग गरिएको छ। 

‘महिलाले एस्टरक्लिकबाट आफ्नो पार्टनर खोजेँ भन्न सकून्, हाम्रो मुख्य सफलता त्यही हो’, उनले सुनाए।

कन्सेप्ट डेभलपर्स ढुंगेलले महिला सहभागिता कम हुनुमा सचेतनाको विषय रहेको बताए। नेपाली समाजमा महिलालाई बढी कडाइ गरिँदा प्रयोगकर्ता कम भएको उनको बुझाइ छ। 

‘हाम्रो पेज विश्लेषण गर्दा महिलाले नै धेरै चासो राखिरहेका छन्। ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष छन्’, ढुंगेलले सुनाए, ‘तर प्रोफाइल क्रियट गर्दा पुरुष ८० प्रतिशत र महिला २० प्रतिशत मात्रै छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .