ad ad

निर्वाचन विशेष


शीर्ष नेताहरुलाई गृहनगरमै आफ्ना उम्मेदवार जिताउन कठिन

शीर्ष नेताहरुलाई गृहनगरमै आफ्ना उम्मेदवार जिताउन कठिन

सीताराम बराल
बैशाख २०, २०७९ मंगलबार ८:१३, काठमाडौँ

हुन त ३० वैशाखमा हुने निर्वाचन स्थानीय तहको हो। तर, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्ता मझौला दलका अध्यक्षहरुका लागि मात्र होइन, नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता ठूला दलका अध्यक्षहरुका लागि समेत आफ्नै गृहनगरको निर्वाचन चुनौती र तनावको विषय बन्न थालेको छ।  

विपक्षी दलहरुको गठबन्धन, गठबन्धनका उम्मेदवारविरुद्ध गठबन्धनभित्रैबाट बागी उम्मेदवारी र असन्तुष्टि आदिका कारण कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्षद्वय उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराईको गृहनगरको निर्वाचन परिणाम अनिश्चित छ।

त्यसैले, देउवा, ओली, प्रचण्ड, लिङ्देन, यादव–डा.भट्टराईका गृहनगरमा यी नेतासम्बद्ध दलका मेयर (प्रमुख) का उम्मेदवार पराजित भए आश्चर्य नमाने हुन्छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका ७ मध्ये ६ वटा पालिकामा नेपाली कांग्रेसको विद्रोही समूहले प्रमुख प्रतिपक्षी एमालेसँग तालमेल गरेको छ।

२०७४ को आम निर्वाचनमा डडेलधुराबाट प्रदेश सभामा निर्वाचित कांग्रेसका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले एमालेसँग तालमेल गरी सदरमुकाम अमरगढी नगरपालिकामा नेपाली कांग्रेस (बीपी) का तर्फबाट हरिप्रसाद भट्टलाई मेयरको उम्मेदवार बनाएका छन्। जिल्लामा प्रभावशाली मल्लको विद्रोह र एमालेसँगको तालमेलका कारण सदरमुकाममै नेपाली कांग्रेसको विजय अनिश्चित छ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि अमरगढीमा एमालेका प्रमुख–उपप्रमुख पदका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए। 

जिल्ला सदरमुकाम अमरगढी नगरपालिकामा मात्र होइन, देउवा मतदाता रहेको गन्यापधुरा गाउँपालिकामा समेत मल्लसम्बद्ध नेपाली कांग्रेस (बीपी) र एमालेबीच तालमेल भएको छ। सो गाउँपालिकामा नेपाली कांग्रेस (बीपी) ले सुरेन्द्र मालीलाई अध्यक्षको प्रत्यासी बनाएको छ भने एमालेको तर्फबाट उपप्रमुखमा इन्द्र महरा उपाध्यक्षको प्रत्यासी बनेका छन्।   

प्रधानमन्त्री देउवाजस्तै अप्ठेरोमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि छन्। किनभने, उनको गृहनगर दमक नगरपालिका (झापा) मा एमाले विरुद्ध राप्रपा, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन निर्माण भएको छ। आफ्नो गृहनगरमा यी तीन दलबीचको गठबन्धनले अध्यक्ष ओलीलाई देउवालाई भन्दा बढी अप्ठेरोमा पारिदिएको छ। 

२०७४ को स्थानीय तह निर्वाचनमा राप्रपा, नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मदेवारले प्राप्त गरेको मत विजेता एमाले उम्मेदवारको भन्दा दोब्बर भएकाले अध्यक्ष ओली दबाबमा परेका हुन्।

२०४९ देखि नै एमालेले जित्दै आएको सो नगरपालिकामा एमाले उम्मेदवार रोमनाथ ओली २०७४ को निर्वाचनमा १० हजार ८ सय मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजार ६ सय ५५ मत प्राप्त गरेका थिए।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका रेवतराज पुरीले ६ हजार ८ सय ९८ र चौथो स्थानमा रहेका नेपाली कांग्रेसका ढुण्डीराज भण्डारीले ५ हजार ५ सय ३९ मत प्राप्त गरेका थिए।

पराजित यी तीन उम्मेदवारले प्राप्त गरेको कुल मत जोड्दा २० हजार ९८ पुग्छ, जुन विजेता एमाले उम्मेदवारले प्राप्त गरेको मत भन्दा झण्डै दोब्बर हो।

२०७४ मा दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका यी तीन दलबीचको गठबन्धनले २०७४ को निर्वाचनका निकटतम प्रतिद्वन्द्वी राम थापा (राप्रपा) लाई नै यसपटक पनि उम्मेदवारको रुपमा खडा गरेको छ। एमालेको विभाजन, विगत निर्वाचनमा एमालेभन्दा दोब्बर मत रहेका तीन दलबीचको यस्तो मोर्चाबन्दी र राप्रपा उम्मेदवारको लोकप्रियताका कारण गृहनगर दमकको निर्वाचन परिणाम एमालेका लागि प्रतिकूल हुन सक्छ।  

भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेणु दाहालविरुद्ध कांग्रेसबाटै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि अप्ठेरोमा छन्। तालमेलका बाबजुद २०७४ मा पनि कांग्रेसभित्रको असन्तुष्टिका कारण प्रचण्डपुत्री रेणुले निकै कठिनसाथ जित निकालेकी थिइन्।

असन्तुष्टिका बाबजुद २०७४ मा यो महानगरमा कांग्रेसबाट बागी उम्मेदवारी परेको थिएन। यसपटक २०४९ का निर्वाचित उपमेयर पौडेलको उम्मेदवारीका कारण दाहालको विजयमा चुनौती थपिएको छ। गठबन्धनको उम्मेदवार बने पनि रेणुमाथि थपिएको यो चुनौती प्रचण्डकै लागि पनि किन चुनौति हो भने भरतपुर महानगरपालिकाका केही वडा उनको निर्वाचन क्षेत्रभित्र समेत पर्दछन्।

झापामा गत स्थानीय तह निर्वाचनमा राप्रपाले कचनकबल, हल्दीबारी र गौरीगञ्ज गरी तीन पालिकामा विजय हासिल गरेको थियो। यसमध्ये अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा–३ मा पर्ने कचनकबल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राप्रपा उम्मेदवार विजयी भएका थिए। यो गाउँपालिकाका ७ मध्ये २–२ वडामा नेपाली कांग्रेस र एमालेका उम्मेदवारले विजय हासिल गर्दा तीन वटा वडामा राप्रपा विजयी भएको थियो।

अध्यक्ष लिङ्देनको प्रतिष्ठा जोडिएको यो गाउँपालिकामा यसपटक राप्रपाविरुद्ध नेपाली कांग्रेस र एमालेबीच गठबन्धन निर्माण भएको छ। २०७४ को स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने यसपटकको निर्वाचनमा यहाँ राप्रपाविरुद्ध कांग्रेस–एमालेको गठबन्धन प्रभावकारी हुने देखिन्छ।

त्यो निर्वाचनमा अध्यक्षमा विजयी राप्रपा उम्मेदवार अन्जारा आलमले ५ हजार ८ सय १६ मत प्राप्त गरी विजय हासिल गरेका थिए। आलमका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलेन्द्रप्रसाद सिंह राजवंशीले ५ हजार ३ सय ७२ मत प्राप्त गरे। एमाले उम्मेदवार शेरबहादुर खत्रीले ३ हजार ९ सय ७२ मत प्राप्त गरेका थिए भने चौथो स्थानमा रहेका माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार हंशनारायणसिंह राजवंशीको मत २ हजार २ सय ५० थियो।

यो गाउँपालिकामा नेपाली कांग्रेसले २०७४ मा पराजित कलेन्द्रप्रसाद सिंहलाई नै प्रतिस्पर्धामा उतारेको छ भने राप्रपाबाट पनि २०७४ कै विजेता आलम प्रतिस्पर्धामा छन्। तर, उतिबेला करिब ८ सयले मात्र पराजित कांग्रेसका राजवंशीलाई करिब ४ हजार मत रहेको एमालेको साथ रहेकाले राप्रपाको विजय अनिश्चित देखिन्छ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि आ–आफ्नै गृहनगरमा सत्ता गठबन्धनभित्रको असन्तुष्टिका कारण संकटमा छन्।

अध्यक्ष डा. भट्टराईको गृहनगर पालुङ्टार नगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन नयाँशक्ति पार्टीका मेयरका उम्मेदवार अशोक देवकोटा ३ हजार ९ सय ७६ मत प्राप्त गरी तेस्रो स्थानमा थिए। दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका विवश चिन्तनको मत ४ हजार ४ सय ९१ थियो भने विजेता नेपाली कांग्रेसका दीपकबाबु कँडेलले ४ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए।

चिन्तन यसपटक पनि माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेका छन्। डा. भट्टराई नेतृत्वको जसपाबाट मेयरमा प्रेम गुरुङको उम्मेदवारी परेको छ।

तर, आफ्नो दलका मेयरका उम्मेदवार गुरुङलाई कांग्रेसले समर्थन नगर्ने हो भने गण्डकी प्रदेश सरकारका लागि कांग्रेसलाई दिएको समर्थन फिर्ता लिने धम्की डा. भट्टराईले प्रधानमन्त्री देउवालाई दिएपछि २०७४ मा मेयरका विजेता कँडेल उम्मेदवारी फिर्ता लिएको घोषणा गर्न बाध्य भएका छन्।

कांग्रेस उम्मेदवार कँडेलले उम्मेदवारी फिर्ताको घोषणा प्रेस विज्ञप्तिमार्फत् गरे पनि कानुनी  हिसाबले उम्मेदवारी फिर्ता नलिएकाले उनको उम्मेदवारी कायमै छ।

यसअघि कांग्रेसले विजय हासिल गरेको नगरपालिकाको नेतृत्व यस निर्वाचनमा जबर्जस्ती जसपालाई जिम्मा लगाइएपछि कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ। असन्तुष्टिकै कारण यो नगरपालिकामा कांग्रेसबाट उम्मेदवारी दिएका सबैले पार्टीसमक्ष राजीनामा बुझाएका छन्।

यसरी नगरपालिकाको नेतृत्व जसपाले प्राप्त गरे पनि कांग्रेसमा चुलिएको असन्तुष्टि, दोस्रो स्थानमा रहेको माओवादी केन्द्रबाट पनि उम्मेदवार कायम रहेका कारण यहाँ डा. भट्टराईपक्षीय उम्मेदवारको विजय सुनिश्चत रहेको मान्न सकिने स्थिति छैन।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको गृहनगर विराटनगर उपमहानगरपालिकाका पनि यस्तै स्थिति छ। यो महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला उम्मेदवार बनेका छन् भने जसपाबाट अध्यक्ष यादवपुत्र अमरेन्द्र यादव उपमेयरको उम्मेदवार छन्।

तर, २०७४ को स्थानीय तह निर्वाचनमा यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरका उम्मेदवार उमेश यादवले मेयरमा कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएका छन्। त्यो निर्वाचनमा उपमेयरकी निकटतम प्रतिद्वन्द्वी नम्रता न्यौपाने (माओवादी केन्द्र) ले पनि उपमेयरमा बागी उम्मेदवारी दिएकी छन्।

कांग्रेसले मेयर र जसपाले उपमेयर लिँदा पनि कांग्रेसले कुनै पनि वडा माओवादी केन्द्रलाई दिन नमानेपछि न्यौपानेले उपमेयरमा बागी उम्मेदवारी दिएकी हुन्। अझ रोचक चाहिँ के भएको छ भने यादव र न्यौपाने दुवैले एउटै चुनाव चिन्ह लालटिन पाएका छन्।

जसपा छाडेका उमेश यादवको कांग्रेस उम्मेदवारविरुद्ध मेयरमा बागी उम्मेदवारीका कारण यादवपुत्र अमरेन्द्रलाई कांग्रेस समर्थक मतदातामाझ पुग्न नैतिक कठिनाइ छ, अर्कातिर माओवादी केन्द्रसम्बद्ध बागी उम्मेदवारका कारण गठबन्धनको पुरै मत यादवपुत्र अमरेन्द्रले प्राप्त गर्ने स्थिति देखिँदैन।

अर्को पक्षलाई हराउन निर्माण भएका गठबन्धन र गठबन्धनभित्रैको असन्तुष्टि– बागी उम्मेदवारीले शीर्ष नेतालाई निर्वाचनअगावै अप्ठेरोमा पारिसकेको छ, यदि यिनै कारणले शीर्ष नेताका जिल्ला–गृहनगरको निर्वाचन परिणाम प्रतिकूल आयो भने उनीहरु झन् अप्ठेरोमा पर्नेछन्। किनभने, त्यसको नकारात्मक असर ६ महिनापछि हुने आम निर्वाचनमा पर्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .