निर्वाचन विशेष


जनकपुर उम्मेदवारका एजेण्डा : फोहरबाट मोहर, आँगनमा नगरपालिका- मोबाइलबाट काम

जनकपुर उम्मेदवारका एजेण्डा : फोहरबाट मोहर, आँगनमा नगरपालिका- मोबाइलबाट काम

शैलेन्द्र महतो
बैशाख २०, २०७९ मंगलबार १६:१०, जनकपुरधाम

चुनावको दिन नजिकिँदै जाँदा दल र उम्मेदवारहरू मतदाता रिझाउन आकर्षक एजेन्डा, प्रतिबद्धतासहित मतदाताको घरदैलो गर्न थालेका छन्।

२०७४ को स्थानीय निर्वाचनमा पनि उम्मेदवारहरू आकर्षक एजेन्डासहित पुगेर मतदाता फकाएका थिए। भोट बटुले, चुनाव जिते पनि।

तर, अधिकांश जनप्रतिनिधिले आफ्नो कार्यकालमा प्रतिबद्धता अनुसार काम गर्न सकेनन्। बिलासी भए। नातावाद कृपावादमा अल्झे। ‘एनि हाउ पैसा कमाउ’ नीति अपनाए। अनियमिततामा उत्रे। जसको कारण जनता सन्तुष्ट देखिँदैनन्। 

फेरि पनि उम्मेदवारहरू त्यस्तै आश्वासन, प्रतिबद्धता र एजेन्डा बाँड्दै हिँडेका छन्। जसबाट जनकपुरधाम पनि अछुतो छैन। 

जनकपुरधाम धार्मिक तथा ऐतिहासिक नगरी हो। हाल जनकपुरधाम उपमहानगर मधेश प्रदेशको राजधानीसमेत रहेकाले यसको महत्व उकालो लागेको छ।  

जनकपुरधाममा २०७४ को निर्वाचनमा प्रमुखमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट लालकिशोर साह र उपप्रमुखमा रिताकुमारी मिश्र निर्वाचित भएका थिए।

लालकिशोरलाई मतदाताले निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले विजयी गराए। तर जनकपुरका मतदाताकाे गुनासाे छ- उनले जनभावना अनुसार काम गरेनन्। बिलासीतामा रुमल्लिए। राजसी ठाँटबाट देखाए। जनकपुरधामको मूल समस्याको रुपमा रहेको फोहर व्यवस्थपान, छाडाचौपाया नियन्त्रण गर्न सकेनन्।

प्रमुख साहले शौचालयमा एसी जडान र झण्डै डेढ करोडको पजेरो प्रयोग गरे। जसका कारण जनतामा व्यापक असन्तुष्टि छ।

उपप्रमुख रिताकुमारी मिश्रको भूमिकाबाट समेत जनता असन्तुष्ट छन्।  

जनकपुरधामको प्रमुखका लागि विभिन्न दल र स्वतन्त्रसहित ४१ जना उम्मेदवार यतिबेला चुनावी मैदानमा छन्।

दलहरूबाट गठबन्धन अन्तर्गत जसपाबाट लालकिशोर साह प्रमुखका उम्मेदवार छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मनोज साह, नेकपा एमालेका शिवशंकर साह हिरा, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) की विभा ठाकुर, जनमत पार्टीबाट अनिता साह छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार हरु कांग्रेसका बागी मनोजकुमार साह, निर्माण व्यवसायी बलराम महतो र जानकीराम साह पनि प्रतिस्पर्धाको अग्र पंक्तिमा छन्।    

यस्ता छन् जनकपुरमा चुनावी प्रतिष्पर्धामा रहेका दलका उम्मेदवारका एजेन्डा
२०७४ को निर्वाचनमा लालकिशोर साह उम्मेदवार हुँदा उनको पहिलो एजेण्डा र मतदातासँगको प्रतिवद्धता जनकपुरधामको फोहरमैला व्यवस्थापन नै थियो। तर, मूल जडको रुपमा रहेको फोहर व्यवस्थापनका लागि ल्याण्डफिल र डम्पिङ साइट नै निष्कर्ष लगाउन सकेनन्।

उनले पुनः प्रमुख पदको उम्मेदवार बन्दा पहिलो प्राथमिकतामा फोहर व्यवस्थापनको लागि सोलिड वेस्ट मेनेजमेन्टको व्यवस्थापन गर्ने उल्लेख गरेका छन्। जसको डीपीआर तयार भइसकेकाले अगामी कार्यकालको पहिलो प्राथमिकतामा रहने उनले बताए। 

जनकपुर जटही सिक्स लेनमा सीताले शिवधनुष हातमा लिई पूजा कोठा सफा गर्दै गरेको दृश्यसहितहको प्रवेशद्वार, जलेश्वर जनकपुर सडक खण्डमा लोकनायक सलहेस एवं दिनाभद्री लगायतको प्रतिमासहितको प्रवेशद्वार निर्माण गर्ने उनको एजेन्डामा छ। 

जनकपुरधाममा राजा जनकको दरबारको शैलीमा आकर्षक एवं आधुनिक सुविधायुक्त अन्तर्राष्ट्रिय स्तरको सभागृह निर्माण, मिथिला चित्रकलाको संरक्षण सम्वर्द्धनको लागि नारीविकास केन्द्रको पुनरुउत्थान, मठ मन्दिर, गुठी तथा सार्वजनिक सम्पदाहरूको संरक्षण र सम्बर्द्धन गर्ने एजेन्डा लिएर जनता माझ पुगिरहेका छन्।

उनको आकर्षक एजेण्डा जनकपुरका रिक्सा चालक (अटो रिक्सा, इरिक्सा) हरुलाई स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था छ। 

फोहर मैला व्यवस्थापन, मठ मन्दिर तथा गुठीको जग्गाको संरक्षण सम्बर्द्धन सबै दल तथा उम्मेदवारको पहिलो प्राथमिकताको साझा चुनावी एजेन्डा हो। सो एजेण्डासहित फोहोरलाई मोहर बनाउने एजेन्डा लोसपाबाट प्रमुख पदका उम्मेदवार मनोज चौधरीको छ। 

शिक्षा र स्वास्थ्यको स्तर उकास्ने, विभिन्न वडामा रहेका खाली जमिनमा पार्क निर्माण, गुठी तथा मठमन्दिरको जग्गाको संरक्षण पनि चुनावी एजेन्डा रहेको चौधरी बताउँछन्। 

जनकपुरधामकै एमालेबाट प्रमुख पदका उम्मेदवार शिवशंकर साह हिराको एजेन्डा भने अलि फरक छ। जनकपुरधामलाई अत्याधुनिक पर्यटकीय नगरी बनाउने उनी बताउँछन्।

पाँच वर्षमा नभएको डम्पिङ साइटको व्यवस्था गर्ने, जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पससहित शिक्षा क्षेत्रको सुदृढीकरण, छाडाचौपाया तथा ट्राफिक व्यवस्थापन, व्यापार व्यवसायलाई प्रवर्द्धन लगायत आफ्नो एजेन्डा रहेको उनले बताए। 

तमलोपाकी प्रमुख पदकी उम्मेदवार विभा ठाकुरको चुनावी प्रतिबद्धता फोहर व्यवस्थापनसँगै गुणस्तरीय नाला, ढल, सडकको निर्माण रहेको छ।

प्रत्येक वडामा पुस्तकालय निर्माण, शहीदका आमाबुबाको लागि पेन्सन, सामुदायिक विद्यालयका भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षामा विशेष जोड, प्रत्येक वडामा सार्वजनिक शौचालय निर्माण, प्रत्येक वडामा फ्री वाइफाइ जोन, ५२ कुट्टी ७२ तलाउको सौन्दर्यीकरण, कृषिजन्य जग्गाको परीक्षण, ट्राफिक व्यवस्थापन सहित उनका एजेन्डा छन्। 

जनमत पार्टीबाट प्रमुख पदकी उम्मेदवार अनिता साहको एजेण्डा पनि अन्य दलको उम्मेदवार जस्तै मिल्दो जुल्दो छ।  

जनकपुर भित्रको सार्वजनिक गुठी तथा मठमन्दिरको जग्गा, सम्पतिको संरक्षण, आन्तरिक राजस्व चुहावटको रोकथाम तथा आयको वृद्धि साहको एजेन्डामा छन्। 

फरक र पृथक एजेन्डा पनि उनको छ, ‘आँगनमा नगरपालिका मोबाइलबाट काम’।

जस अन्तर्गत जनताको काम फोन गरेपछि कार्यालयकै कर्मचारीले घरबाट कागजात लग्ने र फेरि काम गरेर पुर्याइदिने उनले एजेन्डामा राखेकी छन्। 

त्यस्तै, भ्रष्टाचार सफाइ, घुस लिनेलाई करबाही, तपाई्को स्वास्थ्य नगरको जिम्मेवारी, अभिभावकको साझेदारीमा शिक्षाको उन्नती लगायतका एजेन्डा उनको प्रतिवद्धता पत्रमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .