कारोबार


लगानी बोर्डका सीईओ ज्ञवालीद्वारा नेपाल-ईयू टेक फोरमलाई सम्बोधन, डिजिटलमा लगानी गर्न आग्रह

लगानी बोर्डका सीईओ ज्ञवालीद्वारा नेपाल-ईयू टेक फोरमलाई सम्बोधन, डिजिटलमा लगानी गर्न आग्रह

नेपालखबर
बैशाख १५, २०८३ मंगलबार ९:४८, काठमाडौँ

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले नेपाललाई डिजिटल नवप्रवर्तन, कृत्रिम बौद्धिकता र हरित प्रविधिमा आधारित लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै यसमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। 

बेल्जियमस्थित नेपाली दूतावासले सोमबार ब्रसेल्समा आयोजना गरेको नेपाल-ईयू टेक फोरम २०२६ लाई भर्चुअल सम्बोधन गर्दै उनले नेपाल र युरोपेली संघबिचको सहकार्यलाई विकास साझेदारीबाट रणनीतिक डिजिटल सिर्जनातर्फ विस्तार गर्नु आवश्यक रहेको बताएका हुन्। 

विश्व अर्थतन्त्र तीव्र डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता प्रविधि र कम्प्युटिङ क्षमताको बढ्दो मागका कारण पुनः परिभाषित भइरहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अबको आर्थिक शक्ति मूलत: प्रविधि, ऊर्जा र मानव पुँजीको समन्वयमा निर्भर हुने धारणा राखे। 

सरकारले डिजिटल अर्थतन्त्रको नीतिलाई केन्द्रमा राखी लगानी वातावरण सुधार गर्ने महत्त्वपूर्ण सुधार अघि बढाइरहेको उल्लेख गर्दै उनले विदेशी लगानी सीमा हटाइएको, आईटी तथा डिजिटल सेवामा स्वामित्व तथा व्यवसाय सञ्चालन प्रक्रियाहरू सरल बनाइएको बताए।

कृत्रिम बौद्धिकता प्रविधिको तीव्र विकाससँगै ऊर्जा आवश्यकतामा आएको परिवर्तनलाई जोड दिँदै उनले नेपालसँग रहेको ऊर्जा प्रणालीले डेटा सेन्टर, क्लाउड कम्प्युटिङ र कृत्रिम बौद्धिकता पूर्वाधारका लागि अत्यन्त उपयुक्त वातावरण प्रदान गर्ने धारणा राखे। 

लगानी बोर्डले डिजिटल पूर्वाधार, नियामकीय सुधार र मानव संसाधन विकासलाई समानान्तर रूपमा अघि बढाइरहेको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले डेटा सेन्टर, आईटी पार्क र डिजिटल हबको विकासलाई प्राथमिकतामा राखेको बताए।

उनले हाइपरस्केल डेटा सेन्टर, एआई कम्प्युटर, क्लाउड पूर्वाधार र प्रविधि कम्पनीहरूलाई नेपाललाई रणनीतिक लगानी गन्तव्यका रूपमा हेर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad