ad ad

कारोबार


ह्वावेले ५ वर्षभित्र दक्षिण एसियामा ५० हजार आईसीटी प्रतिभा विकास गर्ने

ह्वावेले ५ वर्षभित्र दक्षिण एसियामा ५० हजार आईसीटी प्रतिभा विकास गर्ने

नेपालखबर
चैत २०, २०७९ सोमबार २०:१९, काठमाडौँ

प्रविधि कम्पनी ह्वावेले आगामी पाँच वर्षमा दक्षिण एसियामा ५० हजार आईसीटी ट्यालेन्ट विकास गर्ने योजना बनाएको छ। 

यो रणनीतिभित्र आईसीटी एकेडेमी, फरक आईसीटी र स्टार्टअप प्रतिस्पर्धा, अनलाइन कोर्स सञ्चालन, ताजा जनशक्ति नियुक्तिजस्ता विभिन्न प्रकारका कार्यक्रमहरु समावेश रहेको कम्पनीले जनाएको छ। 

दक्षिण एसियामा रहेको कम्पनीको प्रतिनिधि कार्यालयमा आयोजित ‘बिल्डिङ अ स्मार्ट ट्यालेन्ट इकोसिस्टम, इन साउथ एसिया, फर साउथ एसिया’ नामक एक कार्यक्रममा कम्पनीले उक्त योजना सार्वजनिक गरेको हो। 

कार्यक्रममा दक्षिण एसियाका पत्रकार तथा ह्वावेका प्रतिनिधिहरु उपस्थित थिए। कार्यक्रममा ह्वावेका दक्षिण एसिया जनसम्पर्क विभाग तथा बंगलादेशका निर्देशक युयिङ कार्लले योजनाबारे बताएका थिए। 

भर्खरैमात्र कम्पनीले बंगलादेशको ढाकामा आफ्नो दक्षिण एसिया प्रतिनिधि कार्यालय स्थापना गरेको थियो। यसमा नेपाल, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेश समावेश छन्। यो ह्वावे एसिया प्रशान्त क्षेत्रको उपक्षेत्रीय सेग्मेन्ट हुने कम्पनीले उल्लेख गरेको छ। यसको उद्देश्य यस क्षेत्रमा ग्राहक, साझेदार र इकोसिस्टमका लागि उत्कृष्ट मूल्य सिर्जना र यहाँ सहयोग पु¥याउनु रहेको कम्पनीले उल्लेख गरेको छ। 

ह्वावेले प्रतिभा विकासलाई विशेष महत्व दिएको छ। गत वर्ष दक्षिण एसियामा ह्वावेले छ हजार बढी आईसीटी प्रतिभा विकास गरेको र अबको पाँच वर्षमा यसलाई ५० हजार पु¥याउने उल्लेख गरेको छ। 

पछिल्लो धेरै वर्षयता दक्षिण एसियामा कम्पनीले सिड्स फर द फ्युचर नामक कार्यक्रम समेत गर्दै आएको छ। त्योसँगै ह्वावेले स्टार्टअपलाई बीउपुँजी, प्रविधि र मार्गदर्शनलगायतको सहयोग आईसीटी इन्क्युबेटर कार्यक्रममार्फत उपलब्ध गराउँदै आएको छ। महिलाका लागि आईसीटी क्षेत्रमा उसले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

ह्वावेले यस क्षेत्रमा एकेडेमी समेत सञ्चालन गरिरहेको छ। यसले सरकारी प्राविधिक अधिकारीहरु, दूरसञ्चार सञ्चालक, सीएसई÷ईईई विद्यार्थी, र समग्र इकोसिस्टम साझेदारजस्ता सरोकारवालालाई जोड्ने काम गरिरहेको छ। यहाँ विश्वव्यापी रुपमा पछिल्लो आईसीटी आविष्कार, इन्जिनियर कोर्स, समाधान र अन्य कुरा कम्पनीले आफ्नो ३० वर्षयता अनुसन्धान र विकासबाट पाएका कुरा शोकेस गरिने जनाएको छ। 

आईसीटी एकेडेमीहरु दक्षिण एसियाका फरक इन्जिनियरिङ विश्वविद्यालयमा निर्माण भइरहेका छन्। यसबाट विद्यार्थीले उनीहरुले चाहेका कार्यक्रम ल्याउन सक्नेछन् भने विश्वव्यापी मान्य हुने प्रमाणपत्र प्राप्त गर्नेछन्। 

युयिङले ह्वावेका लागि तीन कुरा महत्वपूर्ण भएको बताएका थिए। उन्नत प्रविधि र पूर्वाधारमा उद्योगलाई सहयोग गर्ने, दिगो विकास र आईसीटी प्रतिभा विकासलाई मुख्य जोड दिएको उनको भनाइ थियो। 

कम्पनीले अनुसन्धान र विकासमा धेरै लगानी गरेको छ। यसले उत्कृष्ट प्रविधि उपलब्ध गराई इकोसिस्टम साझेदारलाई मद्दत गर्छ। देशहरुले अहिले डिजिटल रणनीतिलाई अंगीकार गरेकाले यो सबै दक्ष युवामा भर पर्न थालेको उनको भनाइ छ। प्रतिभा विकासका लागि ह्वावे एउटा आईसीटी विकासको साझेदारको रुपमा ठोस योजना साथ आएको उनले बताएका थिए। 

उनका अनुसार कम्पनीले सन् २०२२ को अन्त्यसम्म विश्वभर २२ सय विश्वविद्यालयमा ह्वावे आईसीटी एकेडेमी स्थापना गरेको छ। र, यो कार्यक्रमबाट औसतमा हरेक वर्ष २ लाख विद्यार्थीलाई तालिम प्रदान गरिरहेको छ। 

सन् २०२२ मा कम्पनीले ९३.५ अर्ब डलर आम्दानी र ५.२ अर्ब डलर खुद नाफा गरेको छ। गत वर्ष कम्पनीले २३.५ अर्ब डलरको वार्षिक खर्चसँगै अनुसन्धान र विकासलाई थप बलियो बनाएको छ। कम्पनीले पछिल्लो १० वर्षमा १ खर्ब ४२ अर्ब ३० करोड डलर बढी खर्च गरेको बताएको छ।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .