कारोबार


एआईमा चिपको खपत अत्यधिक बढ्दा नेपालमा औसतमै ३० प्रतिशत महँगियो स्मार्टफोन

एआईमा चिपको खपत अत्यधिक बढ्दा नेपालमा औसतमै ३० प्रतिशत महँगियो स्मार्टफोन

उन्नत सापकोटा
जेठ ११, २०८३ सोमबार २०:३७, काठमाडौँ

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा सेमिकन्डक्टर चिपको खपत अत्यधिक बढ्दा त्यसको असर स्मार्टफोनको उत्पादन र मूल्यमा परेको छ।

नेपाली बजारमा स्मार्टफोनको मूल्य औसतमा ३० प्रतिशतसम्म महँगिएको छ। व्यवसायीहरुका अनुसार स्मार्टफोनको मूल्य न्यूनतम २० प्रतिशतदेखि अधिकतम ४० प्रतिशतसम्म वृद्धि भएको हो।

पछिल्लो समय स्मार्टफोनमा प्रयोग हुँदै आएको उच्च गुणस्तरको सेमिकन्डक्टर चिप आर्टिफिसियल इन्टेलिजेन्समा प्रयोग बढ्दा त्यसको सोझो असर स्मार्टफोन उत्पादनदेखि त्यसको मूल्यमा असर पारेको छ।

मोबाइल फोन इम्पोर्ट्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले चिपको माग अत्यधिक रुपमा एआई क्षेत्रमा बढ्दा त्यसको सोझो असर स्मार्टफोनमा परेको जानकारी दिए। जसका कारण नेपाली बजारमा स्मार्टफोनको मूल्य औसतमा ३० प्रतिशतसम्म महँगिएको उनको भनाइ छ। 

उनका अनुसार यसका साथै अमेरिकी डलरको दरमा भइरहेको वृद्धिले पनि स्मार्टफोन महँगो बनाइरहेको छ। चिपको आपूर्ति एआईमा ह्वात्तै बढेपछि उत्पादकहरुले पर्याप्त मात्रामा स्मार्टफोन आपूर्ति गर्न सकेका छैनन्। जसका कारण केही मोडलका स्मार्टफोनको स्टक नेपाली बजारबाट आउट भएको छ।

‘औसतमा ३० प्रतिशतसम्म मोबाइलको रेट बढेको छ। चिपका साथै डलर बढ्दा स्मार्टफोन महँगिन पुगेको छ। एआईमा चिपको प्रयोग बढेपछि फोनको उत्पादन नै घटेको छ। उत्पादकले पर्याप्त मात्रामा सामान आपूर्ति गर्न सकेको छैन। उत्पादन घटेको छ। त्यसको असर नेपाली बजारमा पनि परिरहेको छ। तर, मूल्य बढेपनि मोबाइल फोनको मागमा भने धेरै असर परेको छैन’, मल्होत्राले नेपालखबरसँग भने।

त्यसैगरी, नेपाल मोबाइल वितरक संघका निवर्तमान अध्यक्ष दिनेश चुल्याद्योले पनि बजारमा स्मार्टफोनको मूल्य २० देखि ४० प्रतिशतसम्म महँगिएको जानकारी दिए। 

उनका अनुसार फोन महँगिनुमा चिपको अभाव र डलरको दर बढ्नु मुख्य कारण हो।

‘सामसङको २० प्रतिशत र अरु ब्राण्डका स्मार्टफोनको मूल्य हेरेर ४० प्रतिशतसम्म भाउ बढेको छ। भाउ बढे पनि नेपाली बजारमा फोनको मागमा असर पुर्‍याएको भने छैन। पछिल्लो समय एआई त फ्यान, एसी, वासिङ मसिनदेखि अन्य धेरै उपकरणमा प्रयोग हुन्छ। ती उपकरणहरुमा स्मार्टफोनमा प्रयोग हुने चिप नै राखिन्छ। जसका कारण चिपको माग अत्यधिक बढ्दा त्यसको असर मूल्यमा परिरहेको छ। चिपको सहज आपूर्ति नहुँदा स्मार्टफोन उत्पादन घट्न गएको छ’, चुल्याद्योले भने।

मोबाइल फोन उत्पादकहरूले उत्पादन नै पर्याप्त गर्न नसक्दा त्यसको सोझो असर आयातमा परिरहेको व्यवसायी बताउँछन्।

भन्सार विभागको तथ्यांकअनुसार स्मार्टफोन आयातको मूल्य बढे पनि आयात संख्या भने घटेको देखिन्छ। चालू आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म ३९ अर्ब ३९ करोड रुपैयाँबराबरको १८ लाख ६३ हजार ८६९ थान स्मार्टफोन आयात भएको छ। सरकारले वैशाखसम्म स्मार्टफोन आयातबाट सात अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म २८ अर्ब ७६ करोड रुपैयाँ बराबरको १७ लाख ८५ हजार ६५४ थान स्मार्टफोन आयात भएको थियो। 

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी तथा विश्वकै ठूलो सेमिकन्डक्टर चिप निर्माता एनभिडियाले नाफा र आम्दानीमा रेकर्ड बनाएको छ। अत्याधुनिक एआई चिपको अत्यधिक मागकै कारण एनभिडियाले ऐतिहासिक नाफा र कारोबार गरेको छ। 

गएको बुधबार एनभिडियाले फेब्रुअरी-अप्रिलको तीन महिनामा ५८ अर्ब ३० करोड अमेरिकी डलर नाफा आर्जन गरेको सार्वजनिक गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतको वृद्धि हो। सन् २०२६ को फेब्रुअरी-अप्रिलमा कम्पनीले ८१ अर्ब ६० करोड डलर आम्दानी गरेको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले एआई क्षेत्रको युटिलिटी (चिपलगायत)को माग अत्यधिक बढेकाले नै कम्पनीको कारोबार असाधारण ढंगले बढेको प्रतिक्रिया दिए। 

‘एआई युटिलिटीको माग आकाशिएको छ। यसको कारण एकदम सरल छ। एजेन्टिक एआई आइपुगेको छ। एआईले उत्पादकत्व बढाउँदै महत्त्वपूर्ण काम फत्ते गरिरहेको छ ’, उनले लगानीकर्ता तथा विश्लेषकहरुसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad